• २८ फागुन २०८२, बिहिबार

काबेली इनर्जीको एक अर्ब पाँच करोड संस्थापक शेयर खुल्ला

blog

शेयर खुल्ला भएको बारे कम्पनीले गरेको पत्रकार सम्मेलनमा उपस्थित ताप्लेजुङवासी । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, मङ्सिर १४ गते ।
काबेली इनर्जी कम्पनी लिमिटेडले संस्थापक शेयर खुल्ला गरेको छ । कम्पनी लिमिटेडले एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर खुल्ला गरेको हो ।

शुक्रबार फुङलिङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीले शेयर खुल्ला बारे जानकारी गराएको छ । जसमा आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम् १० हजार मूल्य बराबरको शेयर लगाउन पाउनेछन् । ति दुई जिल्ला बाहेक अन्य जिल्लाका नागरिकका लागि न्यूनतम् शेयर मूल्य एक लाख रुपियाँ बराबर कायम गरिएको छ ।

एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर सङ्कलन भएपछि शेयर लगाउन पाउने दिन बन्द हुने काबेली इनर्जी कम्पनी लिमिटेडले जनाएको छ । प्रभावित क्षेत्रका जनताले सहुलियतपूर्ण ढङ्गले शेयरमा लगानी गर्न पाउन भनेर ताप्लेजुङ र पाँचथरका लाभग्राहीका लागि न्यूनतम् शेयर मूल्य १० हजार रुपियाँ कायम गरिएको लिमिटेडले जनाएको छ ।

कम्पनीमार्फत ६२.६० मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा समाहित गरी आय आर्जन गर्ने, बैङ्कको कर्जाको साँवा व्याज भुक्तानी गरी शेयरधनीलाई लाभांश वितरण गर्ने योजना काबेली इनर्जी कम्पनी लिमिटेडले सार्वजनिक गरेको छ ।

निर्माणाधीन यो आयोजना अबको १५ महिना भित्र सक्ने तयारी रहेको छ । पाँचथरको याङवरक गाउँपालिका वडा नं ६ पिपलेमा २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजना निर्माण गरी २०७६ साल कात्तिक २३ गतेदेखि नियमित रुपमा विद्युत उत्पादन भई अमरपुर सव स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी सकिएको छ ।

व्यवसाय विस्तार गर्ने क्रममा काबेली इनर्जी कम्पनी र बुटवल पावर कम्पनी लिमिटेडले यही काबेली नदीमा निर्माण गरिरहेको ३७.६० मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजना निर्माणमा साझेदारी गरी काम गरिरहेको जनाएको छ । उक्त जलविद्युत आयोजनाका लागि कम्पनीले शेयर निष्कासन गरेको हो ।