सर्लाही समाचारदाता
सर्लाही, कात्तिक २१ गते । सर्लाहीको बरहथवामा सभा हललाई बारेर नगरपालिकाको कामकारबाही सुरु गरिएको छ । तत्कालका लागि पुरानो कार्यालयबाट करिब तीन सय मिटर उत्तरमा रहेको सभा हललाई बारेर कार्यालय सञ्चालन गरिएको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका व्रmममा बरहथवा नगरपालिका–५ स्थित बजारमा रहेको नगरपालिका कार्यालय भवन आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको थियो । यसअघि नगर सभा गर्दा तथा अन्य कार्यव्रmम गर्दा प्रयोग हुने सभा हललाई बारेर नगरपालिका कार्यालय सञ्चालन गरिएको नगरप्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिनुभयो । नगरप्रमुख कटुवालले भन्नुभयो, “जसरी पनि नागरिकलाई सेवा दिर्नै पर्ने भएकाले तत्कालका लागि यस्तो गरेका हौँ । सभा हललाई बारेर नौवटा कोठा निकालिएको छ ।”
जेनजी आन्दोलनका व्रmममा नगरपालिकामातहतको उक्त सभा हलमा आगजनी र तोडफोडबाट सुरक्षित रहेको थियो । अलि ठुला कोठामा दुई÷तीन वटा शाखा राखेर जसोतसो कार्यालयको सम्पूर्ण सेवा सुचारु गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले जानकारी दिनुभयो । स्थानीय मदन झाले प्रदान गरेको १२ कट्ठा जग्गामा नगरपालिका कार्यालयले दुई वर्षअघि सभा हल निर्माण गरेको थियो । सोही सभा हल नै अहिलेको असहज परिस्थितिमा नगरपालिका कार्यालय सञ्चालन गर्न काम लागेको छ ।
जेनजी आन्दोलनमा कार्यालय भवनसहित कागजात तथा अन्य सरसामग्री र सवारीसाधन सम्पूर्ण जलेर ध्वस्त हुँदा केही दिन बरहथवा नगरपालिकाको कामकाज नै ठप्प भएको थियो । करिब दुई सातापछि जलेको भवनबाटै दाताले प्रदान गरेको दुई थान कम्प्युटरबाट आंशिक सेवा प्रारम्भ गरिएको थियो । नगरप्रमुख कटुवालले क्षतिग्रस्त भवनको मर्मत सम्भार छिट्टै अगाडि बढाइने बताउनुभएको छ ।