• ९ माघ २०८२, शुक्रबार

चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिता आजदेखि

blog

अर्जुन कार्की 
काठेखोला (बागलुङ), माघ ९ गते ।
चौथो संस्करणको चिल्ड्रेन लाइफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङको आयोजना र चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा माघ ९ देखि १२ गतेसम्म प्रतियोगिता हुन लागेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुरुवाती उद्गमस्थल विद्यालय भएकाले विद्यालय केन्द्रित प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो । चिल्ड्रेन लाइफले २०७५ सालमा प्रथम, २०७६ सालमा दोस्रो र २०८० सालमा तेस्रो चिल्ड्रेन लाइफ कप प्रतियोगिता सम्पन्न गरेको थियो ।

अध्यक्ष श्रेष्ठले जिल्लाको खेलकुदको विकास गर्दै आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउनु प्रतियोगिताको उद्देश्य रहेको बताउँदै बताउनुभयो । प्रतियोगिताले नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तर्निहित खेल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँले विद्यालयहरु विचको सम्बन्ध, सहकार्य र भाइचारालाई विकास र विस्तार गर्नको लागि विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ५५ हजार पाँच सय ५५ रुपियाँ र ३३ हजार तीन सय ३३ रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सेमिफाइनल पुग्ने टिमले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने बताउनुभयो । प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डसहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ । यस्तै फ्यान अफदि म्याचको पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता सञ्चालनका लागि पाँच लाख बढी खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रतियोगिता सञ्चालनका लागि क्लबका शुभचिन्तकहरुले सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रतियोगितामा १२ टिमको सहभागिता रहने बताउँदै कक्षा १२ सम्म नियमित अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने जानकारी दिनुभयो । नकआउट चरणमा खेलाइने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुने आयोजकले जनाएको छ ।