• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनमा सरकार सकारात्मक : प्रधानमन्त्री देउवा

blog

२०९औँ भानु जयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र समाचारदाता

काठमाडौं, असार २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । २०९औँ भानु जयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक राहेको बताउनुभएको हो ।

उहाँले राष्ट्रिय विभूति भानुभक्तको योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्त आचार्यलाई श्रद्धापूर्वक सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले आदिकवि भानुभक्तले नेपालमा आफ्ना साहत्यिक कृतिहरुका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न प्रेरित गरेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘भाषिक एकीकरणका नायक आदिकवि भानुभक्तबाट सिर्जित साहित्यिक रचनाले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिक रुपमा आबद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुत बनाउन ठूलो योगदान पुर्‍याउनुभएको छ ।

विभिन्न राज्यहरुको विभाजित भुगोललाई एकीकरण गर्दै अघि बढेको तत्कालीन संघर्षपूर्ण नेपालमा आदिकवि भानुभक्त आचार्यले रामायणलगायतका रसिला साहित्यिक रचनाको माध्यमबाट आधुनिक चेतना र जागरण फैलाइ समाजमा शान्ति, सद्भाव र सहिष्णुुता कायम गरी राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन अतुलनीय योगदान पुर्‍याउनुभएको हो । 

आफ्ना साहत्यिक कृतिहरुका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न, आदर्श चरित्रमा परिणत गरी भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहर  हुनुहुन्छ । 

यस्ता राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्ती मनाउनु, उहाँको जीवनी र योगदानको चर्चा गर्नु, नयाँ पुस्तालाई उहाँको योगदानका बारेमा जानकारी दिनु र उहाँलाई श्रद्धापूर्वक सम्मान गर्नु हामी सबैको साझा दायित्व हो । राष्ट्रिय विभूतिहरुको विषयमा गरिने अध्ययन, अनुसन्धान, गोष्ठी, कार्यशाला प्रकाशन आदिका लागि सरकार आवश्यक सहयोग गर्न सकारात्मक छ ।’

प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तले आफ्ना साहित्यिक रचनाले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिकरुपमा आबद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुत बनाउन योगदान पुर्‍याएको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्नुभएको थियो । भानुभक्तको जन्म जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रभतफेरी कार्यक्रम गरेको थियो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सहभागी हुनुहुन्थ्यो