तिलाचन पाण्डे
तम्घास(गुल्मी), कात्तिक २१ गते । कालीगण्डकी नदीबाट चल्ने जलयातायात (स्टिमर) मा अहिले यात्रु पाउँनै सकस हुन थालेको छ । पहिले खाद्यान्न र खचाखच यात्रु बोक्ने स्टिमर यात्रु नपाएर यसै थलिएर बस्न बाध्य भएको छ ।
स्याङ्जाको आँधीमुहान मिर्मीदेखि सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा जलयातायातबाट पहिले खाद्यान्न र यात्रुहरु खचाखच बोक्ने स्टिमर अहिले मेला पर्व र कति बेला आन्तरिक पर्यटक आउँछन् भनेर मात्रै कुरेर बस्नुपरेको व्यवसायीहरुले गुनासो गर्न थालेका छन् ।
शिला शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका अध्यक्ष डोलप्रसाद भट्टराईले यात्रु अभावका कारण जल यातायात थप सङ्कटमा परेको बताउनुभयो । कहिलेकाहीँ भ्रमण आउनेहरुले स्टिमर रिजर्व गरेर सेतिबेनी शिला शालिग्रामको दर्शन गर्न आउने जाने गरे तापनि नियमित रुपमा यात्रुहरुको अभावका कारण चल्न नसकेको भट्टराईले बताउनुभयो ।
गुल्मी खण्ड, स्याङ्जा र पर्वत खण्डमा जताततै मोटरबाटोको पहुँच भएका कारणले पनि स्टिमर सञ्चालनमा प्रभाव परेको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६२ सालमा स्वीकृत लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्टारमा दर्ता भई सञ्चालनमा आएको छ ।
पहिले १२ वटा साना ठुला गरी स्टिमरहरु रहे पनि हाल भने तीन वटा मात्रै सञ्चालनमा रहेको भट्टराईले जानकारी दिनुभयो ।प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दुई सय रुपियाँ निर्धारण गरिएको छ भने रिजर्वका लागि दुई हजारदेखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेको उहाँको भनाइ छ ।
कालीगण्डकी नदीमा मिर्मीदेखि सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेटसम्मको रहने भट्टराईले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि गत जेठको पहिलो साताबाट बन्द भएको जल यातायात अघिल्लो हप्तादेखि सञ्चालनमा आएको छ ।