कोकिला ढकाल
इलाम, कार्तिक २० गते । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका इलामका तीन व्यक्ति सम्पर्कमा आएका छैनन् ।
इलाम ठेगाना भएकी २४ वर्षीया पुनम लिम्बू, इलाम फिक्कलका २१ वर्षीय जीवन मगर र इलामका १८ वर्षीय आमोस राई सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
‘यी व्यक्तिहरु अहिले कहाँ हुुनुुहुन्छ ? कस्तो अवस्था के छ ? हामीलाई केही जानकारी आएको छैन’ इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले भन्नुुभयो ‘प्रशासनमा जेनजी आन्दोलनका घाइतेहरुको परिचयपत्र र उपचार खर्च आएको छ । यी तीन जनालाई हामीले पत्ता लगाउन सकेका छैनौं । यदि अन्यत्र जिल्लामा हुुनुुहुुन्छ भने सम्पर्क गर्न आग्रह गरेका छौं ।’
जेनजी आन्दोलनका क्रममा इलाममा एक प्रहरी मात्र घाइते भएका थिए । तर अन्दोलनका क्रममा इलाम नगरपालिका, माइनगरपालिका, करदाता सेवा कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला स्थित राजनीतिक दलका कार्यालयमा आगजनी र क्षति पुुगेको थियो ।