नवीनराज कुइँकेल
लमजुङ, माघ १२ गते । बाह्र वर्षपछि राजनीतिक दलहरुबिच एक्ला–एक्लै प्रतिष्पर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । तीन वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नुभएका हेवीवेट उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई यस पटक कांग्रेस र रास्वपाका उम्मेदवारले चुनौती दिने बताएका छन् ।
लमजुङमा २०७४ र २०७९ मा फरक फरक दलहरुबिच गठबन्धन भएर निर्वाचन भएको थियो । २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेले प्राप्त गरेको मतभन्दा पनि पृथ्वीसुब्बा गुरुङले तीन हजार ७८१ बढी लोकप्रिय मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला एमालेको समानुपातिक मत ३१ हजार १७८ थियो, गुरुङले ३४ हजार ९६९ ल्याउनुभयो ।
यसअघि पाँच दलीय गठबन्धनलाई पराजित गर्नुभएका गुरुङसँग अहिले मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार धर्मराज केसीले टक्कर दिइरहनुभएको छ ।
नेपाली कांग्रेसका गमप्रसाद पहिलो पटक र रास्वपाका केसी दोस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ । रास्वपाका केसीले २०७९ को निर्वाचनमा ९ हजार २९ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको थियो ।
२०७९ को निर्वाचनमा कांग्रेससहित पाँच दलीय गठबन्धनबाट उम्मेद्वार बन्नुभएका तत्कालीन माओवादीका महासचिव देवप्रसाद गुरुङ ३१ हजार ७ सय ८१ मतमा सीमित हुनुभएको थियो । उहाँ अहिले उम्मेदवार बन्नुभएको छैन । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसको प्रत्यक्षतर्फ उम्मेदवार नभए पनि समानुापतिकतर्फ २७ हजार ७९६, रास्वपाले ८ हजार २१७, माओवादी केन्द्रले ६ हजार ४८३ र राप्रपाले २ हजार ३०८ मत प्राप्त गरेको थियो । चुनावी मैदानमा रहनुभएका तीनै जनाले आफूले जित्ने दाबी गर्दै आउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष राजकुमार विष्ट पाँच दलीय गठबन्धन गरी एमालेलाई धुलो चटाउछु भन्दा पनि २०७९ मा लोकप्रिय मत प्राप्तगरी गुरुङले विजयी हासिल गरेकोले अहिले एक्ला एक्लै चुनाव लड्दा जित्न झन सहज अबस्था रहेको बताउनुहुन्छ ।
नेपाली कांग्रेसले गमप्रसाद गुरुङ पार्टीभित्र विवादरहित र शालीन उम्मेदवार रहेकाले यसपटक नेपाली कांग्रेसले विजयी हासिल गर्ने दाबी गर्दैआएको छ । कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले आफ्नो पार्टीको उम्मेदवारको जित सुनिश्चत रहेको दावी गर्नुभयो ।
आफूलाई बैकल्पिक शक्ति भन्दै चुनावी मैदानमा उत्रिएको रास्वपाका केसीले पनि आफुहरुले जित्ने दाबी गर्दै आउनुभएको छ । रास्वपा लमजुङका संयोजक अशोक सापकोटाले २०७९ भन्दा अहिले धेरै परिवर्तन भइसकेको र मतदाताले नयाँ उम्मेदवार खोजेकाले केसीले जित्नेमा ढुक्क रहेको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीबाट युवा उमेद्वार हरिजंग तामाङ मैदानमा हुनुहुन्छ । यसपटक जनताको चाहना युवामा रहेको उहाँहरुको दावी छ ।
चुनावी मैदानमा रहेकामध्ये पार्टीको सबैभन्दा शीर्ष स्थानमा रहनुभएका पृथ्वीसुब्बा गुरुङ यसअघि लमजुङबाट तीन पटक निर्वाचन जित्नुका साथै प्रदेशको मुख्यमन्त्री र दुई पटक संघीय सरकारको मन्त्री हुनुभएको थियो । उहाँले आफूले सुरु गरेको विकास निर्माणका काम अहिले पनि अधुरा रहेका भन्दै त्यसलाई पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै आउनुभएको छ ।
लमजुङको चुनावी मैदानमा १२ जना उम्मेद्वारहरु छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केविन्द्रजंग गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन्द्र नखोला, श्रम संकृति पार्टीबाट कोषलाल गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेश्नल रिपब्लिक पार्टीका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे रहनुभएको छ ।
लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यस पटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता रहेका थिए ।