• ३० असार २०८२, सोमबार

पहिलो भ्रम (नाटक)

blog

विराट् उद्यान । साँझ पर्नुअघिको समय । उद्यानको दृश्य अत्यन्तै रमाइलो छ । उद्यानमा मानिसहरूको चहलपहल छ । केही उद्यानमा प्रवेश गरिरहेका छन् । केही बाहिर निस्किरहेका छन् । केही उद्यानमा बसिरहेका छन् । केही उद्यानको अवलोकनमा यताउति घुमिरहेका छन् । सबै जना उद्यानको रमाइलोमा आनन्द मानिरहेका छन् । 

एउटी सुन्दरी युवती प्रसन्न अनुहारमा उद्यानको एकछेउमा उभिएकी छिन् । उनी उद्यानको सुन्दरतालाई नियालिरहेकी छिन् । एउटा सुन्दर युवक धनुषबाणसहित उद्यानमा प्रवेश गर्छन् । उनी उद्यानको अवलोकन गर्दै अगाडि बढ्ने व्रmममा अलिपर सुन्दरी युवतीलाई देख्छन् । युवती पनि उद्यानको सुन्दरतालाई नियाल्ने व्रmममै धनुर्धारी युवकलाई देख्छिन् । युवती युवकप्रति आकर्षित हुन्छिन् । युवक युवतीतिर आकर्षित हुन्छन् । युवती युवकलाई हेरिरहन्छिन् । युवक युवतीलाई हेरिरहन्छन् । दुवै मन्दमुस्कानमा आफू आफैँसँग बोल्छन् ।)

युवक ः (युवतीतिर हेरेर, मनमनै) ओहो, कति सुन्दरी युवती ! उद्यानको अवलोकनमा आएकी होलिन् । यिनी आफैँ यति सुन्दरी छिन्, यिनलाई के उद्यान अवलोकन गर्नुपरेको होला ? आफ्नै सुन्दरतालाई हेरे भइहाल्थ्यो । (एकछिन रोकिएर) हैन, यी सुन्दरीलाई मैले पहिले पनि कतै देखे जस्तो पो लाग्यो त ! यिनी कहाँकी को होलिन् ? यतिविघ्न सुन्दरी अरू कोही होलान् जस्तो लाग्दैन । हेर न, अनुहारको प्रणयप्रित मुस्कान ! आँखाको प्रेमिल दृष्टि । कुशल नृत्याङ्गनाको जस्तो भावभङ्गी । उनी पक्कै पनि कुनै नृत्यकला वा नाट्यकलाकी कलाकार हुनु पर्छ । त्यो पनि सामान्य होइन, उच्चस्तरीय । यस्ती सुन्दरी यहाँ कोसित आएकी होलिन् ? (यताउति हेर्दै) उनको नजिक त कोही देखिँदैनन् । उनी उद्यानको अवलोकनमा एक्लै आएकी जस्ती छन् । 

युवती ः (युवकतिर हेरेर, मनमनै) ओहो, कति सुन्दर युवक ! यी पनि उद्यानको अवलोकनमै आए जस्तो छ । (नियालेर हेर्दै) हैन, यिनलाई त मैले पहिले पनि कतै झुलुक्क देखे जस्तो पो लाग्यो त ! (सोचेर) यिनलाई मैले यसअघि धनुर्विद्याको प्रदर्शनमा देखे जस्तो लाग्छ । यिनी कहाँका होलान् ? को होलान् यिनी ? हेर न, कति राम्रो जिउडाल । कति सुन्दर मुहार । आँखा हेर न कति देदीप्यमान ! अरूलाई टाढैबाट आकृष्ट गर्ने ज्योतिपुञ्ज जस्ता ! अनि त्यो धनुषबाण भिरेको कति सुहाएको । मुस्कान पनि कस्तो मोहनीजालले भरिएको ! कति हृष्टपुष्ट । कति गम्भीर । सबै कुराले गुणसम्पन्न लाग्ने । कति सुन्दर शारीरिक व्यक्तित्व । धीरोदात्त नायक जस्ता । उनी पक्कै पनि उच्च कुलीन परिवारका क्षत्रिय हुनु पर्छ । 

युवक ः (मनमनै) म उनलाई हेरिरहेको छु । उनी पनि मलाई हेरिरहेकी छिन् । म उनको सुन्दरतामा आकर्षित भए जस्तै उनी पनि कतै मप्रति आकर्षित भएकी त 

होइनन् ? को रहिछन् यिनी, नजिकै गएर कुराकानी गर्नु पर्छ कि क्या हो ? 

