काठमाडौँ, पुस १४ गते । सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन साविक विजेता एमेच्योर राहुल विश्वकर्माले अग्रता लिनुभएको छ ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा राहुलले ६ अन्डर ६६ खेल्दै शीर्षस्थानमा पाँच स्ट्रोकको अग्रतामा बनाउनुभएको हो ।
दोस्रो स्थानमा रहन सफल प्रो जयराम श्रेष्ठको एक अन्डर ७१ स्कोर छ । अर्का एमेच्योर साम डौबलार्ड इभनपार ७२ स्कोरसहित तेस्रो स्थानमा रहनुभएको छ ।
कूल ७२ होलको चारदिने प्रतियोगितमा ३७ प्रोफेसनल र २६ एमेच्योर गरी ६३ खेलाडीको सहभागिता रहेको छ । ३६ होलपछि मङ्गलबार थप ३६ होलको फाइनल चरणका लागि १८ प्रोफेसनल र एमेच्योर खेलाडीले कट बनाउनेछन्।
सिजनको पहिलो यस प्रतियोगिताको विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार र तेस्रो हुनेले एक लाख रुपियाँ पुरस्कार पाउनेछ । शीर्ष १८ मा रहने प्रोलेसमेत नगद पुरस्कार पाउनेछन् ।