• २६ मङ्सिर २०८२, शुक्रबार

एमाले महाधिवेशन तयारी : प्रतिनिधि कार्ड वितरण सुरु

blog

महाधिवेशन उद्घाटन स्थलको तयारी । तस्बिर : केशब गुरुङ

काठमाडौँ, मङ्सिर २५ गते ।  नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि कार्ड छपाईको काम सम्पन्न भइ वितरण कार्य सुरु भएको छ । 

एघारौं महाधिवेशनका प्रतिनिधि व्यवस्थापन समितिका संयोजक काशीनाथ अधिकारीले बिहीबारदेखि प्रतिनिधि कार्ड वितरण सुरु भएको जानकारी दिनुभयो । 

एमालेको केन्द्रीय सचिवालयको बैठक शुक्रबार पुनः बस्दैछ । सो सचिवालय बैठकले  विधानमा व्यवस्था भए बमोजिम पाँच प्रतिशत अर्थात् एक सय आठ जना प्रतिनिधि मनोनित गर्न सक्नेछ ।

उहाँले भन्नुभयो, “हामी सबै प्रतिनिधि र सहभागीको कार्ड तयार भएर कार्ड वितरणको काम प्रारम्भ भइसक्यो । २० वटा शीर्षकमा एकमुष्ठ रुपमा कार्ड वितरण भइरहेको छ ।” 

उहाँले बुधबार बसेको प्रतिनिधि व्यवस्थापन समितिको बैठकले एघारौं महाधिवेशनका लागि २१ सय ५४ जना प्रतिनिधि निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा प्रतिनिधि व्यवस्थापन समितिको तर्फबाट एघारौं राष्ट्रिय महाधिवेशनमा २१ सय ५४ प्रतिनिधिको निर्णय भइसकेको छ । हिजो मङ्सिर २४ गते बिहान बसेको प्रतिनिधि व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।”

महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषद्का ३०८ जना महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुनेछन् । सचिवालय बैठकले पाँच प्रतिशत प्रतिनिधि मनोनित गरेको अवस्थामा कुल प्रतिनिधि सङ्ख्या २२ सय ६२ पुग्नेछ । 

उहाँले भन्नुभयो, “भोलि बस्ने केन्द्रीय सचिवालयको बैठकले पाँच प्रतिशत मनोनित गर्न सक्ने विधानमा जुन प्रावधान छ, त्यो व्यवस्था अनुसार मनोनित गरेको अवस्थामा १०८ जना थप प्रतिनिधि मनोनित हुन सक्छन् । यदि भोलिको बैठकले १०८ जना मनोनित ग¥यो कुल प्रतिनिधिको सङ्ख्या २२ सय ६२ हुनेछ । महाधिवेशन हलभित्र प्रवेश गर्न पाउने सङ्ख्या २५ सय ७१ हुन्छ ।” 

एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र मङ्सिर २७ गते भक्तपुरको सल्लाहघारीमा हुँदैछ । यसका लागि उद्घाटनस्थल निर्माणको काम तीव्ररुपमा अघि बढेको छ ।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।