(युवक विस्तारै अगाडि बढ्छन्) 

युवती ः (मनमनै) म उनलाई हेरिरहेकी छु । उनी पनि मलाई नै हेरिरहेका छन् । उनको शारीरिक व्यक्तित्वबाट म प्रभावित भए झैँ कतै उनी पनि मप्रति आकर्षित भएका त होइनन् ? लौ, यतै पो आउँदैछन् त उनी ! मेरै नजिक आउन लागेका त होइनन् ?        

(युवक विस्तारै युवतीको नजिक पुग्छन् र मुसुक्क हाँस्छन् । युवती पनि मुसुक्क हाँस्छिन् ।)

युवक ः (मुस्कानसहित युवतीसँग) म कर्ण । 

युवती ः (अलि अलि लजाएर युवकसँग) म द्रौपदी । 

कर्ण ः (आश्चर्यभावमा) द्रौपदी ? 

द्रौपदी ः हो, द्रौपदी । 

कर्ण ः (आश्चर्यभावमै, मनमनै) कतै यिनी पाञ्चाल राजकुमारी द्रौपदी त होइनन् ? द्रौपदी नाम त अरूको पनि हुन सक्छ तर यिनको रूपरङ र बोलीचाली हेर्दा त राजकुमारी जस्ती पनि छिन् । यिनी राजकुमारी हुन् कि होइनन् भन्ने कुरा कसरी थाहा पाउने होला ? भैगो, बिस्तारै थाहा भैहाल्ला नि ! 

द्रौपदी ः (मनमनै) यी युवकको मुखमुद्रा एक्कासि किन परिवर्तन भयो ? यिनी किन आश्चर्यभावमा देखिँदै छन् । केही बोल्न खोजिरहेका जस्ता पनि छन् । फेरि केही बोल्न सकिरहेका पनि छैनन् ।  

(दुवैलाई के बोलौँ के भन्ने हुन्छ । एकछिन दुवै जना एकअर्कालाई हेरिरहन्छन् ।) 

कर्ण ः तिमीलाई मैले पहिले पनि कतै झुलुक्क देखेको थिएँ । 

द्रौपदी ः हो, मैले पनि तिमीलाई देखेकी थिएँ । 

कर्ण ः त्यो ठाउँ चाहिँ कहाँ हो, मैले बिर्सेँ ।

द्रौपदी ः त्यो ठाउँ पाञ्चाल होला ।  

कर्ण ः हो, म पाञ्चालमा एक पटक गएको थिएँ । 

द्रौपदी ः तिमी पाञ्चालमा धनुर्विद्याको प्रदर्शनमा गएका थियौ । मैले तिमीलाई त्यहीँ झुलुक्क देखेकी थिएँ । 

कर्ण ः कस्तो अमिट स्मृति !

(द्रौपदी मुसुक्क हाँस्छिन् । केहीबेर दुवै मौन रहन्छन्)  

द्रौपदी ः (उद्यानतिर आँखा घुमाएर) उद्यान साह«ै सुन्दर छ । 

कर्ण ः (उद्यानतिर आँखा डुलाउँदै) यो विराट् उद्यान आफैँमा सुन्दर ! त्यसमाथि पूर्णिमाको सन्ध्याले उद्यानलाई कति शोभायमान बनाएको ।

द्रौपदी ः अँ, मलाई पनि यो क्षण अत्यन्तै रमाइलो लागिरहेछ । 

कर्ण ः षोडश कलाले परिपूर्ण पूर्णचन्द्रको समय त अझै भइसकेको छैन । त्यो समय त झन कस्तो होला ? 

