किएभ, चैत १६ गते । गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पु्ष्टि गर्दै युक्रेनले सोमबार हेलसिन्कीसँग यसका लागि माफी मागेको छ । युक्रेनी विदेश मन्त्रालयले घटना गल्तीबस भएको भन्दै माफी मागेको हो ।
मस्कोले रातिको समयमा युक्रेनी ब्यारेज र अन्य सैन्य स्थललाई लक्षित गरी सयौ ड्रोनले आक्रमण गरेपछि जवाफमा किएभले गरेको आक्रमणका क्रममा दुई ड्रोन फिनल्याण्डमा खसेका थिए । “कुनै पनि युक्रेनी ड्रोन फिनल्याण्डतर्फ निर्देशित थिएनन् । सबैभन्दा सम्भावित कारण रूसी इलेक्ट्रोनिक युद्ध प्रणालीको हस्तक्षेप हो । हामीले यस घटनाका लागि फिनल्याण्डसँग माफी मागेका छौँ,” युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता जर्जी टाइकीले पत्रकारसँग भन्नुभयो ।
युक्रेनले गत हप्ता फिनल्याण्डको खाडी नजिकको रूसी तटमा बन्दरगाह सुविधामा धेरै पटक आक्रमण गरेको थियो । फिनल्याण्डको रक्षा मन्त्रालयका अनुसार फिनल्याण्डले आइतवार एफ/ए-१८ हर्नेट लडाकू विमान पहिचानका लागि पठाएको थियो । एउटा ड्रोन दक्षिणी फिनल्याण्डको कोउभोला शहरको उत्तरमा खसेको थियो भने अर्को कोउभोलाको पूर्वमा खसेको मन्त्रालयले जनाएको छ । रासस/एएफपी