• ७ जेठ २०८१, सोमबार

नेपाली भाषामा ब्रह्माण्डपुराण

blog

 ब्रह्माण्डपुराणको नेपाली अनुवाद हालै प्रकाशनमा आएको छ । यसको अध्यायगत सारांशका रूपमा नेपाली अनुवाद गरिएको हो । जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलद्वारा अनुदित प्रस्तुत पुराण ब्रह्मदेखि ब्रह्माण्डसम्मका १८ वटा महापुराणमध्ये अन्तिम पुराण हो । डा. पोखरेलले यसअघि नै विभिन्न महापुराणहरू अनुवाद गरी प्रकाशित गराउँदै आउनुभएको छ । प्रस्तुत पुराण यसैभित्र अर्को कडी हो ।  वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार संसार परब्रह्मको खेल हो । जब ब्रह्ममा एकबाट अनेक हुने इच्छा जागृत हुन्छ तब आफ्नै शरीर विस्फोट गरेर नानारूप धारण गरी खेल्छन् र खेल्न पुगेपछि सारा सृष्टिलाई आफैँमा समेट्दै शून्यमा विचरण गर्न पुग्छन् ।

यसैमध्येका सृष्टिक्रमलाई ब्रह्मपुराणले सम्यक् रूपमा व्यक्त गर्ने काम गरेको छ । पद्मपुराणमा पृथ्वीलाई रसा भनिएको छ । रसाको अर्थ सरस अर्थात् रसले युक्त भन्ने पनि हो । तिनै सृष्टिको आधारलाई व्यक्त गर्ने काम पद्मपुराणले गरेको छ । पौराणिक ग्रन्थहरूमा सृष्टिकार्यका लागि जलमा सुतेका विष्णुको नाभीबाट कमल उत्पन्न भएको प्रसङ्ग आएको छ । तिनै जलमा सुतेका भनिएका विष्णुलाई व्यक्त गर्ने काम विष्णुपुराणले गरेको छ । 

यतिबेला विष्णुले शेषनागलाई आसन बनाएका हुन्छन् । यिनै नाग अर्थात् विष्णुका आसन शेषनागको विशेषता व्यक्त गर्ने प्रसङ्गको नाम वायुपुराण हो । कतै यसको स्थानमा शिवपुराणलाई लिइएको छ । यस्तोमा भने प्रकारान्तरले अर्थ बोध गर्नुपर्ने हुन्छ । सोही कमलमा उत्पन्न भएका ब्रह्माजीले सृष्टि गरेका हुन् भन्ने पौराणिक भनाइ छ । यहाँ ब्रह्माजीबाट भएका तिनै सृष्टिका विभिन्न प्रक्रियाको प्रतिनिधित्व भागवत पुराणले गरेको छ । शेषशायी नारायणका साथमा नारदको उपस्थिति हुन्छ । यसै कुरालाई व्यक्त गर्ने काम नारदपुराणले गरेको छ । विष्णुको शक्तिको नाम लक्ष्मी हो । यिनी भनेका समग्र शक्तिका प्रतिनिधि पात्र हुन् । तिनै शक्तितìव विवेचन गर्ने काम मार्कण्डेयपुराणले गरेको छ ।

आठौँ पुराणको नाम अग्नि हो । संसारलाई अग्निसोमात्मक भनिएको छ । यो भनेको तातो र चिसोको समन्वय हो । नवसिर्जनाका लागि तातो पनि चाहिन्छ, चिसो पनि चाहिन्छ । तातो बढी भए बीज भुटिन्छ, चिसो बढी भए कुहिन्छ । यिनै तातो र चिसोलाई समन्वयात्मक ढङ्गले बुझाउने काम अग्निपुराणले गरेको छ । सृष्टि प्रक्रियामा सूर्यको विशेष भूमिका छ । सूर्यकिरणबिना सृष्टि सम्भव हुन्न । यसैलाई बताउने काम भविष्यपुराणले गरेको छ । संसार ब्रह्मको विवर्त मानिएको छ । यसैलाई व्यक्त गर्ने काम ब्रह्मवैवर्तपुराणले गरेको छ । सृष्टिमा आकाशतìवदेखि पृथिवीतìवसम्मको समन्वय भएको हुन्छ । लिङ्गपुराणले यिनै कुरालाई बताउने काम गरेको छ । 

