• १७ वैशाख २०८३, बिहिबार

वन अतिक्रमण बढ्दै

blog

फाइल तस्बिर

पञ्चकोशी समाचारदाता

पञ्चकोशी (दैलेख), वैशाख १७ गते । दैलेखमा वनक्षेत्रमा अतिक्रमण बढ्दै गएको छ । अतिक्रमित क्षेत्रमा धार्मिक, सामाजिक र निजी संरचना बनेका कारण जिल्लामा वनक्षेत्र अतिक्रमणमा परेको हो ।

डिभिजन वन कार्यालय दैलेखले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म जिल्लाभर करिब ४२०.२९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । यसमध्ये ८१ हेक्टर क्षेत्र नयाँ अतिक्रमणमा परेको हो भने ३३८.८९ हेक्टर क्षेत्र पहिलेदेखि नै अतिक्रमित रहेको थियो ।

डिभिजन वन कार्यालयका अनुसार अतिक्रमणको समस्या जिल्लाका विभिन्न स्थानीय तहमा फैलिएको छ । सबैभन्दा बढी चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिकामा २४०.१० हेक्टर वन अतिक्रमण भएको छ । यस्तै नारायण नगरपालिका र भगवतीमाई गाउँपालिकामा १३.८९ हेक्टर अतिक्रमणमा परेको छ । यस स्थानमा वनक्षेत्र मासिँदै बसोबास, खेतीपाती तथा अन्य प्रयोगमा ल्याइएका छन् ।

यस्तै डुङ्गेश्वर र गुराँस गाउँपालिकामा नयाँ तथा पुराना दुवै प्रकार गरी १८.९२ हेक्टर अतिक्रमण भएको छ । दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा ५९.५४ हेक्टर वनक्षेत्र अतिक्रमणको समस्या भएको कार्यालयले जनाएको छ । महाबु गाउँपालिकामा ६२.१२ हेक्टर क्षेत्र अतिक्रमणमा परेको विवरण सार्वजनिक गरिएको छ ।

जिल्लामा अतिक्रमण हटाउन तथा वनक्षेत्र खाली गराउन पहल सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद साहले बताउनुभयो । उहाँले कार्यालयले अतिक्रमित क्षेत्र खाली गर्न सातदिने सूचना जारी गर्दै सम्बन्धित व्यक्तिलाई स्वैच्छिक रूपमा हट्न आग्रह गरेको बताउनुभयो । जिल्लाका नारायण, आठबिस, दुल्लु नगरपालिकालगायतका स्थानीय तहलाई आवश्यक समन्वय र सहकार्यका लागि पत्राचार गरिएको छ । 

वनक्षेत्रको संरक्षण र व्यवस्थापनमा स्थानीय तहको भूमिका महìवपूर्ण हुने भन्दै कार्यालयले सामूहिक पहल आवश्यक रहेको औँल्याएको छ ।