साहारा लिम्बू
फुङलिङ, माघ १२ गते । ताप्लेजुङको फुङलिङ बजारमा रहेको अनमोल ज्वेलर्सबाट चाँदी चोरी भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ फुङलिङ नगरपालिका २ घर भई वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा रहेको अनमोल ज्वेलर्सबाट चाँदी चोरी गर्ने एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा फुङलिङ नगरपालिका २ का २२ वर्षीय डेनिस गुरुङ रहेका छन् । उनलाई चोरी भएको चाँदीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पसलमा रहेको सीसीटीभी फुटेज परीक्षण गर्दा चोरीमा संलग्न व्यक्तिको पहिचान खुलेको हो ।
पक्राउ परेका गुरुङको साथबाट चोरी गरिएका २ तोलाको सिक्री तथा १८ तोलाको चन्द्रहार गरी कूल २० तोला चाँदी बरामद गरिएको छ। पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।