गुणबहादुर रोका
सुलीकोट, कात्तिक २१ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाअन्तर्गत पर्ने लापु – गुम्दा – लप्सीबोट सडक खण्ड मर्मत कार्य सम्पन्न भएको छ । धार्चे गाउँपालिका – ७ लापु, वडा नम्बर ५ गुम्दा र ४ को लप्सीबोटको लाप्राकसम्मको सडकमा गाउँपालिकाको जेसिबी प्रयोग गरी सडक मर्मत कार्य सम्पन्न भएको हो ।
‘‘लामो समयदेखि वर्षायामका कारण सडकको अवस्था अत्यन्त जीर्ण बनेको थियो ।,’’ धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, ‘‘सडकका विभिन्न भागमा पहिरो, हिलो र खाल्डाखुल्डीका कारण बिरामी बोक्ने एम्बुलेन्सलाई समेत आबतजाबतमा समस्या भएपछि पालिकाको आफ्नै स्रोत र साधन प्रयोग गरी सडक मर्मत कार्य समपन्न गरिएको उहाँले बताउनुभयो ।’’
उक्त सडक मार्गमा पालिकाको जेसिबीमार्फत सडकमा जम्मा भएका ढुङ्गा, माटो र पहिरो पन्छाई सडक सम्याउने, खाल्डाखुल्डी पुर्ने र पानी बग्ने निकास बनाउने काम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।
सडक मर्मत सम्पन्न भएपछि शुक्रबारबाट स्थानीयवासीले सहज रुपमा गाउँ बजार र माछी खोलासम्म सवारीसाधनमा आवतजावत गर्नुका साथै कृषि उपज, निर्माण सामग्री र दैनिक उपभोगका सामान ढुवानीमा पनि सहजता भएको स्थानीय युवा सुनबहादुर गुरुङको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष गुरुङले उत्तरी गोरखामा सडक मर्मत कार्यलाई निरन्तरता दिइने बताउनुभयो । ‘‘हाम्रो प्राथामिकता पालिकाको बासिन्दाको सहज आवतजावत हो । हरेक वडामा मर्मत आवश्यक सडकको विवरण सङ्कलन भइरहेको छ ।’’
पालिकाले हिउँद सुरु हुने अघि नै प्रमुख ग्रामीण सडकहरुको मर्मत सक्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताउनुभयो । स्थानीयवासीहरुले पालिकाको यो पहल कदमीले स्थानीय सरकार भएको अनुभूत गरेको धार्चे – ७ का स्थानीय युवा राज गुरुङले बताउनुभयो ।
उक्त सडक मर्मत कार्यले बजारसम्म पुग्न र समयको बचत भएको र बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउन राहत मिलेको छ । लापु–गुम्दा–लप्सीबोट सडक मर्मत कार्यले धार्चे गाउँपालिकाको उत्तरी क्षेत्रका बासिन्दाको दैनिकीमा ठुलो सहजता ल्याएको छ ।
धार्चे गाउँपालिकाको एक वडाबाट अर्को वडामा पुग्न पैदल ५ देखि ६ घण्टा लाग्ने भएकाले पनि धार्चेबासीहरु गाउँपालिकाले पहलले ग्रामीण पूर्वाधार सुधारको दिशामा थप आशा जगाएको स्थानीयहरुले विश्वास गरेका छन् ।