• २१ कात्तिक २०८२, शुक्रबार

गुल्मीमा १८ सयभन्दा बढी नयाँ मतदाता

blog

जिल्ला निर्वाचन कार्यालय गुल्मी । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, कात्तिक २१ गते ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मीमा पनि नयाँ मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य तीव्र रुपमा अघि बढिरहेको छ । यस जिल्लामा निकै उत्साहका साथ मतदाता नामावलीमा नाम दर्ता गराउन आएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी हर्क श्रीसका अनुसार हालसम्म यहाँ नयाँ मतदाता एक हजार ८७९ जना मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराउनुभएको छ । जसमा महिला ७७५ र पुरुष एक हजार १०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनुभएको हो । निर्वाचन आयोगको गत असोज ९ गतको निर्णयअनुसार असोज १० गतेबाट जिल्लामा मतदाता नामावली दर्ता कार्य सुरु भएको उहाँले बताउनुभयो ।

नाम दर्ता गराउनुभएकामध्ये एक हजार ८४२ जनाले जिल्लामै र ३७ जनाले जिल्लाबाहिर भोट हाल्नु हुनेभएको छ । यस जिल्लामा मतदान स्थल परिवर्तन (ठाउँ सारी) २३५ जना र ८६ जना मतदाताको त्रुटि सच्याइएको छ । अहिलेसम्म यस जिल्लामा तीव्र रुपमा फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्य भइरहेको छ । सो कार्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको स्टेशनबाट भइरहेको हुँदा धेरै नागरिक लाभाम्बित हुनुभएको निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले बताउनभयो । उहाँका अनुसार थपिनुभएका नयाँ मतदाताहरु अधिकांश युवा पुस्ताका रहनुभएको छ ।

अधिकांश मतदाताले आफैँ मोबाइल वा कम्युटरबाट फारम भरेर कार्यालयमा बायोमेट्रिक गर्ने हुँदा एकैदिनमा धेरै जनाको नाम दर्ता हुने गरेको पाइएको उहाँले बताउनुभयो । एक जिल्लाको मतदाताले जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमार्फत पनि मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था रहेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २०७९ को निर्वाचनमा कुल दुई लाख २४ हजार २७६ मतदाता रहनुभएको थियो । जसमा महिला एक लाख १४ हजार २१५, पुरुष एक लाख १० हजार ५९ र २ जना अन्य मतदाता रहनुभएको थियो । निर्वाचन कार्यालयले मतदान स्थल पुनरवलोकनका लागि सर्वपक्षीय छलफलसमेत गरेको छ । यहाँ १४२ मतदान स्थल र २७८ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।