• ८ मंसिर २०८१, शनिबार

सूचनाको हक सबैको

blog

देशको सङ्घीय राजधानीको छेउको जिल्ला भक्तपुरको मध्यपुर ठिमीमा बुधबार आयोजित एक कार्यक्रममा उपस्थित एकजना जनप्रतिनिधिका अनुसार सूचनाको हक पत्रकारको हो भन्ने अहिलेसम्म उहाँको बुझाइ थियो । सूचनाको हकसम्बन्धी ऐन जारी भएको डेढ दशकपछि बल्ल उहाँले थाहा पाउनुभयो, यो हक त आमनागरिकले पनि उपयोग गर्न पाउने मौलिक हक रहेछ जसको प्रत्याभूति नेपालको संविधानले गरेको छ । वास्तवमा माथि चर्चा गरिएको जनप्रतिनिधि त एक उदाहरण मात्र हुनुहुन्छ । खोज्दै गए यस्ता उदाहरण अनेकन् पाउन सकिन्छ । 

नेपालमा सूचनाको हक र यससम्बन्धी कानुन पत्रकार मात्रको हो भन्ने भ्रमपूर्ण बुझाइ विकसित भएको पाइन्छ । जो कुनै न कुनै रूपमा अहिलेसम्म विद्यमान छ । कहाँसम्म भने शैक्षिक रूपमा सबैभन्दा सशक्त मानिएको नेपालको कर्मचारीतन्त्रमा पनि केही हदसम्म यो भ्रम विद्यमान छ भन्दा अतिशयोक्ति हुँदैन । यो नागरिकको मौलिक अधिकार हो भन्ने यथार्थ धारणाको प्रसार नै हुन सकेन । यो कुनै एक वर्ग वा वा पक्षको अधिकार होइन यो सबै नेपालीको अधिकार हो भन्ने कुराको व्यापक बुझाइ अनिवार्य छ । 

विश्वमा सूचनाको हकको अभियानको अध्ययन गर्ने हो भने यसको पक्षमा अभियान सञ्चालन गर्ने नेतृत्वमा विविध समूहको उपस्थिति पाउन सकिन्छ । जुन देशमा जुन समूहले यस अभियानको नेतृत्व ग¥यो त्यहाँ धेरै समयसम्म यो हक त्यही वर्गको हो भन्ने बुझाइ स्थापित भइरह्यो । भारतमा प्रारम्भमा यस अभियानको नेतृत्व राजस्थानको मजदुर किसान शक्ति सङ्गठनले गरेको पाइन्छ । यस आधारमा त्यहाँ धेरै समयसम्म यो हक मजदुर र किसानको हो भन्ने मान्यता कायम रहिरह्यो । यस्तै अवस्था अन्य देशका सम्बन्धमा पनि छ । नेपालमा भने यो हकको पक्षमा यहाँका पत्रकारले अभियानको नेतृत्व गरेको पाइन्छ । नेपालको संविधान २०४७ को धारा १६ मा पहिलो पटक यो हकको व्यवस्था गरिएपछिका दिनमा कानुन निर्माणका लागि यहाँका पत्रकारले निरन्तर आवाज उठाएका हुन् ।

नेपाली पत्रकारले कम्तीमा २०५६ देखि यस हकको कार्यान्वयनका लागि कानुन निर्माणको पहल गरेका हुन् । पत्रकार महासङ्घ र नेपाल प्रेस इन्स्टिच्युटले ०५७÷५८ तिर सूचनाको हकसम्बन्धी कानुनको मस्यौदा तयार गरेको हो । प्रारम्भमा यो हकसम्बन्धी कानुन गैरसरकारी विधेयकका रूपमा संसद्मा पेस भएको थियो तर त्यसपछिको शाही शासन र अस्थिर राजनीतिका कारण यस विधेयकले महìव पाउन सकेन । ०६२÷६३ को जनआन्दोलन सफल भएपछि जारी नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ मा यो हकको व्यवस्था भयो र २०६४ मा सूचनाको हकसम्बन्धी ऐन संसद्बाट जारी भयो । नेपालमा सूचनाको हकको यही पृष्ठभूमिका आधारमा यो हक पत्रकार हो भन्ने बुझाइ विकसित हुन पुग्यो, जो पूर्णतः गलत हो । जनमानसमा यो बुझाइ कायम रहेसम्म सूचनाको हकको पूर्ण कार्यान्वयनका सन्दर्भमा प्रश्न उठिरहन्छन् । यस्तोमा यो भ्रमको निवारण आवश्यक छ र यसको पहल स्वयं पत्रकारबाट हुनु अपेक्षित छ ।  

सूचनाको हक आजको विश्वमा क्रमशः अपरिहार्य सिद्ध भइरहेको छ । एउटा जमाना थियो जब विश्वका सरकारहरू आमजनतालाई सुसूचित गर्न चाहँदैनथे र यो हक स्थापित गर्न÷गराउन अरुचि देखाउँथे तर आजको विश्वमा अवस्थामा परिवर्तन आएको छ । सूचना अर्थात् थाहा पाउने हकलाई कुनै पनि सरकारले ठाडै अस्वीकार गर्न सक्ने अवस्था छैन । कसैले अस्वीकार गर्छ भने, बुझ्नुपर्छ त्यो सरकार लोकतान्त्रिक होइन । ज्ञातव्य छ, यो हक जनतालाई औपचारिक रूपमा प्रदान गर्ने कुराको प्रारम्भ सन् १७६६ मा स्विडेनबाट भएको थियो ।