द्रौपदी ः षोडश कलामा पनि ज्योत्स्ना र कान्तिको अंश बेग्लै हुन्छ । 

कर्ण ः अझ म त रति र प्रीतिको अंश पनि छुटाउन हुँदैन भन्छु । 

द्रौपदी ः त्यसो त अमृता, श्री र शशिनीको आकर्षण पनि कहाँ कम हुन्छ र ? 

कर्ण ः अवश्य ।      

(दुवै जना आकाशतिर हेर्छन् ।) 

द्रौपदी ः भूस्वर्गको एउटा अंश यो पनि त हो ।        

कर्ण ः एकातिरबाट सूर्यास्त, अर्कातिरबाट चन्द्रोदय ! कस्तो अनौठो ! 

द्रौपदी ः यतिबेला यहाँको विशेषता त्यो पनि रहेछ ।   

कर्ण ः (द्रौपदीको अनुहारमा हेर्दै) अद्वितीय ! तर यो क्षण धेरैबेर रहँदैन होला । 

द्रौपदी ः त्यो त निश्चित नै छ ।   

कर्ण ः यस्तो क्षण सधैँभरि यसरी नै कायम रहे कस्तो हुन्थ्यो होला ? 

द्रौपदी ः त्यो प्राकृतिक रचनाको विपरीत हुन्थ्यो ।   

कर्ण ः मैले त भावुकतावश कल्पना मात्र गरेको हुँ ।

द्रौपदी ः यस्तो ठाउँमा आएर त्यस्तो कल्पनामा रमाउनु पनि राम्रै कुरो हो । तिमी आफँै पनि भावुक जस्ता छौ । 

कर्ण ः कतिले मलाई भावुक पनि भन्छन् । तिमीले पनि त्यस्तै कुरा ग¥यौ । म देख्दैमा भावुक जस्तो लाग्छु ?

द्रौपदी ः त्यस्तै लाग्छौ । भावुकता पनि मानिसको व्यक्तित्वको एउटा पक्ष हो । 

कर्ण ः कस्तो राम्रो कुरो ग¥यौ । त्यसो हो भने त म अझै भावुक बन्ने प्रयत्न गर्छु । 

द्रौपदी ः मलाई लाग्छ भावुकता जन्मसिद्ध कुरो हो । यो स्वाभाविक पनि हो । यसको पनि सीमा हुन्छ । बढी भावुक बन्न खोज्यो भने त्यसको स्वाभाविक महìव रहँदैन । त्यो बनावटी हुन्छ । बनावटी स्वभावको विकासले मानिस ढोँगी बन्छ ।      

कर्ण ः मान्छे विचार, स्वभाव र व्यवहारमा बनावटी देखिनु राम्रो कुरो होइन । म तिम्रो सुन्दर विचारको सम्मान गर्छु । 

      (मौनता)

द्रौपदी ः (कर्णतिर हेरेर) निकै खुसीमा छौ जस्तो छ । 

कर्ण ः हो, म अनुपम खुसीमा छु । त्यसका कारण यस ठाउँमा तिम्रो उपस्थिति र तिमीसँगको साक्षात्कार नै हो । तिम्रो उपस्थितिले यो ठाउँ नै शोभायमान बनेको छ । म त जीवनकै एउटा हर्षित क्षणमा छु ।   

द्रौपदी ः मेरो उपस्थितिका कारण त्यस्तो हुन सक्छ ?  

कर्ण ः हुन सक्छ । मानिसको जाज्वल्यमान सुन्दरताले कसलाई प्रभावित गर्दैन र ?  

द्रौपदी ः तर म आफूलाई त्यस्तो ठान्दिनँ । 

कर्ण ः तिमीले नठान्नु तिम्रो महानता हो तर अरूले ठान्न सक्छन् । म त यति धेरै पुलकित बनेको छु कि आफैँ चकित परेको छु । 

द्रौपदी ः त्यो पनि एकखालको उन्माद हो ।   

कर्ण ः ठिक भन्यौ, त्यो पनि हुन सक्छ । खुसीको उन्माद ! 