बाह्रौँदेखि सोह्रौँसम्मका क्रमशः वराह, स्कन्द, वामन, कूर्म र मत्स्य भनेका भगवान्कै विभिन्न अवतार हुन्, जसको प्रतिनिधित्व तत्तत् नामात्मक पुराणहरूले गरेका छन् । संसारमा कामअनुसार स्थान निर्धारण भएको हुन्छ । राम्रो काम गर्नेले राम्रो स्थान पाउँछन्, नराम्रो काम गर्नेको स्थान पनि त्यस्तै हुन्छ । यसै कुरालाई व्यक्त गर्ने काम गरुडपुराणले गरेको छ । 

सृज्यमान जगत्को विनाश पनि निश्चित छ । जसको सृष्टि भएको छ, उसको ढिलोचाँडो विनाश पनि भएकै हुन्छ । अन्यथा सृष्टि रोकिन्छ, चल्दैन । ब्रह्माण्डपुराणले यिनै कुराको प्रतिनिधित्व गरेको छ । 

ब्रह्मपुराणको पूर्व, मध्यम र उत्तर गरी तीन भाग छन् । यीमध्ये पूर्वभागमा पूर्व र अनुषङ्ग गरी दुई पाउ छन् । मध्यम भागको उपोद्घात र उत्तरभागको उपसंहार पाउ रहेका छन् । कुल १५६ अध्याय रहेको यस पुराणमा कुल १२ हजार श्लोक रहेका छन् ।  नैमिषोपाख्यान, हिरण्यगर्भ भगवान्को प्रादुर्भाव, देवता तथा ऋषिहरूको सृष्टि, कल्प, मन्वन्तर, युगहरूका समयावधि, रुद्रसर्ग, ऋषिसर्ग, अग्निसर्ग, प्रियव्रत राजाको वंश विस्तार, भुवनकोष वर्णन, खगोल वर्णनका क्रममा सूर्यादि ग्रह तथा नक्षत्र एवं ताराहरू र आकाशीय पिण्डहरूका विवेचन, समुद्र मन्थन, लिङ्गोत्पत्ति, वेदशाखा वर्णन, मन्त्रोपाख्यान आदि पूर्वभागका मुख्य विषयवस्तु हुन् । 

त्यस्तै श्राद्धसम्बन्धी विषयको साङ्गोपाङ्ग विवेचन, परशुरामचरितको व्याख्यान, गङ्गावतरण, सगर तथा भगीरथ राजाको वंश विस्तार, सूर्य तथा चन्द्रवंशी राजाहरूको चरित्र विवेचन मध्यम भागका मुख्य विषयवस्तु हुन् भने भावी मन्वन्तर विवेचन, कालमान, प्रतिसर्ग वर्णन, भगवती त्रिपुरासुन्दरी तथा ललितादेवीको उपाख्यान, भण्डासुर दानवको उत्पत्ति तथा ललितादेवीद्वरा उद्धार आदि उत्तरभागको मुख्य विषयवस्तुमा पर्छन् । 

धर्म, सदाचार, नीति, देवीदेवताका पूजा, उपासना तथा ज्ञान र विज्ञानको समन्वयात्मक विवेचन भएकाले यस पुराणको महत्त्व हिजो जति थियो, आज पनि उत्तिकै रहेको छ । यति बढी महìव बोकेका पुराणलाई नेपालीमा अनुवाद गरी सर्वसुलभ गराउने काम गरेकाले अनुवादक तथा प्रकाशक दुवै धन्यवादका पात्र बनेका छन् ।