- नेपालका सार्वजनिक संस्थान नेपाली अर्थतन्त्रको मुख्य आधार हुन् । सार्वजनिक संस्थानले आवश्यक वस्तु र सेवाको उत्पादन र आपूर्ति गर्छन् । सार्वजनिक संस्थानले पूर्वाधार विकास गर्छन् ।
- अहिले लगभग ४४ सार्वजनिक संस्थान छन्, जसमा ४२ संस्थान सक्रिय रूपमा काम गरिरहेका छन् । सार्वजनिक संस्थानहरू औद्योगिक, व्यापारिक, सेवामूलक, सामाजिक, जनउपयोगी र वित्तीय गरी छ प्रकारका छन् ।
- नेपाल सरकारले अपनाएको हरित, उत्थानशील, समावेशी विकास रणनीति सफल गर्न सार्वजनिक संस्थानले नेतृत्व गर्छन् ।
सभ्यताको विकाससँगै वातावरणीय चुनौती हरेक दिन थप जटिल हुँदै छ । आजको युगमा जलवायु परिवर्तन, स्रोतसाधनको दोहन र वातावरणीय प्रदूषणले आर्थिक, सामाजिक र संस्थागत स्थायित्वमा गम्भीर प्रश्न उठाइरहेछन् । दिगो विकास र हरित अर्थतन्त्रको विचार अब विश्वभरि फैलिँदै छ । नेपालका सार्वजनिक संस्थान नेपाली अर्थतन्त्रको मुख्य आधार हुन् । सार्वजनिक संस्थानले आवश्यक वस्तु र सेवाको उत्पादन र आपूर्ति गर्छन् । सार्वजनिक संस्थानले पूर्वाधार विकास गर्छन् । सामाजिक न्याय कायम राख्छन् । सार्वजनिक संस्थान पुरानो सोचमा चल्दा वातावरणमा नकारात्मक असर पर्छ । संस्थान कमजोर कार्यकुशलता देखाउँछन्, त्यसैले त प्रतिफल घट्दै छ । यी चुनौतीलाई समाधान गर्न व्यवस्थापन रणनीतिमा ठुलो परिवर्तन चाहिन्छ । परिवर्तनको नयाँ रूप हरित मानव संसाधन व्यवस्थापन हो । हरित मानव संसाधन व्यवस्थापनले भर्ना, छनोट, प्रशिक्षण, मूल्याङ्कन, पुरस्कार जस्ता परम्परागत कार्यमा वातावरणीय दिगोपनका सिद्धान्त जोड्छ । कर्मचारीलाई वातावरणमैत्री व्यवहार गर्न प्रोत्साहन गर्नु, संस्थाको वातावरणीय प्रदर्शन सुधार गर्नु र दिगो संस्थागत संस्कृति निर्माण गर्नु पर्छ ।
संस्थान व्यवस्थापन र सुशासन नीति, २०८२ ले संस्थानलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्य राख्छ । लक्ष्य हासिल गर्न, संस्थागत रणनीतिमा वातावरणीय दिगोपनलाई समावेश गर्न हरित मानव संसाधन व्यवस्थापन आवश्यक उपकरण हो । हरित मानव संसाधन व्यवस्थापनले मानव संसाधन व्यवस्थापनको भूमिकालाई कर्मचारीको व्यवस्थापनभन्दा माथि उठाएर संस्थाको वातावरणीय मुद्दालाई सक्रिय रूपमा समर्थन गर्न प्रेरित गर्छ । हरित मानव संसाधन व्यवस्थापन भन्नाले मानव संसाधन नीति, अभ्यास, प्रणालीमा हरित अभ्यासलाई योजना अनुसार जोड्नु हो । हरित मानव संसाधन व्यवस्थापनले संस्था र कर्मचारीलाई हरियाली अभ्यास अपनाउन प्रेरित गर्छ । हरित मानव संसाधन व्यवस्थापनको परिणाम स्वरूप स्रोतको प्रयोग घट्छ, फोहोर कम हुन्छ र प्रदूषण घट्छ । हरित मानव संसाधन व्यवस्थापनका मुख्य पक्ष निम्न छन् :
वातावरणीय ज्ञान र चासो भएका व्यक्तिको भर्ना र छनोट गर्नु । प्रयोगका रूपमा भर्ना र छनोट गर्दा वातावरणीय व्यवस्थापन वा दिगोपन विषय पढेका उम्मेदवारलाई प्राथमिकता दिनु । कर्मचारीलाई ऊर्जा बचत, फोहोर व्यवस्थापन र वातावरणीय नियमको पालनाबारे प्रशिक्षण दिनु । प्रयोगका रूपमा नेपाल आयल निगमका कर्मचारीलाई इन्धन चुहावट नियन्त्रणबारे र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई ऊर्जा दक्षता तालिम प्रदान गर्नु । कर्मचारीको वातावरणीय कार्यसम्पादनलाई मूल्याङ्कन प्रणालीको अङ्ग बनाउनु । ऊर्जा बचत गर्ने वा दिगो परियोजनाको नेतृत्व गर्ने कर्मचारीलाई ‘ग्रिन बोनस’ दिने । संस्थाभित्र वातावरणीय सचेतना र जिम्मेवारीको संस्कृति निर्माण गर्नु । प्रयोगका रूपमा कर्मचारीलाई हरित समिति गठन गर्न र वृक्षरोपण जस्ता कार्यक्रममा सहभागी बनाउने हो भने सार्वजनिक संस्थानले लक्ष्य हासिल गर्छन् ।
हरित मानव संसाधन व्यवस्थापन किन ?