(दुवै एकअर्कालाई हेरेर हाँस्छन्)   

द्रौपदी ः (कर्णसँग आँखा जुधाएर) तिमी त यतिबेला युद्धमा हिँडेका धनुर्धर जस्ता देखिएका छौ । 

कर्ण ः धनुषबाण बोकेको देखेपछि जोसुकैले त्यस्तो अनुमान गर्नु स्वाभाविक हो । म धनुर्धर त हुँदै हुँ तर यतिबेला युद्ध लड्ने विचार चाहिँ छैन । 

द्रौपदी ः तर यो उद्यानमा धनुषबाणको के प्रयोजन ? 

कर्ण ः  उद्यानभित्र धनुषबाणको कुनै प्रयोजन छैन । म धनुर्विद्यामा छु । प्रशिक्षणकै सिलसिलामा छु । त्यसैले धनुषबाण बोकेर हिँड्ने गरेको छु ।

द्रौपदी ः मलाई खुसी लाग्यो । त्यो धनुषबाण सधैँ बोकेर हिँड्दा राम्रो ।

कर्ण ः किन र ? 

द्रौपदी ः मलाई धनुषबाण मनपर्ने अस्त्र हो । 

कर्ण ः तिम्रो कुरो सुनेर मलाई पनि खुसी लाग्यो ।  

द्रौपदी ः कुरो त्यति मात्र होइन । तिम्रो शारीरिक व्यक्तित्वलाई धनुषबाणले अझै बढाएको छ ।

कर्ण ः कसरी ? 

द्रौपदी ः धनुषबाणले वीरपुरुषको व्यक्तित्व झल्काएको छ । 

कर्ण ः  तिम्रो यस अभिव्यक्तिबाट मेरो मन ज्यादै प्रसन्न भएको छ ।  

द्रौपदी ः यति सानो कुरोमै तिम्रो मन प्रसन्न भयो ? 

कर्ण ः तिमीले जे भन्यौ त्यो मेरो लागि ठुलो कुरो हो । अत्यन्तै प्रसन्नताको कुरो हो ।

द्रौपदी ः यस्तो सानो कुरोमा पनि प्रसन्न हुने कस्तो मन !

(दुवै एकअर्कालाई हेरेर मुसुक्क हाँस्छन्् ।)    

कर्ण ः  म सौन्दर्यको पारखी होइन, अनुभूत मात्र गर्ने मानिस हुँ । पारखीहरूले त्यसै सौन्दर्यको महिमा गाएका होइन रहेछन् । 

द्रौपदी ः अनुभूति त सबैको उस्तै उस्तै हुन सक्छ । महिमा गाउन जान्नु र नजान्नु चाहिँ फरक होला । कुनै पनि सौन्दर्यको महिमा गाउन जान्नु पनि एउटा कला हो । 

कर्ण ः मलाई पनि सौन्दर्यको महिमा गाउन मन त लाग्छ तर मेरो महिमा त्यति कलापूर्ण हुँदैन । 

द्रौपदी ः सौन्दर्य त निर्जीव–सजीव सबै कुरामा हुन सक्छ । कस्तो सौन्दर्यको महिमा ?

कर्ण ः गाउनेहरूले प्राकृतिक सौन्दर्यकै महिमा गाएका छन् । मलाई चाहिँ मानिसकै सुन्दरताको महिमा बढी मन पर्छ । 

द्रौपदी ः आआफ्नो रुचि हो । मेरो रुचि प्रकृतिको सुन्दरतामा छ ।

कर्ण ः मानिसको सुन्दरतामा छैन ? 

द्रौपदी ः छ तर मानिसको सुन्दरता त्यति सजिलै विश्वसनीय लाग्दैन । 

कर्ण ः किन होला ? 

