हाल हाम्रो पृथ्वीको जलवायुमा निरन्तर अकल्पनीय परिवर्तन आइरहेका छन् । यस्ता परिवर्तनले मानव मात्र होइन धराबासी सारा सजीवलाई अस्तित्वको रक्षाका लागि चुनौती दिइरहेका छन् । यस्ता चुनौतीलाई सामना गर्न र मानवलगायत सम्पूर्ण जीवको जीवन सुरक्षाका लागि वातावरण पत्रकारिताको महत्व तथा दायित्व दिनप्रतिदिन बढिरहेको छ ।
पत्रकारितालाई आवाजविहीनको आवाज पनि भनिन्छ । त्यसमा पनि वातावरण पत्रकारिता त झन् आवाज बोली केही नै नभएका वास्तविक आवाजविहीनकै आवाज हो, सहारा हो । वातावरण पत्रकारिताले पानीको भाषा बुझ्नु पर्छ, हावाको आवाज बुझ्नु पर्छ, ढुङ्गासँग बात मार्नु पर्छ, रुख बिरुवा हेर्दैमा उनीहरूको आवश्यकतालाई औँल्याउन सक्नु पर्छ र सम्पूर्ण सजीवको आत्माको कुरा पत्ता लगाउनु पर्छ । निर्जीवहरूको भूत, वर्तमान र भविष्यको भाव अर्थलाई बुझी मानव समुदायमा ल्याउनु पर्ने दायित्व वातावरण पत्रकारको हुन्छ । वातावरण पत्रकारिता र पत्रकारले यो पृथ्वीको विगत, वर्तमान र भविष्यलाई केलाउन सक्नुपर्ने हुुन्छ । यहाँ हुने गरेका प्राकृतिक नियमहरू, चक्रहरू, प्रकृतिमा चलिरहेका प्राकृतिक न्यायका सिद्धान्त तथा दृष्टान्त देख्न, लेख्न र देखाउन सक्नु पर्छ ।
प्रकृतिको नियमको कार्यान्वयनमा कहीँ कतैबाट केही कमजोरी भएका छन् ? प्राकृतिक न्याय के जीवित छ ? या यसमाथि प्रश्न उब्जिएका छन् ? प्रकृतिले मानवलाई केही दिइरहेको त अवश्य छ, केही लिइरहेको पनि छ ? यो सौदाबाजीमा जालझेल कतैबाट भएको छ ? यस्ता यावत् विषयमा चासो दिई पत्ता लागेका तथ्यहरूलाई सार्वजनिक गरी सर्वसाधारणलाई सूचित गर्ने जिम्मेवारी वातावरण पत्रकारिताको हो । यस मामिलामा वातावरण पत्रकारिता कतिको जिम्मेवार बनिरहेको छ ? कतिको सक्षमता प्रस्तुत गरिरहेको छ ?
जलवायु परिवर्तनका आधार प्रमाणले प्रकृतिको अवस्थामा रोग लागेको पुष्टि गरिरहेका छन् । प्रकृतिमा हुने न्यायमा विचलन आएको छ । प्रकृतिमा मानव समुदायले आधिपत्य जमाउँदै आएका कारण उसमाथि अन्याय पनि बढिरहेको छ । जसका कारण प्रकृति विचलित हुँदै गइरहेको छ, जसको प्रत्यक्ष प्रभाव मानव समुदायलाई परेको छ ।
यसैले आजका दिनमा वातावरण पत्रकारिताको महत्व बढिरहेको छ किनकि यी समस्त विषयमा ज्ञान र सूचना प्राप्त गरेर आमसमुदायमा ज्ञान प्रसार गर्नुपर्ने हुन्छ । प्रकृतिमा आजकाल देखिएको अनियमितताका सवालमा पत्रकारले बाहिर ल्याउन जरुरी छ । यी विषय बाहिर आउन सकेमा र आममानिसले बुझेदेखि त्यस्ता अनियमिततामा कमी आउने थियो, जलवायु परिवर्तन तथा वातावरणीय असन्तुलनमा न्यूनीकरण अवश्य हुने थियो । वातावरणीय कारणले हुने जनधनको क्षतिलाई पनि घटाउन सकिने थियो ।
वातावरणका कुनै पनि अवयव तन्दुरुस्त छैनन् । वातावरणीय अध्ययनका विविध संस्थाका अनुसार हाम्रो हावाको गुणस्तर घटेको घटेकै छ । पानी प्रदूषणको अवस्था झन् झन् विकराल बनिरहेको छ । पानीमा गह्रौँ धातु तथा अन्य हानिकारक वस्तुको मात्रा निरन्तर बढेर पिउने पानीको मापदण्डको रेखा नाघिसकेको छ । प्रकृतिमा बाढी, पहिरो, भूक्षय, डढेलो जस्ता प्रत्यक्ष देखिने समस्या त सबैले देखेकै छौँ, बाहिरबाट सिधै नदेखिने गौण समस्या कति छन् कति । सूर्यको परावैजनी किरण तथा मानवसिर्जित अन्य विकिरणले मानव स्वास्थ्यमा पार्ने असर बढिरहेको छ । यसको प्रमाणस्वरूप क्यान्सर रोगीको तथ्याङ्कलाई लिन सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले भन्छ–नयाँ क्यान्सर रोगीको सङ्ख्या सन् २०२२ मा दुई करोड थपिए भने एक करोड पुराना बिरामीको मृत्यु भयो । सोही संस्थाका अनुसार विश्वको करिब आधा जनसङ्ख्या जलवायु परिवर्तनको अति प्रभावमा परिसकेको छ भने सन् २०३० देखि उताका वर्षमा अहिले भइरहेको मृत्युको सङ्ख्यामा बर्सेनि अढाई लाख मानिसको मृत्यु थपिन्छ ।
