- लामो समय सत्तामा बसेर पनि जनभावना अनुसार काम गर्न नसक्दाको परिणाम जेनजी आन्दोलन हो । उक्त आन्दोलनको म्यान्डेट अनुसार अघि बढ्नु समयको पनि माग हो ।
- आजको आवश्यकता फागुन २१ गते हुने निर्वाचन सफल बनाउन सबै दलको ध्यान जानु पर्छ । व्यक्ति को उठ्ने भन्ने भन्दा पार्टीले नयाँ नीति र जनताले विश्वास गर्न सक्ने नेतृत्वसहित निर्वाचनमा जानु पर्छ । सीमित व्यक्तिको राजनीतिक भविष्य जोगाउन पार्टी र मुलुकलाई अस्थिर बनाउने छुट अब कुनै दलविशेषलाई छैन ।
- पहिलो मुलुक हो, अनि मात्र पार्टी र व्यक्ति । मुलुक शान्त र स्थिर बनाउन सके व्यक्तिको पालो भोलि पनि आउने छ ।
नेपाली कांग्रेस १५ औँ महाधिवेशनको सँघारमा छ । चारबर्से कार्यकाल यही मङ्सिर मसान्तमा समाप्त हुँदै छ । पार्टीभित्र भने महाधिवेशन मङ्सिरमा गर्ने कि निर्वाचनपछि भन्ने बहस लामो समयदेखि चलिरहेको छ । यही विषयमा सुरु भएको केन्द्रीय समिति बैठक लामो समयदेखि अनिर्णयको बन्दी भएको छ । कात्तिक १८ गतेको बैठकमा महामन्त्री गगन थापाले आमनिर्वाचनभन्दा पहिले यही मङ्सिरदेखि सुरु गरेर पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्नुभएको छ भने संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनपछि २०८३ साल वैशाख २७ देखि ३० गते महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्नुभएको छ । जबकि कांग्रेसमा कार्यतालिका महामन्त्रीबाटै प्रस्तुत गर्ने परम्परा छ । आमनिर्वाचनअघि महाधिवेशन गर्दा जेनजी आन्दोलनको भावना अनुसार नेपाली कांग्रेसले सुधारिएका कार्यक्रम बनाएर जनभावनाबमोजिम आमनिर्वाचनमा जाँदा मतदाताको मन र मत दुवै जित्न सक्ने आकलन गरिएको छ । समयको माग पनि यही नै हो । मुलुक नै राष्ट्रिय सङ्क्रमणको अवस्थाबाटै गुज्रिएको अवस्थामा जिम्मेवार लोकतान्त्रिक पार्टीले यति सानो विषयमा विवाद गरिरहनु उचित हुँदैन ।
माओवादीसहित १० वटा कम्युनिस्टका घटक मिलेर अघि बढिरहेको समयमा कांग्रेसले फुटेर होइन जुटेर समयमै महाधिवेशन सम्पन्न गर्नु पार्टीका इमानदार कार्यकर्ता मात्र होइन आमजनताको हितमा हुने छ । केन्द्रीय समितिको म्याद थपेर महाधिवेशन सार्ने काम भयो भने त्यसले पार्टीको भविष्य अन्धकार हुने आमविश्लेषण छ ।
२००७ सालदेखि अहिलेसम्म मुलुकको ऐतिहासिक र अप्ठेरो अवस्थामा पनि मुलुकको नेतृत्व गर्दै आएको कांग्रेसले एकताका साथ एउटै कार्यतालिका बनाएर समयमै महाधिवेशन सम्पन्न गरी विद्यमान सङ्कटबाट नेपाललाई निकास दिनै पर्छ ।
संस्थापन पक्षको सोच र शैलीको छनक पाएर समयमै महाधिवेशन गराउन दबाब दिने उद्देश्यले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित असोजको अन्तिम साता केन्द्रीय कार्यालयमा नियमित महाविधेशन तोकिएको समयमा नगरिए विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता गरिएको छ । कांग्रेसको विधान अनुसार ४० प्रतिशतले हस्ताक्षर गरेर निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने छ । ५० प्रतिशतभन्दा महाधिवेशन प्रतिनिधिले निवेदन दर्ता गराइसकेकाले यो कानुनी दस्ताबेजलाई विधानतः टार्न सक्ने अवस्था छैन । २०१४ सालमा विशेष महाधिवेशनबाट सुवर्णशमशेर राणालाई विस्थापित गरेर बिपी कोइराला सभापति बनेको उदाहरण जगजाहेर छ । विधानको अकाट्य व्यवस्था र विगतको अभ्यासले पनि यो मागलाई नकार्न मिल्दैन ।
