काठमाडौँ, माघ १२ गते । इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोागका प्रवक्ता सुरेश न्यौपानका अनुसार खवाससहित राजपुर गाउँपालिका वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन वडा सचिव (स्थानीय पञ्जिकाधिकारी) राजेश कुमार कहार, कार्यालय सहायक मिना चौधरी, आलम जोल्हा र आएसा जोल्हाविरुद्ध सरकारी कागजात सच्याएको एवम् गलत लिखत तयार गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
आयोगकाअनुसार उनीहरुले दाङको राजपुर गाउँपालिका, वडा नं.४ स्थायी ठेगाना भएको भनी झुट्टा लिखत तयार गरी गराइ सरकारी कागजात सच्याइ नागरिकलाई नागरिकताको प्रमाणपत्र दिलाइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा कैद र जरिवानाको सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।