• १२ माघ २०८२, सोमबार

थाकस स्थापना दिवसः उपलब्धि भएको दावी

blog

थारू कल्याणकारिणी सभा (थाकस) को ७७ औं स्थापना दिवसको उदघाटनसत्र ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १२ गते । थारू कल्याणकारिणी सभा (थाकस) ले स्थापनाको ७७ औं दिवस आज मनाएको छ । वि.सं. २००५ माघ १२ गते वैधानिकता पाएको स्मरणमा थाकसले स्थापना दिवस मनाएको हो । 

स्थापनाको ७७ औं वर्षमा निकै उतारचढाव समय आए पनि केही हदसम्म थारू समुदायको उपलब्धि प्राप्त भएको बुझाइ थाकसका पदाधिकारीहरुको छ । स्थापनाकालदेखि थारू समुदायमा विद्यमान विकृति, विसंगति हटाउनमा उल्लेख्य सफलता मिलेको, थारू समुदायको राजनीतिक अधिकार केही हदसम्म प्राप्त भएको, थारू आरक्षणका लागि निजामती कर्मचारी ऐनमा सम्बोधनको सम्भावना बढेको, भाषिक अधिकार सुनिश्चित् भएको, प्रथाजनित कानुन बन्नेक्रम सुरुभएको नेतृत्वकर्ताहरुको भनाइ छ । 

त्यसैगरी थारू आयोग, आदिबासी जनजाति आयोग, मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता, संविधानमा विशेषक्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रको परिकल्पना, मौलिक हकमा विभिन्न अधिकार सुनिश्चित भए पनि त्यसको कार्यान्वयनका लागि ऐन बन्न बाँकी रहेको, संविधानतः थारू क्लस्टर छुट्याइएको विषयलाई थाकसले उपलब्धिको रुपमा लिएको छ । आगामी दिनमा थप उपलब्धिका लागि एकतावद्ध भएर संघर्ष गर्नुपर्ने भनाइ थाकसका नेतृत्वकर्ताहरुको छ । 


थारू कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष प्रेमीलाल प्रसाद चौधरीले पूर्खाहरुले थारू एकताको परिकल्पना गरी स्थापना गरेको थाकस नेपालको सामाजिक संस्थामा सबैभन्दा पुरानो संस्था भए पनि आशालाग्दो प्रगति अझै हुन नसकेको बताउनुभयो । थारू समुदायलाई एकताको सुत्रमा बाँध्न भने सफलता मिलेको भन्दै उहाँले थारू भाषालाई सरकारी कामकाजी भाषा बनाउने अभियानमा थाकसले दवाव दिइरहेको बताउनुभयो । 

थारू आयोगका कावा अध्यक्ष सुबोधसिंह थारूले थाकसले आफूलाई समयसापेक्ष परिवर्तन गर्न आवश्यक रहेको सुझाव दिनुभयो । प्रविधिले ठुलो फड्को मारिसक्दा समेत थारू नेतृत्वकर्ताहरुको सोंच कार्यशैलीमा समयअनुरुप रुपान्तरण हुन नसकेको भन्दै उहाँले त्यसकालागि काम गर्न आग्रह गर्नुभयो ।

थाकसका उपाध्यक्ष प्रभातकुमार चौधरीले थाकसले सुरु गरेको काममा उल्लेख्य प्रगति भएको भन्दै आगामी दिनमा थारू विज्ञहरुको सुझावअनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । थारू आयोग थारू समदुायको संघर्षकै उपलब्धि भएको बताउनुभयो । 


कार्यक्रममा थाकसका उपाध्यक्ष हरिदेवी चौधरी, कोषाध्यक्ष चूर्णबहादुर चौधरी, थारू अगुवाहरु लक्की चौधरी, डा. सुनिता चौधरी, बुद्धसेन चौधरी, नेमनारायणसिंह चौधरी, कानुनलाल चौधरी, पुरुषोत्तम चौधरी, महेश चौधरी, शत्रुघन चौधरी, फुलकुमारी चौधरी, श्रवण चौधरी, इन्द्रकुमार चौधरी, भुपेन्द्र चौधरी, नन्दुराज चौधरी, गुञ्जा चौधरी, निलम चौधरी, ललिताकुमारी चौधरी, मन्दिरा चौधरी, सरला चौधरी, रामस्वागत चौधरी, सुमन चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सो अवसरमा थाकसका संस्थापकहरुलाई मरणोपरान्त सम्मान गरिएको छ । संस्थापक परिवारका सदस्यहरुलाई सो अवसरमा सम्मानपत्र प्रदान गरिएको छ ।