• ७ मंसिर २०८१, शुक्रबार

प्रिय दुश्मन (कविता)

blog

मिलन समीर 

अचानक हराएर आफ्नो होश

भक्कानिँदै डाँको छोडेर रोएको

त्यतिकै हुँदै होइन–अरूको अगाडि !


यति धेरै लामो समयसम्म

तिम्रो मनभित्र लुकेर बसिरहन

कसरी सकेको थियो मप्रतिको

कलुषित मनोविकार जस्तै मनोभावना ?


तीनछक परिरहेको छु– यतिबेला

वास्तविक चरित्रसँगै देखेर तिम्रो ताण्डव नृत्य !


त्यसपछि धिक्कारेको थिएँ– मैले आफैँलाई !


चिन्न सकेकै रहेनछु– अहिलेसम्म पनि तिमीलाई

र त पछुतो लागिरहेको छ– जिन्दगीमा पहिलोपटक !


साँच्चिकै बेकार लागिरहेको छ– यतिबेला

सिङ्गै एक दशकको ‘अर्थहीन’ सहयात्रा !


जिन्दगीमै पहिलोपटक

यसरी दुखिरहेको छ– मेरो मन

तिमीले गरेको बकम्फुसे कुराले !


जस्तो अनुभूति गरिरहेका हुन्छन्–

ज्यूँदा मान्छेहरूले

खाँदै–नखाएको विष एक्कासि लागेपछि

ठ्याक्कै त्यस्तै भएको छ– मलाई यतिबेला !


कमजोर धागोलाई जस्तैगरी

सजिलै चुँडाइदिएका थियौ– तिमीले

त्यतिबेला तिमीप्रतिको

मेरो अगाध आस्था, विश्वास 

र, भरोसाको बलियो डोरीलाई !


झिनो आशाको 

मसिनो त्यान्द्रोमा अल्झिएर

मागिरहेको पो रहेछु–

मैले आशीर्वाद अहिलेसम्म

जहाँ– विवेकको कुनै अभिलेख थिएन !


प्रिय दुश्मन !

विश्वास नलाग्ने अवस्था

भए तापनि अरू कसैलाई

तितो यथार्थ यही नै रहेछ !