अहिले लगभग ४४ सार्वजनिक संस्थान छन्, जसमा ४२ संस्थान सक्रिय रूपमा काम गरिरहेका छन् । सार्वजनिक संस्थानहरू औद्योगिक, व्यापारिक, सेवामूलक, सामाजिक, जनउपयोगी र वित्तीय गरी छ प्रकारका छन् । नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, कृषि सामग्री कम्पनी लिमिटेड जस्ता संस्थान अर्थतन्त्रमा प्रमुख भूमिका निभाउँछन् । नेपाली सार्वजनिक संस्थान कमजोर व्यावसायिकता र प्रतिस्पर्धात्मक क्षमताको कमीका कारण गर्दा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैनन् । राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय स्वतन्त्रताका अभावले संस्थानको दैनिक काममा सरकारी हस्तक्षेप देखिन्छ । कर्मचारी व्यवस्थापनको कमजोरीका कारण समयानुकूल सिप विकास र प्रविधिमैत्री र सहभागितामूलक व्यवस्थापनको अभाव छ ।
नेपाल सरकारले अपनाएको हरित, उत्थानशील, समावेशी विकास रणनीति सफल गर्न सार्वजनिक संस्थानले नेतृत्व गर्छन् । हरित मानव संसाधन व्यवस्थापनले हरित, उत्थानशील, समावेशी विकास रणनीति कर्मचारी तहसम्म पु¥याउँछ । यसले दिगो विकास लक्ष्यको प्राप्तिमा मद्दत पुग्छ । वातावरण नीतिको कार्यान्वयन गर्न राष्ट्रिय वातावरण नीति २०७६ जस्ता नीतिले फोहोरको व्यवस्थापन, प्रदूषण नियन्त्रण र (३ आर) घटाउने, पुनः प्रयोग गर्ने, रिसाइकल गर्ने अभ्यासलाई समेट्छ । मानव संसाधनको व्यवहार परिवर्तनले यी अभ्यासलाई संस्थागत बनाउँछ । कम प्रतिफलको चुनौती सामना गर्ने संस्थानका लागि ऊर्जा प्रयोग र फोहोर उत्पादन घटाउने हरित अभ्यासले सञ्चालन लागत घटाउँछ र वित्तीय प्रदर्शन सुधारी दक्षता अभिवृद्धि गर्छ । बढ्दो नागरिक सचेतनाले सार्वजनिक संस्थानलाई वातावरणीय रूपमा उत्तरदायी हुन दबाब पु¥याउँछ ।
हरित मानव संसाधन व्यवस्थापनले संस्थानको सार्वजनिक छवि सुधारमा योगदान दिन्छ । आजका युवा जनशक्ति वातावरणमैत्री संस्थामा काम गर्न मनपराउँछन् । हरित मानव संसाधन व्यवस्थापनले उत्कृष्ट प्रतिभालाई आकर्षित गर्न बल पुग्छ ।
हरित मानव संसाधन व्यवस्थापनलाई संस्थानमा लागु गर्न मानव संसाधनका प्रत्येक कार्य क्षेत्रलाई हरियाली बनाउनु पर्छ । सार्वजनिक संस्थानले आफ्ना जागिरका विवरणमा वातावरणीय जिम्मेवारी समावेश गर्नु पर्छ । हरित कार्य विवरण अन्तर्गत व्यवस्थापकदेखि तल्लोस्तरका सबै कर्मचारीले ऊर्जा र स्रोतको सही प्रयोग, फोहोरको छुट्याउने, र वातावरणीय मापदण्डको पालना गर्ने जिम्मा लिन्छन् । उदाहरणका लागि, इन्जिनियरिङ सेवाका कर्मचारीको कार्य विवरणमा वातावरणीय प्रभाव मूल्याङ्कनको सिद्धान्त पालना गर्नु अनिवार्य छ । कर्मचारी छनोटका क्रममा वातावरणीय चेतना, दिगोपनप्रति प्रतिबद्धता र हरित प्रविधिसम्बन्धी ज्ञानलाई प्राथमिकता दिइनु पर्छ ।
