धादिङ, पुस १ गते । धादिङको ‘बैरेनी आयुर्वेद औषधालय’ तर त्यहाँ आयुर्वेद मात्र होइन, एलोपेथिक उपचार पनि हुने गरेको छ । खुट्टा फ्याक्चर भएर औषधालयमा आउनुभएकी सुषमा अधिकारीले यही आयुर्वेदिक औषधालयबाट सम्पूर्ण उपचार पाउनुभयो । अहिले उहाँको खुट्टा पूर्ण रूपमा निको भएको छ । अधिकारीले एक्सरेदेखि प्लास्टरसम्मको उपचार यही औषधालयमा गर्नुभयो । प्लास्टर गरिसकेपछि हिँडडुल गर्नका लागि वैशाखी पनि यही औषधालयले निःशुल्क उपलब्ध गरायो ।
आयुर्वेद औषधालयमा कसरी एलोपेथिक उपचार सम्भव भयो ? जिज्ञासा हुन सक्छ तर गल्छी गाउँपालिकाले आयुर्वेदिक औषधालयमा एलोप्याथिक उपचारको सुविधाका लागि आवश्यक सहयोग तथा सहजीकरण गरिरहेको छ, त्यसैले यो सबै सम्भव भएको छ । स्वास्थ्यलाई प्राथमिकतामा राखेको गल्छी गाँउपालिकाले उक्त औषधालयमा चिकित्सा सेवादेखि सम्पूर्ण औषधी उपचार निःशुल्क गरेको छ । यति मात्र होइन, ग्रामीण क्षेत्रमा भएको आयुर्वेदिक औषधालयको शाखा धादिङको बैरेनी बजारमा समेत सञ्चालन गरिएको छ । उक्त शाखामा समेत दैनिक ३५ जना बिरामी विभिन्न समस्या लिएर आउने गर्छन् ।
गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले ग्रामीण क्षेत्रमा एकीकृत चिकित्सा सुविधा उपलब्ध गराउँदा गल्छी गाउँपालिकाका पाँच वटा वडासहित छिमेकी पालिकाबाट समेत बिरामी आउने गरेको जानकारी दिनुभयो । अध्यक्ष खतिवडाले रातिको समयमा कोही व्यक्ति दुर्घटनामा प¥यो वा कुनै आपत्कालीन अवस्था आइलाग्यो भने त्यसलाई तत्काल उपचार सम्भव होस् भन्ने उद्देश्यले एलोपेथिक र आयुर्वेदिक उपचारलाई एकसाथ अगाडि बढाइएको बताउनुभयो । उक्त औषधालयमा सम्पूर्ण जनशक्तिलगायतको भौतिक पूर्वाधारको व्यवस्था गरेर एकीकृत चिकित्साका रूपमा आयुर्वेद औषधालयलाई अगाडि बढाइएको जानकारी दिनुभयो । गल्छी गाउँपालिकाबाट १७ किलोमिटर टाढा रहेको आयुर्वेद औषधालयमा सामान्य चोटपटकदेखि खुट्टाको प्लास्टरसम्म गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
टहराबाट सेवा सुरु गरेको उक्त औषधालयले हाल दुई करोड ५९ लाखको लागतमा नवनिर्मित भवनबाट सेवा दिइरहेको छ । प्रादेशिक तथा केन्द्रीय अस्पतालबाट समेत निःशुल्क उपलब्ध नहुने सामग्री तथा उपकरणसमेत उक्त औषधालयबाट निःशुल्क वितरण हँुदै आएको छ । गल्छी गाउँपालिका वडा नम्बर ५, पाल्चोकमा रहेको उक्त औषधालयको स्थापना २०५७ सालमा भएको थियो । औषधालयले आयुर्वेदमा च्यवनप्राशदेखि विभिन्न किसिमका आयुर्वेद र एलोपेथिक औषधी, बैसाखी, प्रयोगशाला सेवा, एक्सरे सेवासमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
आयुर्वेद औषधालयका प्रमुख डा. नारायणप्रसाद पौडेलले आयुर्वेद औषधालयमा बिरामीका लागि अत्याधुनिक प्रयोगशाला (ल्याब), फिजियोथेरापीदेखि एक्सरे सेवासमेत निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले सम्पूर्ण सेवा एकसाथ उपलब्ध गराउँदा नागरिकलाई धेरै सहज भएको जानकारी दिनुभयो । गाउँपालिकाले सहयोग गरेको जानकारी दिँदै प्रमुख पौडेलले केन्द्रबाट कर्मचारीलाई तलबभत्ताबाहेक अन्य बजेट उपलब्ध नगराइएको गुनासो गर्नुभयो ।
“गाउँपालिकाले स्वास्थ्यमा प्राथमिकता दिएका कारण आयुर्वेद औषधालयबाट सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउन सफल भएको हो,” पौडेलले भन्नुभयो, “यो औषधालय देशकै नमुनाका रूपमा स्थापित भएको छ । जहाँ आयुर्वेदिकदेखि एलोपेथिकको सम्पूर्ण उपचार सेवा उपलब्ध गराइएको छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले आयुर्वेदिक औषधालयबाट सम्पूर्ण उपचार सेवा पाउनु त्यहाँका नागरिकका लागि धेरै राम्रो पक्ष भएको बताउनुभयो । उहाँले अन्य स्वास्थ्य संस्थाले पनि बैरेनी आयुर्वेदिक औषधालयमा जस्तो सेवा दिन सक्नुपर्ने बताउनुभयो । सचिव देवकोटाले त्यसका लागि स्थानीय तहबाट प्रयास थालिनुपर्नेमा जोड दिनुभयो ।
आयुर्वेद तथा चिकित्सा विभागका पूर्वमहानिर्देशक डा. वासुदेव उपाध्यायले सरकारले एकीकृत चिकित्सालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले एकीकृत चिकित्सालाई एकअर्कामा विलय गर्नुभन्दा पनि सम्मानजनक रूपमा आयुर्वेद र एलोपेथिक चिकित्सा विधालाई एकीकृत गरिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. सन्तोष ठाकुरले बैरेनी आयुर्वेद अस्पतालमा आफू स्वयम्ले निरीक्षण गरेको जानकारी दिँदै त्यहाँ देशकै नमुना अस्पतालका रूपमा स्वास्थ्य सेवा दिइरहेको बताउनुभयो ।
आयुर्वेद अस्पतालका प्रमुख पौडेलले हाल अस्पतालले नवनिर्मित भवनमा डिजिटल एक्सरे, एक्सरे मेसिन, इसिजीलगायतका सेवा दिइरहेको बताउनुभयो । उहाँले हाल औषधालयमा आयुर्वेद तथा एलोपेथीका इन्ट्रिग्रेटेड सेवा, दैनिक एक्सरे, प्लास्टर, पञ्चकर्मका सेवा, शिरोधारा, एकाङ्ग, स्वेदन, योगालगायतको सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । हाल उक्त औषधालयमा दैनिक ३० देखि ४० जनाले बहिरङ्ग सेवा लिइरहेका छन् । शाखा रहेको बैरेनी बजारमा समेत ३५ देखि ४५ जना बिरामी दैनिक आउने गरेका छन् ।