शेरबहादुर सार्की
बाजुरा, कात्तिक २१ गते । बाजुराको डाब खप्तड पर्यटकीय सडक यति बेला अलपत्र अवस्थामा छ । २०६६ सालदेखि कच्ची रुपमा निर्माण कार्य सुरु भएको यो सडक अहिलेसम्म पनि कालोपत्र हुन सकेको छैन ।
योभन्दा धेरैपछि सुरु गरेका जिल्लाका अन्य सडक कालोपत्रेको काम सुरु भएको भए पनि यो सडक भने अहिलेसम्म अलपत्र अवस्थामा छ ।
कच्ची रुपमा निर्माण भएको यो सडकले यहाँका बुढीगङ्गा नगरपालिकाको वडा नंं –१० को डाब बजार हुँदै बदेडा, सेलापाखा , पीपलगाउँ , जुवापानी हुँदै खप्तड छेडेदह गाउँपालिकाको वडा नं २ गाँज्रा हुँदै १ को काँडाका स्थानीयलाई यातायातको सहज गरेको छ ।
यो सडक समयमै कालोपत्रे हुने हो भने यसै सडकले यहाँका स्थानीयको आयआर्जनमा निकै टेवा पुग्ने अवस्था देखिन्छ ।
डाब खप्तड पर्यटकीय सडकले पर्यटकलाई मात्र सहज नभई बुढीगङ्गा र खप्तड छेडेदह लगायतका स्थानीयलाई यसले निकै सहज बनाएको खप्तड छेडेदह गाउँपालिका –१ सिग्राका पुरनबहादुर रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा स्याउ, सुन्तला, मार्सो, कोदो, फापर, आलु ओखरलगायतका विभिन्न तरकारी तथा फलफूल उत्पादन हुन्छ ।”
यो सडक कालोपत्रे भएर हिउँद बर्खामै सवारी साधन सुचारु हुने हाे भने उत्पादन गरेको वस्तुलाई बजारमा लगेर बिक्री गर्दा यहाँका स्थानीयले रोजगारी गर्न कतै जानुनपर्ने रावलले बताउनुभयो ।
यतिबेला यहाँका अधिकांश महिलाहरुले पिट्युँमा बोकेर पनि डाब बजार, मालिका रिठा, बेतालमाडौँ, बाम्कालगायतका बजारमा बिक्री गर्ने गरेका छन् ।
२०६६ साल वैशाखदेखि यो सडक निर्माणको काम सुरु गरेको थियो । यो सडक झण्डै पाँच वर्षपछि काँडासम्म मात्र पुगेको हो । त्यसपछि खप्तडमा सडक लान कुनै पहलकदमी छैन । यसका लागि हामीले धेरै निकायसँग कुरा राखेका हौँ । तर पनि कहीं कतै यसको कुनै सुनुवाइ नभएपछि अहिले यो सडक विहालमा रहेको खप्तड छेडेदह गाउँपालिका वडा नं १ वडा अध्यक्ष वीरबहादुर रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लाका बडिमालिका कालाजाग्रा बुढीनन्दा जस्तै यो खप्तड पनि पर्यटकीय स्थलको रुपमा छ । तर पनि यसको संरक्षण तथा प्रवर्द्धन भने अझै हुन सकेको छैन । झण्डै २६ किलोमिर रहेको यो सडकको निर्माण कार्यमा २० करोड रुपियाँ खर्च भइसक्यो । लामो समयदेखि सडक कालोपत्रे नहुँदा अहिले यो अलपत्र अवस्थामा छ ।”
सडक कालोपत्रे हुने भने यहाँका स्थानीयले रोजगारीका लागि भारतका विभिन्न ठाउँमा भौंतारिनु नपर्ने थियो । यहाँ अर्गानिक फलफूल तथा खाद्यान्न राम्रो उत्पादन हुन्छ । बर्खाको समय बाटो नभएकाले त्यो बजारसम्म लान सकिँदैन । त्यसैले यो सडक कालोपत्र हुने हो भने यहाँका स्थानीयले आफूले उत्पादन गरेको तरकारी तथा फलफूलबाट नै जीविकोपार्जन गर्न सक्ने रावलले बताउनुभयो ।