एकिन्द्र तिमिल्सेना
टीकापुर, फागुन २३ गते । प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवाली विजयी हुनुभएको छ । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गर्नुभएको छ । २०७० सालमा संविधान सभाको सदस्य निर्वाचित हुनुभएका चौधरी सङ्घीय माििमला तथा सामान्य प्रशासन राज्यमन्त्री पनि बन्नुभएको थियो । उहाँ हाल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति हुनुहुन्छ ।
टीकापुर नगरपालिकाको नगर प्रमुखको पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्नुभएका रामलाल डगौराले आठ हजार ३९२ मत पाउनुभएको छ । नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत पाउनुभएको छ ।
राष्ट्रिय योजना आयोगको सदस्य समेत रहिसक्नु भएका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. जनकराज शाहले २१७ मत पाउनुभएको छ । यहाँ ५९ हजार ६१ मत खसेको थियो ।
तत्कालिन नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष ज्ञवाली निर्वाचन अघि मात्रै रास्वपा प्रवेश गर्नुभएको हो । व्यवस्थापन विषयमा स्नातक ४७ वर्षीया ज्ञवाली व्यापारमा संलग्न हुनुहुन्छ ।