• १६ भदौ २०८१, आइतबार

कलाकारका गुरुप्रति सम्मान

blog

काठमाडौँ, असार ३० गते । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । सम्पूर्ण शिष्य तथा कलाकारहरूले मङ्गलबार शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गरी मनाएका छन् । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । पढाइ, काम र व्यावहारिक जीवनमा मार्गनिर्देश गर्नेहरूलाई सम्झने गरिन्छ । कलाकारहरूले आफ्नो गुरुको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा साझा गर्दै आदरयुक्त शब्द प्रयोग गरिरहेका छन् ।

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा निर्माता भुवन केसीले फेसबुकमा आफ्नो गुरु भनेर माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई नमन गर्नुभएको छ । केसीले आफूलाई सिकाउने धेरै गुरु भए पनि मेरो पहिलो गुरुका रूपमा कोइरालालाई लिने जानकारी दिनुभयो । मलाई पहिलो अक्षर सिकाउने उहाँ नै हुनुहुन्छ । 

यस्तै कलाकार नृत्यकार मिथिला शर्माले पनि आफ्नो गुरुहरूको फोटोहरू राखेर नमन गर्नुभएको छ । उहाँले आफ्नो गुरुका रूपमा स्वर्गीय चेतन कार्कीलाई मान्ने बताउनुभयो । “गुरुको पनि गुरु कार्की यो संसारमा नभए पनि उहाँको सृजना नै गुरुका रूपमा पूजा गर्नेछु,” शर्माले भन्नुभयो, “पहिले म घरमा गएर नमन गर्थें । तर अहिले सम्झनामात्र बाँकी छ । गुरु भनेको अँध्यारोबाट उज्यालोतर्फ लग्ने व्यक्ति हो । त्यसैले गुरुलाई एक दिनमात्र सम्झेर पुग्दैन ।” सदैव नमन गर्नुपर्ने उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो । 

नाट्य क्षेत्रका गुरु सुनील पोखरेललाई पनि धेरै रङ्गकर्मीले आफ्ना गुरुका रूपमा लिने गर्नुभएको छ । सौगात मल्ल, राजन खतिवडा, राज न्यौपाने, कमलमणि नेपाललगायतका रङ्गकर्मीले कुञ्ज थिएटरमा गएर रङ्गकर्मी पोखरेलसँग टीका लगाएर गुरुपूर्णिमा मनाउनुभएको छ । गायक तथा सङ्गीतकार अलमोडाले आफ्नो गुरुका रूपमा वरिष्ठ हास्यकलाकार बसुन्धरा भुसाल रहेको बताउनुभयो । नेपाली कला मनोरञ्जन विधाका पहिलेदेखिका घटना, इतिहास साक्षात बसुन्धरा भुसालबाट प्राप्त भएको जानकारी दिँदै मेरो गुरु उहाँ नै भएको बताउनुभयो ।

अलमोडाले गायन क्षेत्रमा अगाडि बढ्न भुसालबाट प्रेरणा पाएको हो । त्यसैले उहाँलाई म सानैदेखि गुरुका रूपमा पुज्ने जानकारी दिनुभयो । यसैगरी निर्देशक प्रदीप भट्टराईले आफ्नो गुरुका रूपमा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ भएको जनाउनुभएको छ । मह जोडीसँग खिचिएको तस्बिर साझा गर्दै उहाँले सामाजिक सञ्जालमा ‘आदरणीय गुरुहरूमा धेरै–धेरै माया अनि सम्मान’ लेख्नुभएको छ । 

हास्यकलाकार दीपकराज गिरीले गुरुलाई ढोगेको साङ्केतिक तस्बिर साझा गर्दै लेख्नुभएको छ, “बुवाले क, ख, ग सिकाउनुभो । स्कुलमा ए, बी, सी, डी, कलेजमा गुरुहरूबाट साहित्य र राजनीति पढेँ । स्टेजमा नाटक सिकाउने गुरुहरू अलग्गै थिए ।” आफ्नो करिअर अगाडि बढेसँगै विभिन्न क्षेत्रमा विभिन्न किसिमले गुरु भेटिनुभएको छ । रेडियो नाटक, टेलिभिजन अनि चलचित्र निर्माणमा आफूलाई सोचेभन्दा धेरै सफलता मिलेको बताउँदै सबै ज्ञात अज्ञात गुरुलाई नमन टक्र्याउनुभयो ।