• १२ माघ २०८२, सोमबार

चुनावी माहोलले हौस्यायो सेयर बजार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १२ गते । चुनावी वातावरणसँगै लगानीकर्ताको धारणा सकारात्मक बन्दै जाँदा सेयर बजारले २८ सयको विन्दु पछ्याएको छ । चुनावी माहोलले राजनीतिक स्थिरताप्रति लगानीकर्ताको अपेक्षा बढेसँगै सेयर बजारमा उत्साह देखिएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५७ अङ्कले बढेको छ भने कारोबार रकम पनि १४ अर्बनजिक पुगेको छ ।

चुनाव नजिकिँदै जाँदा बजारले नीतिगत निरन्तरता, सरकार गठनपछि आर्थिक गतिविधि चलायमान हुने अपेक्षा र सार्वजनिक खर्च बढ्ने अनुमानलाई मूल्यमा समावेश गर्न थालेको देखिएको लगानीकर्ता बताउँछन् ।

देशमा राजनीतिक स्थिरता हुने छाँटकाँट देखिएपछि लगानीकर्ता ढुक्क भएर कारोबारमा लाग्न थालेको बताउनुहुन्छ, सेयर लगानीकर्ता सङ्घका महासचिव रविन कँडेल । लचिलो मैद्रिक नीति, चुनाव हुन पक्का भएपछि बजार बढ्नु स्वाभाविक भएको उहाँको भनाइ छ । “अहिलेसम्म राजनीतिक स्थिरता हुन्छ कि हुँदैन भन्ने थियो । केही दिनयताको माहोलले लगानीकर्ताको दुविधा हटाएको छ । कतिसम्म जान्छ भन्न नसकिए पनि बजार अझै माथि जान्छ,’’ उहाँले भन्नुभयो । आइतबार सेयर बजार मापक नेप्से ५७.५५ अङ्कले सुधारिँदा परिसूचक २७७२.१७ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.०५ अङ्क बढेर ४७३.४८ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा पहिलो दिनको नेप्से २.१२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.७३ प्रतिशतले बढेको छ ।

पहिलो दिन ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता सेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९  हजार ६४५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।