वातावरणीय असन्तुलनबाट जन्मिएका समस्या जस्तै, विश्व तापमानमा वृद्धि, अम्लीय वर्षा, ओजोन तह विनाश, सबै किसिमका प्रदूषण, जलवायु परिवर्तन, अकल्पनीय प्रकोप, मिचाहा प्रजाति जीवको प्रकोपबाट नेपाल जस्ता गरिब तथा पहाडी मुलुक बढी प्रभावित भएका छन् । यस किसिमका वातावरणीय मुद्दाको पहिचान गरी जनसमक्ष ल्याउनका लागि वातावरण पत्रकारको लगनशीलता अझै खाँचो छ ।
मानवको जीवनको मात्र होइन सिङ्गो धरा र धरावासीको जीवन्तताका लागि गरिनुपर्ने वातावरण पत्रकारितामा संलग्न मानिसको सङ्ख्या भने अति न्यून पाइन्छ । यसको विवरण स्पष्ट नभए पनि विश्वमा केही हजारको सङ्ख्यामा मात्र वातावरण पत्रकार छन् । अर्थ जर्नालिज्म नेटवर्कका अनुसार उसले विश्वका करिब १४ हजार पत्रकारलाई वातावरणीय रिपोर्टिङको तालिम दिएको छ । नेपालमा पनि नेफेज, सेज, एनएफएसजेलगायतका संस्थामा आबद्धता रहेका पाँच सय जनाजति वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील पत्रकार छन् तर सञ्चार माध्यममा त्यस्तो सङ्ख्यामा उपस्थिति देखिँदैन । नेपाल पत्रकार महासङ्घमा करिब नौ हजार पत्रकार सङ्गठित छन् । उनीहरू मध्ये वातावरणीय विधा कतिले समाएका छन्, यकिन छैन । यी तथ्याङ्कीय आधारमा भन्न सकिन्छ कि वातावरण पत्रकारिताको खाँचो जति छ उस अनुरूप यसमा संलग्नहरूको सङ्ख्या साह्रै सानो छ ।
समयको गतिशीलतासँगै, विज्ञान प्रविधि तथा नवप्रर्वतनले फड्को मारेसँगै पत्रकारितामा पनि नवीनताहरू थपिएका छन् । सञ्चार जगत्मा श्रव्यदृश्य माध्यमले बजार फिँजाइरहेका छन् । अब समाचारका परम्परागत शैलीका प्रस्तुतिले नयाँ जमानाका मानिसहरूको ध्यान खिच्न गाह्रो छ । आधुनिक मानिसका सूचना आदान प्रदानका माध्यम फेरिएसँगै सञ्चारका माध्यमसमेत परिवर्तन भएकाले परिवर्तित माध्यममार्फत नै वातावरणीय सवाललाई प्रसार गर्नुपर्ने अवस्था छ । यसर्थ वातावरण पत्रकारले आफूमा यस किसिमको दक्षता विकास गर्नुपर्ने हुन्छ । आफ्ना आधिकारिक सञ्चार माध्यमका अन्य सहायक समाजिक सञ्जालमा
सामग्री प्रस्तुत गर्नुपर्ने समय आइसकेको छ । अधिक मानिसहरू रिल, टिकटक, सर्ट भिडियो, फेसबुक पेज आदिमा मनोरञ्जनका सामग्रीमा तल्लीन भएका छन् । यस्ता सञ्जालमा वातावरणका सवाल पस्कनुपर्ने हुन्छ । तब ती मानिसमा वातावरणीय सचेतता आउँछ ।
अहिले विश्व समुदायले खेपेको सबैभन्दा ठुलो समस्या भनेकै बिग्रिएको वातावरणीय अवस्था हो किनकि यसले जीवन मरणको चुनौती दिँदै छ । साथै यसैबाट सिर्जित स्वास्थ्य समस्याले चिकित्सा विज्ञानलाई पनि औँला उठाएको छ । एकातिर खोजकर्ता तथा वैज्ञानिक मानव जगतलाई खुसी बनाउन र सधैँ हाँसिरहने बनाउन के गर्नुपर्ला भनेर चिन्तन गरिरहेका छन् भने अर्कातिर सारा मानिसलाई रुवाउने वातावरणीय समस्या झन् कडा र अग्ला पहाड बनेर खडा भइरहेका छन् । यस्तो विषम परिस्थितिमा वातावरणीय पत्रकारिताको महत्व र जिम्मेवारी थप बढेको छ । मूलतः वातावरणीय असन्तुलनका पहिचान, तिनको कारण र असर, वातावरण बिगार्न सर्वश्रेष्ठ मानिएको मानिसको उपद्रव अनि जीवनशैली र असन्तुलनलाई न्यूनीकरण गर्र्ने उपायका बारेमा पत्रकारिता उन्मुख हुनु पर्छ । साथै परिवर्तित जलवायु तथा वातावरणमा अनुकूलित हुनका लागि वैज्ञानिकका अतिरिक्त स्थानीय बासिन्दाले गरेका प्रयास एवं अभ्यासलाई सबैसामु ल्याउने दायित्व वातावरण पत्रकारिताको हो । यसो भयो भने जोखिमयुक्त भविष्यलाई जिउनयुक्त बनाइदिन्छ । धरा अनि धरावासीको संरक्षण गर्नका लागि सचेत र सक्षम बनाउनका लागि वातावरण पत्रकारितामा थप जनशक्तिलाई आकर्षित गर्नुपर्ने पनि उत्तिकै आवश्यकता छ ।