• १२ माघ २०८२, सोमबार

प्रतिनिधि सभा निर्वाचन : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

blog

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी,निर्वाचन आयुक्त्त सगुन शमशेर जबरासहित । तस्बिर : निर्वाचन आयोग

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न
  • प्रत्यक्षतर्फको छपाइ कार्य बढीमा १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य 

गोरखापत्र अनलाइन 

काठमाडौँ, माघ १२ गते । २०८२ फागुन २१ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। 

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छपाइ कार्यअन्तर्गत समानुपातिकतर्फको सम्पूर्ण काम सोमबार सकिएको हो।

जनक शिक्षा सामग्री केन्द्रको स्थलगत अनुगमनपछि जानकारी दिँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० थान मतपत्र छापिसकिएको बताउनुभयो। एउटा महत्त्वपूर्ण खुड्किलो पार भएको उल्लेख गर्दै उहाँले अब निर्वाचनको सम्पूर्ण ध्यान प्रत्यक्षतर्फको मतपत्र छपाइमा केन्द्रित भएको जानकारी दिनुभयो।

प्रत्यक्षतर्फको छपाइ सुरु समानुपातिकतर्फको छपाइ सकिएकै दिन अर्थात् सोमबारदेखि नै 'पहिलो हुने निर्वाचित हुने' (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य समेत प्रारम्भ गरिएको छ। प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको भनाइ छ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार प्रत्यक्षतर्फको छपाइ कार्य बढीमा १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। "हामीले समानुपातिकतर्फको काम सकेर आजैबाट प्रत्यक्षतर्फको छपाइ सुरु गरेका छौँ," उहाँले भन्नुभयो, "अहोरात्र काम गरेर आगामी १५ दिनभित्र सबै मतपत्र छापिसक्नेछौँ।"

फागुन ५ भित्रै गाउँ-गाउँमा मतपत्र मतपत्र छपाइ सँगसँगै आयोगले ढुवानीको तालिका पनि तय गरिसकेको छ। छापिएका मतपत्रहरूलाई सुरक्षित रूपमा जिल्ला र स्थानीय तहसम्म पुर्‍याउन नेपाली सेनासहितको सुरक्षा घेरामा ढुवानी गरिनेछ।

आगामी फागुन ५ गतेभित्र देशका सबै मतदान क्षेत्र र मतदानस्थलहरूमा मतपत्र पुगिसक्ने गरी आयोगले आवश्यक तयारी पूरा गरेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा जनशक्ति र मेसिनको अधिकतम प्रयोग गरेर समयमै सामग्री व्यवस्थापन गर्ने कार्यमा आयोग जुटेको देखिन्छ।