जलविद्युत् विकास संस्थानका कर्मचारीलाई जलचर र वनजङ्गल संरक्षणको तालिम दिन सकिन्छ । हरित कार्यसम्पादन व्यवस्थापनले कर्मचारीलाई हरित अभ्यासमा संलग्न गराउन, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा वातावरणीय लक्ष्य जोड्नु पर्छ । संस्थागत वातावरणीय लक्ष्य (उदाहरणका लागि : कागजको प्रयोग २० प्रतिशतले घटाउने) लाई विभाग र व्यक्तिगत तहका कार्यसम्पादन लक्ष्यसँग जोड्नु पर्छ ।
कार्यान्वयनका चुनौती
नेपालका सार्वजनिक संस्थानमा हरित मानव संसाधन व्यवस्थापन लागु गर्न धेरै संरचनागत र व्यावहारिक चुनौती छन् । मुख्य समस्या राजनीति र प्रशासनको इच्छाशक्ति नहुनु हो । राजनीतिक हस्तक्षेप र पुरानो सोचले सार्वजनिक संस्थानलाई नयाँ हरित रणनीति लागु गर्न गाह्रो बनाउँछ । स्रोतको अभाव र बजेटको सीमितताले विशेष गरी घाटामा चलिरहेका संस्थानका लागि हरित मानव संसाधन व्यवस्थापनका लागि आवश्यक पर्ने नयाँ तालिम, प्रविधि र पूर्वाधारमा लगानीका लागि बजेट छुट्याउनु चुनौती हुन्छ । लामो समयदेखि एउटै तरिकाले काम गर्ने कर्मचारीलाई नयाँ वातावरणीय जिम्मेवारी लिन र काम गर्ने तरिका बदल्न गाह्रो हुने हँुदा कर्चारीबाट विरोध आउन सक्छ । हरित अभ्यासको प्रभाव नाप्न स्पष्ट संयन्त्रको अभाव छ । कार्यसम्पादन सूचकसँग प्रभाव जोड्न पनि संयन्त्र छैन ।
हरित मानव संसाधन व्यवस्थापनलाई संस्थाको मुख्य रणनीति बनाउनु पर्छ । सञ्चालक समिति र कार्यकारी प्रमुखले हरित मानव संसाधन व्यवस्थापन लागु गर्न पूर्ण प्रतिबद्धता देखाउनु पर्छ । अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोगले मिलेर हरित मानव संसाधन व्यवस्थापन तालिम मोडल अनिवार्य रूपमा बनाई मानव संसाधन क्षमता विकासमा लगानी गर्नु पर्छ । नीतिगत सुधार अन्तर्गत सार्वजनिक संस्थानको व्यवस्थापन र सुशासन नीति, २०८२ मा वातावरणीय र सामाजिक उत्तरदायित्वलाई स्पष्ट रूपमा मानव संसाधन व्यवस्थापनको अनिवार्य भाग बनाउनु पर्छ । सार्वजनिक–निजी साझेदारी पालना गर्न हरित प्रविधि र उत्कृष्ट अभ्यास सिक्न निजी क्षेत्र वा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य जरुरी छ ।
दिगो भविष्यका लागि नेतृत्व
हरित मानव संसाधन व्यवस्थापन अहिलेको विश्व परिवेश र प्रतिस्पर्धात्मक युगमा नेपालका सार्वजनिक संस्थानका लागि विकल्प मात्र होइन, अनिवार्य रणनीति हो । सार्वजनिक संस्थानलाई दिगो, कुशल, वातावरणीय उत्तरदायी बनाउने लक्ष्यले हरित मानव संसाधन व्यवस्थापनले मानव संसाधनका सबै पक्षलाई हरियालीकरण गर्छ । यसले संस्थागत संस्कृतिमा परिवर्तन ल्याउँछ । नेपाल सरकारले लगानी गरेको संस्थानलाई अर्थतन्त्रको मेरुदण्ड बनाउने लक्ष्य प्राप्त गर्नु छ भने परम्परागत कर्मचारी व्यवस्थापनलाई छोडी हरित मानव संसाधन व्यवस्थापनमा लगानी गर्नु पर्छ ।