काठमाडौँ, पुस २७ गते । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि खेलिएको अभ्यास खेलमा नेपालले अमेरिकामाथि जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले अमेरिकालाई चार विकेटले हरायो । अमेरिकाले दिएको एक सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन बनाउनुभयो । पूजा महतोले अविजित ४३, काजल श्रेष्ठले २८ तथा कविता जोशीले १२ रन बनाउनुभयो । बलिङमा अमेरिकाका तारा नोरिस र लेखा शेट्टीले दुई दुई तथा तरानुम चोपराले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । अमेरिकाका लागि एला क्लारिजले ३९ रन बनाउनुभयो । पूजा गनेसले २२ रन बनाउनुभयो ।
बलिङमा नेपालकी मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, कविता जोशी, रिया शर्मा र रचना चौधरीले एक एक विकेट लिनुभयो । यसअघि अध्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।
जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ ।
यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । छनोटका लागि नेपाली टोलीको घोषणा भईसकेको छ ।
१० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ । नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ ।
छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।