चौतारा समाचारदाता
चौतारा, कात्तिक २१ गते । सङ्घीयता कार्यान्वयनको एक दशकमा पनि सिन्धुपाल्चोकका सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुग्न सकेको छैन । सङ्घ र प्रदेश सरकारले अघिल्लो कार्यकालमै प्रदेश राजधानीदेखि प्रत्येक स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल विस्तार गर्ने योजना बनाएको भए पनि जिल्लामा उक्त योजना अझै महìवाकाङ्क्षी बनेर सीमित भएको छ ।
जिल्लाका १२ स्थानीय तहमध्ये हालसम्म आधा स्थानीय तह मात्र पक्की सडक सञ्जालमा जोडिएका छन् । बाँकी स्थानीय तहका केन्द्रसम्म पुग्ने सडक निर्माणका काम सुरु भए पनि समयमै सम्पन्न हुन सकेको छैन । कतिपय सडकको काम पाँच वर्षअघिदेखि जारी रहे पनि अझै अधुरै छन् ।
भोटेकोशी र बाह्रबिसे नगरपालिका पक्की सडक सञ्जालमा जोडिएका छन् भने बलेफी गाउँपालिकाले आफ्नै भवन निर्माणपछि अस्थायी रूपमा सडक पहुँच गुमाएको छ । बलेफीसँग सिमाना जोडिएको सुनकोशी गाउँपालिकाको अस्थायी केन्द्र लामोसाँघु–जिरी सडकसँग जोडिए पनि स्थायी केन्द्र अझै तोकिएको छैन ।
सहिद भूमिका रूपमा चिनिने त्रिपुरासुन्दरी गाउँपालिकाको केन्द्र पिस्करसम्म पुग्ने सडकको स्तरोन्नति कार्य लामो समयदेखि अलपत्र छ । बाह्रबिसे–सुनकोशी–धुस्कुन–पिस्कर सडकको १५.५ किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा कालोपत्रे गर्ने योजना थियो । दुई वर्षमा ३९ करोड ४० लाख रुपियाँको लागतमा पूरा गर्ने लक्ष्य थियो तर समय थपिँदा पनि काम अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रकाश पौडेलका अनुसार सडक निर्माणका सबै काम समान मापदण्डमा भए पनि प्रगति सुस्त छ । गुणस्तर परीक्षण र गुनासो सुन्ने व्यवस्थासहित काम निरन्तर जारी छ ।
लिसङ्खुपाखर गाउँपालिकाले भने केन्द्रसम्मको पक्की सडक निर्माण पूरा गरिसकेको छ । नौ करोड रुपियाँको लागतमा बनेको ४.४ किलोमिटर लामो सो सडक लामोसाँघु–जिरी सडकसँग जोडिएको छ । यस्तै जलवीरे हुँदै जुगल गाउँपालिकाको केन्द्र चनौटेसम्म पुग्ने सडकको स्तरोन्नति कार्य दुई वर्षअघि सुरु भए पनि अपेक्षित प्रगति हुन सकेको छैन । गाउँपालिका अध्यक्ष रेस स्याङ्वोले भन्नुभयो, “जुगल पर्यटकीय सम्भावना बोकेको गाउँपालिका हो तर सडक निर्माणको गति सुस्त भएकाले विकास प्रभावित भएको छ ।”
सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका भने पक्की सडक सञ्जालमा जोडिएको छ । तर इन्द्रावती गाउँपालिका अझै पक्की सडकको पहुँचमा छैन । एक दशकअघि पुनर्निर्माण कार्यव्रmम अन्तर्गत बनेको नौबिसे–चौतारा–नवलपुर–मेलम्ची सडक स्तरोन्नति हुँदै छ । मेलम्ची क्षेत्रमा साँखु–फड्केश्वर र पाँचखाल–मेलम्ची दुई पक्की सडक निर्माणाधीनकै चरणमा छन् ।
मेलम्चीबाट हेलम्बु जोड्ने सडक मेलम्ची खानेपानी आयोजनाले सुरु गरेको थियो । पूर्वसांसद शेरबहादुर तामाङले भन्नुभयो, “मेलम्ची–पाँचपोखरी सडक चरणबद्ध रूपमा निर्माण हुँदै छ, जसले पाँचपोखरी थाङ्पाल गाउँपालिकाको केन्द्रसम्म पहुँच सहज बनाउने छ ।” हेलम्बु र पाँचपोखरी गाउँपालिकाका केन्द्रसम्मका सडक अझै दुरवस्थामै छन् । पाँचपोखरी थाङपाल गाउँपालिकासम्म जोड्ने पक्की सडक आफ्नो दुई कार्यकालको प्रमुख लक्ष्य भए पनि अझै पूरा हुन नसकेको पालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
बारम्बारको प्राकृतिक विपत्तिले सडक निर्माणमा थप चुनौती सिर्जना गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहको साझा प्रयासमा सडक सञ्जाल विस्तारका काम भइरहे पनि समयसीमा र गुणस्तरको चुनौतीले स्थानीय केन्द्रसम्म पक्की सडक योजना अझै अधुरै बनेको देखिन्छ ।