त्यसपछिको दुई सय वर्षसम्म यस हकको खासै विकास हुन सकेन । सन् १९६० सम्म यो हक स्वीडेन र फिनल्यान्डमा मात्र प्रचलनमा थियो भने सन् १९६६ मा अमेरिकामा यससम्बन्धी अधिकारको व्यवस्था भएको इतिहास साक्षी छ । विकासक्रमको अध्ययन गर्ने हो भने सन् १९९० पछि मात्र यस हकको प्रसारले अपेक्षित गति पाउन सकेको देखिन्छ । सन् १९९० सम्म यो हकसम्बन्धी कानुन विश्वका १४ देशमा मात्र थियो भने सन २००० सम्म यो सङ्ख्या बढेर ४० पुग्यो । यसबाट स्पष्ट हुन्छ सन् ९० पछि सूचनाको हकसम्बन्धी मान्यताले गति पाएको छ । त्यसको कारण के हो भने यसपछि मात्र यसलाई लोकतन्त्रसँग स्पष्ट रूपले जोडेर हेर्न थालिएको हो । स्मरणीय छ, १९९० को दशकलाई विश्वमा लोकतान्त्रिक आन्दोलनको दशकका रूपमा बुझ्ने गरिएको छ । 

नेपालको सन्दर्भ पनि विश्लेषण गर्ने हो भने सायद १९९० कै विश्वव्यापी लोकतान्त्रिक आन्दोलनको प्रभाव हो, नेपालमा पनि लोकतान्त्रिक आन्दोलन सफल भयो र २०४७ को संविधानमा पहिलो पटक सूचनाको हकको अधिकार संस्थागत गरियो र त्यसपछिका प्रत्येक संविधानमा यो हकले निरन्तरता पायो । प्रश्न उठ्न सक्ला यो हक किन महìवपूर्ण छ ? उत्तर सोझो छ, सूचनाको हकले पारदर्शिता, सुशासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र जवाफदेही शासन प्रणाली कायम गर्ने विश्वास गरिन्छ । विद्वान्हरूले यसलाई प्रश्न सोध्ने अधिकारका रूपमा पनि व्याख्या गरेका छन् । यस हकको प्रयोग गरेर प्रत्येक नागरिकले सार्वजनिक निकायद्वारा सम्पादन हुने कुनै पनि काम कारबाही, निर्णय तथा सोसम्बन्धी प्रक्रियाका बारेमा प्रश्न सोध्न सक्छन् र आफूलाई आवश्यक परेको सूचना माग्ने तथा पाउने अधिकार राख्दछन् तर स्वाभाविक रूपले एउटा प्रश्न उठ्ने गर्दछ, के संविधान र कानुनले प्रत्याभूत गर्दैमा यस हकको प्रभावकारी कार्यान्वयन हुन सकेको छ त ? निश्चय पनि यसको उत्तर सन्तोषजनक छैन । 

ऐन जारी भइसकेपछिका दिनमा पत्रकार महासङ्घले यसको कार्यान्वयनका पक्षमा महìवपूर्ण भूमिका निर्वाह गरेको स्मरणीय छ । सूचनाको हकसम्बन्धी नियमावली २०६५ को निर्माण र यसको जारी गर्ने सन्दर्भमा पनि महासङ्घको भूमिका निकै महìवपूर्ण छ । यस हकलाई आमजनतासम्म पु¥याउन प्रचार प्रसारका दृष्टिले महासङ्घका शाखाहरूले पनि सशक्त भूमिका निर्वाह गरेको सत्य हो । यति हुँदाहुँदै पनि यो हकको कार्यान्वयन र जनताबीच स्थापित हुने सन्दर्भमा अनेक समस्या छन् । पछिल्ला दिनमा पत्रकार महासङ्घ, जसले यस ऐनको उठान गरेको हो, ले पनि यसलाई अभियानका रूपमा सञ्चालन गर्न सकेको छैन ।

यसको मूल कारण आर्थिक हो भनेर बुझ्दा फरक पर्दैन । अन्य कामका लागि अर्थको जोहो गर्न सक्ने गैरसरकारी सङ्घ संस्थाको प्राथमिकतामा यो हकको प्रचार प्रसार र कार्यान्वयनको कुरो नपर्नु भने उदेकलाग्दो छ । यसको सोझो अर्थ लगाउन सकिन्छ यस्ता सङ्घसंंस्था, जो कानुनअनुसार सार्वजनिक निकाय हुन्, आफूहरूले पनि सूचनाको खुलासा गर्नुपर्ने संशयको उपस्थितिमा यो हकको कार्यान्वयनमाथि निश्चय पनि प्रश्न उठ्छ । यस अवस्थामा सुधार ल्याउनु जरुरी छ । जबसम्म यस स्थितिमा सुधार आउँदैन सूचनाको हकको इमानदार कार्यान्वयनमाथि प्रश्न उठिरहन्छ ।

Author

धर्मेन्द्र झा