गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १५ गते । वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाको स्वर तथा लय र वरिष्ठ संगीत सर्जक रामहरि गुरुङको शब्द रहेको चरी बनि उडुँला बोलको गीतको अडियो तथा म्युजिक भिडियो हालै युटुबमा सार्वजनिक भएको छ।
आज भन्दा करीब पचास वर्ष अघि नै गायिका तीर्थ कुमारी थापाको स्वरमा रेडियो नेपालमा रेकर्ड भएर प्रसारित तथा लोकप्रिय भैसकेको यस चर्चित अनि सदाबहार गीतलाई गायिका थापाले करीब पचास वर्षपछि युवा संगीतकर्मी सुरज कुमार थापाको नयाँ संगीत संयोजनमा पुन रेकर्डिङ गरेर नयाँ म्युजिक भिडियोका साथ दर्शक तथा श्रोता सामु प्रस्तुत गरेका छन्।
शम्भु कुमार तण्डुकारको रेकर्डिङ तथा मिक्सिङमा प्रज्ञा साउण्ड स्टुडियोमा तयार भएको यस गीतको अडियोलाई म्युजिक भिडयो तर्फ, कलाकार अमृत शाही ठकुरी र मनिषा महत तथा साथीहरुको अभिनय तथा नृत्य, निरु बस्नेतको श्रृंगार, खेम थापाको छायांकन, राज कुमारको सम्पादन तथा सुरज कुमार थापाको प्रस्तुति र निर्देशन रहेको छ।
सुरज कुमार थापाको नाम रहेको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा सुन्दर नृत्य, अभिनय तथा दृश्यहरु तथा सदाबहार र मिठो स्वर अनि गीतले श्रोता तथा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न यस गीत तथा भिडियोका सम्पुर्ण निर्माण टीमले सक्दो प्रयास गरेको देखिन्छ।