• २५ असोज २०८२, शनिबार

सखियाको रमझम

blog

गाउँको मटाँवाको आँगनमा रातिको समयमा सखिया नाचिन्छ । नाचमा तरुनातरुनीको सहभागिता मुख्य रूपमा हुन्छ । मादलको तालमा, सामूहिक गीत र सखिया नृत्य गरिन्छ । बिच बिचमा देखाइने पैँयानाचले दर्शकलाई अझै मनोरञ्जन दिन्छ ।

कहाँमन बाट हो जासु लुहकि कुररिया,

सखि र ! कहाँमन बाट लोहकै बसला ।

इह लेहो इसरु लुहके कुररिया,

सखि र ! इह लेहो इसरु लुहकै बसला ।


पश्चिम नेपालका थारू बस्तीमा सखिया अर्थात् सख्याको चहलपहल छ । दसैँको रमझमसँगै करिब एक महिनासम्म थारू बस्तीमा सखियाको रमझमले छाड्दैन । दसैँको एक साताअघि सख्या पैँया नाचेर थारू समुदायले दसैँलाई स्वागत गर्छन् । 

गाउँको मटाँवाको आँगनमा रातिको समयमा सखिया नाचिन्छ । नाचमा तरुनातरुनीको सहभागिता मुख्य रूपमा हुन्छ । मादलको तालमा, सामूहिक गीत र सखिया नृत्य गरिन्छ । बिच बिचमा देखाइने पैँयानाचले दर्शकलाई अझै मनोरञ्जन दिन्छ । सख्या पैँया नाचेपछि खेतबारीको अन्नबालीमा वृद्धि हुने रोगव्याधिबाट सुरक्षा र समृद्धि हुने विश्वास थारू समुदायमा छ । 

घटस्थापनाका दिन थारू समुदायले मकैको जमरा राख्ने चलन छ । जुन थारू समुदायको परम्परा हो । दसैँको तयारीस्वरूप कसैले घर सरसफाइमा, कोही वनजङ्गलबाट दाउरा ल्याउनमा, त कोही चामल पिस्नमा व्यस्त हुन्छन् । सप्तमीको अघिल्लो दिन खोलामा सामूहिक रूपमा ढिक्री पकाउने, पैनस्टोपी भाँडा धुने चलन रहेको छ । अष्टमीका दिन चामलको पिठोबाट गोलाकार ढिक्री बनाई देवतालाई चढाउने परम्परा छ ।

नवमीको दिन ‘गँवल्या टीका’ लगाउने गरिन्छ । सो दिन गाउँका सबै गाउँका घरमूली अगुवा भुह्यारथानमा भेला भएर मटाँवासँग जमरा लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । त्यही दिनदेखि तीन दिनसम्म दिउँसो सख्यानाच नाचिन्छ । दसैँको पाँचदेखि सात दिनपछि माछा मारेर रातभरि सख्या पैँया नाचेर विशेष मादल बजाउने गरिन्छ । त्यहीबेला मन्ड¥याहरूलाई भोजसहित ‘डिउटा वैसइना’ देवतालाई बसाउने गीतको विधिबाट सख्यानाचलाई समापन गरिन्छ ।  थारू संस्कृतिविद् अशोक थारूका अनुसार सख्या थारू लोकभागवत पुराण हो । आख्यानका आधारमा सख्यालाई लोककाव्य महागाथाको कोटीमा राख्न सकिन्छ । सखियालाई थारू भाषामा सख्या भनिन्छ । साथी साथी मिलेर नाचिने भएकाले पनि यो नाचलाई सख्या भनिएको अशोक थारूको तर्क छ । यस्तै धार्मिक तथा सांस्कृतिक महìवसँग जोडिएको सख्यानाचमा थारूका हरेक देवीदेवताका नामलाई सम्बोधन गरेर गीत गाउने गरिएको संस्कृतिविद् एवं मटाँवा चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । त्यससँगै जमिनमा बस्ने सबै जीवजन्तुको नाम सम्बोधन गरेर सख्या गीत गाउने गरिएको उहाँको भनाइ छ ।


नाचिन्छ यसरी

सख्यानाच सामूहिक रूपमा नाचिन्छ । महिलाको नेतृत्व मोह्रिन्या (युवतीको मुख्य व्यक्ति) ले गर्छन् । मोह्रिन्याको सहयोगीका रूपमा पछगिन्या (दोस्रो व्यक्ति) हुने गर्छन् । यी दुवै जनाको पछि २० देखि ४० जना बठिन्याले सघाउँछन् । गाउँ अनुसार बठिन्या र विवाहित महिलाको पनि सहभागिता हुने गर्छ । जुन गाउँमा जति धेरै बठिन्या हुन्छन्, त्यही गाउँमा सख्यानाचका लागि बठिन्या, महिलाको सहभागिता हुने गरेको थारू सांस्कृतिक अभियन्ता एवं बर्कानाचका संरक्षक चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ ।

