• २३ फागुन २०८२, शनिबार

थुदामको मतपेटिका खाँदबारी आइपुग्यो, दिउँसोदेखि मतगणना सुरु हुने

blog

सुजन बज्राचार्य
संखुवासभा, फागुन २३ गते ।
संखुवासभाको भोटखोला गाउँपालिका–२ थुदामस्थित दुर्गम दुधपोखरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतपेटिका शनिबार बिहान खाँदबारी ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत शनिबार बिहान करिब ८ बजे मतपेटिका, मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई खाँदबारी ल्याइएको हो।

उक्त मतदान केन्द्रमा ६३ मतदाता रहेकोमा १३ मत मात्रै खसेको थियो। खराब मौसमका कारण मतपेटिका दुई दिनपछि मात्र सदरमुकाम ल्याउन सम्भव भएको हो।

मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बसेर आजै दिउँसो १२ बजेपछि मतगणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लामा रहेका १६४ मतदान केन्द्रमध्ये थुदामको अन्तिम मतपेटिका पनि गणनास्थलमा सुरक्षित रूपमा आइपुगेकाले मतदान तथा मतपेटिका ढुवानीको सुरक्षा व्यवस्थापन प्रभावकारी भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो। अब मतगणना प्रक्रिया पनि सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गरिने उहाँले उल्लेख गर्नुभयो।

भौगोलिक रूपमा विकट मानिएका भोटखोला गाउँपालिकाका रिदाक र किमाथाङ्का तथा सिलिचोङ गाउँपालिका–५ का काम्पेक र गौथलाका मतपेटिका भने यसअघि नै सदरमुकाम ल्याइसकिएको छ। जिल्लाका १६० मतदान केन्द्रबाट पैदलमार्ग हुँदै मतपेटिका गणनास्थलमा ल्याइएको थियो।