जेनजी आन्दोलनले दिएको म्यान्डेट अनुसार बनेको अन्तरिम सरकार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवालासँग संवादमा जुटिरहेको छ । सबैले आन्दोलनको औचित्य र यथार्थलाई आत्मसात् गरेर आत्मालोचनासहित निर्वाचनमा होमिनुको विकल्प छैन । यो अवस्था निम्तिनुको प्रमुख कारण पनि दलहरू नै हुन् ।
लामो समय सत्तामा बसेर पनि जनभावना अनुसार काम गर्न नसक्दाको परिणाम जेनजी आन्दोलन हो । उक्त आन्दोलनको म्यान्डेट अनुसार अघि बढ्नु समयको पनि माग हो । झन् नेपालको एक मात्रै लोकतान्त्रिक पार्टी कांग्रेसले समयको पदचाप पछ्याउन सकेन भने त्यसले मुलुककै भविष्य नै अन्योल हुने छ । मेरो गोरुको बाह्रै टक्का भन्ने उखानले अघि बढ्न सकिँदैन । कसले के भने वा भनिरहेका छन् भन्ने विषयभन्दा पनि आमकांग्रेसजनको भावना बुझेर निर्वाचनअघि महाधिवेशन कांग्रेस भविष्यका लागि उत्तम बाटो हो । केही व्यक्तिविशेषको स्वार्थका लागि पार्टीको भविष्य दाउमा लगाउनु हुँदैन । भोलिको पुस्ताले पनि कांग्रेसका नाममा राजनीति गर्ने बाटो प्रशस्त गरिदिन पनि महाधिवेशन गरेर नयाँ नेतृत्व र नीतिसहित निर्वाचनमा जाने हो भने कांग्रेसलाई फाइदा हुने छ । आमनागरिकको चाहना पनि त्यही देखिन्छ । निर्वाचनको पूर्वसन्ध्यामा वादविवाद उपयुक्त होइन ।
अहिलेको बृहत्तर आवश्यकता र दृष्टिकोण अनुसार नेतृत्वको परिभाषा बदलिएको छ । अब विगतमा झैँ आफ्नो स्वार्थमा र सीमित समर्थकको झुन्डको हितमा काम गरेर मात्रै सफल बन्न सकिन्न । युवा आक्रोशले कस्तो परिस्थिति उत्पन्न हुन्छ भन्ने जेनजी विद्रोहले स्पष्ट पारेको छ । यो घट्नाबाट पनि पाठ नसिक्ने हो भने राम रामबाहेक केही भन्न सकिन्न । जेनजी आन्दोलनबाट पाठ सिकेर विगतमा गरेको गल्तीप्रति आत्मालोचना गरी जनताका माझ जान सकिएन भने दण्डको भागी हुने निश्चित छ । जनताको मन जितेर लोकप्रिय बन्न सक्नु पर्छ, गुटको मन जितेर होइन ।
नेपालमा राजनीति गर्ने हरेक व्यक्ति र दलले परिवर्तित सोचका साथ आफ्नो जीवनशैली बदलेर सादा जीवन र उच्च विचार पालना गर्न जरुरी छ । हाल शिक्षामन्त्री रहेका वैज्ञानिक डा. महावीर पुनले सबैको मन जितेर लोकप्रिय बन्न सफल हुनुभएको छ । सबै राजनीतिज्ञ अब त्यही बाटोमा हिँड्नु पर्छ । भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन गर्ने उद्घोषसहित निर्वाचनमा जानु पर्छ । अब पुराना क्रियाकलाप दोहोरिए भने त्यसको गहिरो मूल्य चुकाउनुपर्ने छ । दलीय प्रणालीको विकल्प छैन । फेरि निर्वाचित भएर आउने भनेको दलीय नेतृत्व नै हो । दलले नयाँ नीति र नेतृत्वसहित विगतमा भएका गल्तीको आत्मालोचनासहित निर्वाचन होमिएर जनताको मन र मत जित्ने प्रयास गर्नु पर्छ । सिद्धान्त, नीति र नेतृत्वप्रति चित्त बुझे जनताले जुनसुकै दललाई पनि विजयी गराउन सक्ने छन् ।
आजको आवश्यकता फागुन २१ गते हुने निर्वाचन सफल बनाउन सबै दलको ध्यान जानु पर्छ । व्यक्ति को उठ्ने भन्ने भन्दा पार्टीले नयाँ नीति र जनताले विश्वास गर्न सक्ने नेतृत्वसहित निर्वाचनमा जानु पर्छ । सीमित व्यक्तिको राजनीतिक भविष्य जोगाउन पार्टी र मुलुकलाई अस्थिर बनाउने छुट अब कुनै दलविशेषलाई छैन । पहिलो मुलुक हो, अनि मात्र पार्टी र व्यक्ति । मुलुक शान्त र स्थिर बनाउन सके व्यक्तिको पालो भोलि पनि आउने छ । जुन पार्टी व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि मुलुकलाई राखेर अघि बढ्न सक्छ, निर्वाचनमा उसैको विजय सुनिश्चित छ ।