द्रौपदी ः मानिसको सुन्दरतालाई चिन्नै गाह«ो हुन्छ । आज एउटा, भोलि अर्कै । 

कर्ण ः परिवर्तन त प्राकृतिक सौन्दर्यमा पनि हुन सक्छ । 

द्रौपदी ः तर मानिसमा जस्तो हुँदैन ।

(केहीबेर दुवै मौन रहन्छन् ।)    

कर्ण ः यस विराट् उद्यानमा तिमीसँग भेट भएकोमा साह«ै खुसी लाग्यो । 

द्रौपदी ः मलाई पनि खुसी लाग्यो । यो विराट् उद्यानको प्रशंसा धेरैले गर्ने गरेका छन् । म पनि यसको प्रशंसक हुँ । वास्तवमै सुन्दर छ यो उद्यान । त्यसैले बेला बेलामा आउन मन लाग्छ ।  

(दुवै सँगसँगै हिँड्दै कुरा गर्छन् ।) 

कर्ण ः तिमीलाई एउटा कुरो थाहा छ, द्रौपदी ? 

द्रौपदी ः के ? 

कर्ण ः यहाँ पहिलो पटक आउने मान्छे रमाएर फर्किन्छ । त्यसपछि ऊ बारम्बार आइरहन्छ ।  

द्रौपदी ः म पनि त्यस्तै हुँ, कर्ण । पहिलो पटक एकदमै रमाएँ । त्यसपछि आइरहने गरेकी छु । हाम्रो पाञ्चालमा पनि एउटा पुष्पवाटिका छ, जुन सुन्दर मात्र छैन विशाल पनि छ । 

कर्ण ः (आश्चर्यभावमा) तिम्रो पाञ्चालमा पुष्पवाटिका ? ए ! हो हो, मैले थाहा पाएँ । बल्ल थाहा पाएँ मैले । 

द्रौपदी ः के थाहा पायौ ? 

कर्ण ः (हडबडाएर) त्यही क्या, पाञ्चालको पुष्पवाटिका । त्यसको चर्चा मैले पनि सुनेको छु । त्यो पुष्पवाटिका यो उद्यानभन्दा ठुलो छ हगि ? 

द्रौपदी ः ठुलो त छैन तर साह«ै सुन्दर छ । 

कर्ण ः म पाञ्चालदेश गएको बेला त्यहाँको पुष्पवाटिकाको अवलोकन गर्ने अवसर चाहिँ मिलेन । 

द्रौपदी ः मानिसहरू भन्छन् पाञ्चाल पुष्पवाटिकाको अवलोकन नगरी पाञ्चालदेशको भ्रमण पूर्ण हुँदैन । 

कर्ण ः त्यसो हो भने पाञ्चालदेशको मेरो भ्रमण अबको पटक पूर्ण हुने छ । 

द्रौपदी ः हुन्छ नि, पाञ्चाल पुष्पवाटिकामा म तिमीलाई स्वागत गरौँला । 

कर्ण ः त्यस्तो पर्दैन । म स्वागत–सत्कारको अपेक्षा गर्दिनँ । मलाई त्यस्तो गर्नु आवश्यक पनि छैन । अनावश्यक औपचारिकता मलाई मन पनि पर्दैन ।  

द्रौपदी ः तर हाम्रो प्रचलन र परम्परा सधैँभरि औपचारिकतामा आधारित छ । हामी त्यसको उल्लङ्घन गर्न असमर्थ छौँ । पाञ्चालदेशमा स्वागत–सत्कारबिना कुनै राजकुमारको आगमन हुँदैन ।  

कर्ण ः (आश्चर्यभावमा) राजकुमार ?

द्रौपदी ः (हाँसेर) अनि के त ? 

कर्ण ः (के बोलौँ, के भनौँ, अलमलमा) म.... म.... राजकुमार ? म... म....। 

(कर्ण छटपटाएर केही भन्न खोज्दै हुन्छन् तर द्रौपदी कर्णको कुरै नसुनी प्रणय–मुस्कानसहित उद्यानको प्रवेशद्वारबाट बाहिर निस्किन्छिन् । कर्ण जिल्ल परेर उभिइरहन्छन् । बिस्तारै अँध्यारो हुन्छ ।)