दङ्गीशरण गाउँपालिका–३, हेकुलीको मोह्रिन्या सिरु चौधरीका अनुसार सख्यानाच नाच्ने बेला दुई वटा समूह बनाएर नाच्ने गरिन्छ । एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छन् । अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन् । सख्या गीत गाउँदा सुरुवातमा मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउने गर्छन् । जुन समूहले गीत गाउँछ, त्यही समूहतर्फ गएर मन्ड¥याले मादल बजाउँछन् । यसरी सख्यानाचसँगै बिच बिचमा विभिन्न किसिमका पैँयानाच पनि नाच्ने गरिन्छ । सख्यानाच र गीत एउटै भए पनि गाउँठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरेको उहाँ बताउनुहुन्छ । यो नाच मटाँवा, बडघर, भलभन्साको आँगनमा नाचिन्छ । दिनभरि खेतबारीको काम सकाएर राति सख्या नाच्ने चलन छ । यद्यपि गाउँले अर्थात् नवमीका दिनदेखि बडादसैँको दिनसम्म कम्तीमा तीन दिनसम्म दिउँसै सख्या नाच्ने गरेको मोह्रिन्या सिरु बताउनुहुन्छ ।

हाँठहिँ ट लेहो इसरु लुहकै बसुलिया,

सखि र ! कँढिया ढरैहो इसरु लुहकै कुररिया,

सखि र ! हाँठहिँ ट लेहो इसरु लुहकै बसला ।

थारू समुदायका अधिकांश अविवाहित बठिन्या (युवती) आफ्नै मौलिक वेशभूषामा सजिएर हातमा मन्जिरा बजाउँदै एक स्वरमा सख्या गाउँछन् । पुरुष (मन्ड¥या) ले मादल बजाएर साथ दिन्छन् । यो नाच विशेष गरेर लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ । करिब एक महिनासम्म नाचिने सख्यानाच महाभारत कथासँग सम्बन्धित रहेको थारू अगुवा बताउँछन् । भदौमा गरिने हा¥या गुरैपूजा सुरु भएदेखि बडादसैँपछि एक सातासम्म सामूहिक रूपमा मादल र मन्जिराको साथमा गीत गाउँदै सख्या नाचिन्छ तर अचेल कुनै गाउँमा जमरा राखेको दिनदेखि नाच्न सुरु गर्छन् । कतै जमरा राख्नुभन्दा तीन/चार दिन अगाडिदेखि सख्या पैँया नाच्न सुरु गर्ने गर्छन् । 


पुरानो परम्परा

सख्यानाचको उत्पत्तिबारे थारू संस्कृतिविद्हरूको आआफ्नै तर्क छ । थारू संस्कृतिविद् अशोक थारू सख्यानाचको उत्पत्ति द्वापरयुगमा भएको ठोकुवा गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो अध्ययनमा सख्यानाच द्वापरयुग अर्थात् पाँच हजार वर्षअघिदेखि चलेको देखिन्छ ।”

थारू अनुसन्धाता कृष्णराज सर्वहारी दुई हजार पाँच सय वर्षअघिदेखि थारू समुदायले सख्यानाच नाच्दै आएको बताउनुहुन्छ । सख्यानाच कृष्ण जन्माष्टमीसँग जोडिएकाले कृष्णको जन्मदेखि नै सुरु भएको कृष्णराजको दाबी छ । यस्तै थारू संस्कृतिविद् चन्द्रप्रसाद चौधरीले थारू समुदायको तन्त्रमन्त्र सुरु भएसँगै सख्यानाच पनि सुरु भएको बताउनुहुन्छ । 

उहाँका अनुसार थारू समुदायमा तन्त्रमन्त्रका माध्यमबाट विभिन्न रोगव्याधि हटाउने, देवीदेवताको पूजापाठ गर्ने परम्परा छ । त्यही तन्त्रमन्त्रसँग यो सख्या गीत जोडिएकाले त्यही बेलादेखि नै नाच्ने गरेको पाइन्छ ।

Author
सन्तोष दहित

उहाँ गोरखापत्र दैनिकको दाङ जिल्लाका लागि दाङ समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।