• ७ जेठ २०८१, सोमबार

होस गर है प्रिय [कविता]

blog

बडो जतनका साथ बुनेकी छु मैले 

मेरो हृदयको तानमा 

तिम्रो र मेरो प्रेमको सप्तरङ्गी रुमाल 

होस गर है प्रिय ! 

तिम्रो छुवाइले कतै दागी नबनाओस् 

मेरो त्यो पवित्रतम सिर्जनालाई ।


ठूलो प्रयत्नका साथ 

दबाएर राखेकी छु मैले मनभित्रै 

तिमीप्रतिको मेरो तीव्र अनुरागलाई 

आफ्नो अभिसारको चाहनालाई 

खुला रूपमा व्यक्त गर्नुअघि 

होस गर है प्रिय ! 

त्यसले कतै उफानमा नल्याओस् 

मैले हृदयको अन्तस्तलमा दबाएर 

राखेको मेरो तिर्सनालाई ।


कुनै त्यस्तै उपयुक्त र मधुर क्षणमा 

तिमीलाई नै अर्पण गर्न भनी 

मेहनतका साथ तयार 

पारेर राखेकी छु मैले 

मेरो यो देहको सम्पदालाई 

उन्मादको हुट्हुटीमा यसलाई 

बलात् किचिमिची पार्नुअघि 

होस गर है प्रिय ! 

तिम्रो त्यो क्षणिक आवेशले 

ओझेलमा नपारिदेओस् 

स्त्री–पुरुष सम्बन्धका सबै 

रोमाञ्चक, अर्थपूर्ण र शाश्वत 

आयामहरूलाई ।