• १४ पुस २०८२, सोमबार

सानैमा चुँडियो इलावतीको पढ्ने रहर

blog

हजुरआमासँगै इलावती चौधरी ।

दाङ, पुस  १४ गते । सात वर्षको उमेरमै आमालाई गुमाउनु परेको पीडा इलावती चौधरीको मन–मस्तिष्कबाट मेटिन नपाउँदै एक वर्षपछि बुवाको मृत्युले उहाँको बाल्यकाल अन्धकारमै बित्यो । आमा सरिता चौधरीको निधनपछि टिबी रोगबाट पीडित बुवा बुधराम चौधरीको आर्थिक अभावकै कारण उपचार हुन सकेन । गढवा गाउँपालिका–२, महादेवाकी इलावतीले एकै वर्षको अन्तरालमा बुवाआमा दुवै गुमाउँदाको पीडासँगै अशक्त हजुरआमा र सानो भाइको सम्पूर्ण जिम्मेवारीको भारीले उहाँको काँध थिचिरह्यो ।

मावलीको सहयोग पाएपछि इलावतीले हजुरआमाको स्याहार, भाइको हेरचाह र आफ्नो पढाइलाई जसोतसो अघि बढाउनुभयो । पढाइमा अब्बल इलावतीले जस्तोसुकै कठिन परिस्थितिमा पनि विद्यालय जान छोड्नु भएन । गाउँदेखि विद्यालय निकै टाढा भए पनि एक घण्टा पैदल हिँडेर उहाँ सरस्वती मावि गोबरडिहाँ पुग्नुहुन्थ्यो । पढ्ने तीव्र इच्छा हुँदाहुँदै पनि कक्षा ८ पछि उहाँले पढाइलाई अघि बढाउन पाउनुभएन । गरिबीका कारण विद्यालय शुल्क तिर्ने समस्या, भाइको पढाइ, अशक्त हजुरआमाको उपचार, अनेक चिन्ताले पढ्ने चाहनालाई नै उहाँले त्याग्नुभयो । इलावती चौधरी भन्नुहुन्छ, “भाइको पढाइ र हजुरआमाको उपचारका लागि मैले आफैँले पढाइ छोड्ने निर्णय गरेँ तर त्यो रात म झिमिक्कै निदाउन सकिनँ । मेरो पढाइ अब यत्ति नै रहेछ भनेर चित्त बुझाएँ ।” 

इलावती १५ वर्षकै उमेरमा मजदुरी गर्न प्युठान पुग्नुभएको थियो । गाउँमा मजदुरीको काम नपाएपछि गाउँकै दिदीहरूसँग जिल्ला बाहिरिएकी इलावतीले दैनिक छ सय रुपियाँ कमाउन थालेको बताउनुभयो । त्यही पैसाले हजुरआमाको औषधी, भाइको विद्यालय शुल्क र साँझबिहानको जोहो गर्दै आउनुभयो । 

उहाँकी ८० वर्षीय हजुरआमा कैलालसपती चौधरी लट्ठीको सहारामा हिँड्नुहुन्छ । इलावतीले भन्नुभयो, “हजुरआमाको वृद्धभत्ता आउँछ तर त्यो पर्याप्त हुँदैन, मैले मजदुरी गरेर कमाएको पैसाले औषधी किनिदिन्छु । त्यो भत्ता नपाएको भए त मलाई झनै गाह्रो हुन्थ्यो ।” टहरो जस्तो घरमा बर्खामा रात काट्न झनै पीडादायी थियो । पानी चुहिन्थ्यो, खाट सार्दै रात बित्थ्यो । उहाँले भन्नुभयो, “कसैले घरलाई नचुहिने बनाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो तर हामी गरिबलाई सहयोग गर्ने को होला र भन्ने लाग्थ्यो, एक दिन गाउँको बैठकमा बोलाएर तिम्रो घर बनाइदिन्छौँ भनेको कुरा सुन्दा सपना जस्तै लाग्यो ।” 

इलावतीलाई पटक्कै विश्वास लागेको थिएन । गाउँलेले किन त्यसो भनेका हुन् भनेर छक्क पर्नुभएको थियो । त्यसो भनेको केही दिनपछि ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीसहित स्थानीय जनप्रतिनिधि उहाँको घरमा पुग्नुभयो । निवास संस्था र गढवा गाउँपालिकाको सहकार्यमा सुरक्षित आवास कार्यव्रmम अन्तर्गत इलावतीका लागि केन्द्रले दुईकोठे भूकम्प प्रतिरोधी पक्की घर निर्माण गरिदियो ।

पक्की घर पाएपछि इलावतीको आँखाबाट हर्षका आँसु बर्सिरहे । “मैले सपनामा पनि नदेखेको घर पाएँ, घर बनेपछि हजुरआमा झनै खुसी हुनुहुन्छ,” उहाँले भन्नुभयो । अब उहाँको चिन्ता घरको होइन, भाइको भविष्यको भएको छ । अवसर पाए आफ्नो पढाइ पनि फेरि अघि बढाउने चाहना छ उहाँको ।

खेलकुदमा रुचि राख्ने इलावतीले विद्यालय तहमा ५७२ जनालाई पछि पार्दै प्रथम स्थान हासिल गर्नुभएको थियो । उक्त पदक स्वर्गीय बुवाआमालाई देखाउन नपाउँदाको पीडा अझै मनमा छ । 

इलावतीले विद्यालयमा अध्ययन गर्दा विभिन्न प्रतियोगितामा सात वटा पदक पाउनुभएको छ । उहाँ जुनसुकै खेलमा पनि अगाडि हुनुहुन्थ्यो । ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानीले अतिविपन्न परिवारलाई घर निर्माण गरेर आशा र आत्मविश्वास जगाउन खोजेको बताउनुभयो । 

उहाँले आर्थिक रूपमा कमजोर महिला र बालबालिकालाई सुरक्षित आवासीय सुविधा पु¥याउने उद्देश्यले गाउँपालिकासँग समन्वय गरेर गढवामा तीन वटा भूकम्प प्रतिरोधात्मक घर बनाएको बताउनुभयो ।



  

Author
सन्तोष दहित

उहाँ गोरखापत्र दैनिकको दाङ जिल्लाका लागि दाङ समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।