• १८ वैशाख २०८३, शुक्रबार

लागुपदार्थ सेवन गरी सवारी चलाउने १४ चालक कारबाहीमा

blog

सवारी साधनमा लागुऔषधविरुद्धको सन्देशमुलक स्टीकर टाँसिदै । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, चैत १८ गते ।
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १४ जना चालक कार्वाहीमा परेका छन् । ‘लागुपदार्थ सेवन चेकजाँच’ अभियानअन्तर्गत चेकजाँचको क्रममा सवारी चालकले लागुपदार्थ सेवन गरेको पाईएपछि कारबाही गरिएको हो ।

अभियानको क्रममा बागलुङ नगरपालिकाको मालढुंगा (खुदुर्के), काठेखोलाको अक्षते, गलकोट नगरपालिकाको हटिया र बडिगाडको ग्वालीचौर बजार क्षेत्रमा ६५ जनामा लागुऔषध किट प्रयोग गरेर चेकजाँच गर्दा १४ जना चालकमा पोजेटिभ देखिएको थियो ।

‘‘पक्राउ परेका सबै चालकले ‘गाजा’ सेवन गरेर सवारी चलाएको पाइयो’’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका वरिष्ठ सई मिनबहादुर कुँवरले भन्नुभयो । चालु वर्षको नौ महिनामा १५ दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् ।

लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि इभी भ्यान, स्कारपियो, ट्याक्टर, पिकअप भ्यान, अटो, टिपर र मोटरसाइकल चालकसहित १४ जनालाई नियन्त्रणमा लिएर लागुपदार्थ ऐनअन्तर्गत कारबाही गरिएको वरिष्ठ सई कुँवरले जानकारी दिनुभयो ।

अधिकांश सवारी दुर्घटना चालककै कमजोरीका कारण घटेको पाइएपछि ट्राफिकले एकीकृत सेवा कार्यालय बागलुङ संगको सहकार्यमा सवारी चालकले लागुपदार्थ सेवन गरे–नगरेको चेकजाँचसँगै स्वास्थ्य परीक्षण र सचेतनामुलक स्टीकर टाँस्ने अभियान चलाएको छ । यो अभियानलाई जिल्लाव्यापी बनाउने ट्राफिकले योजना समेत बनाएको छ ।  

चालकले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाएको जनगुनासो बढेपछि चेकजाँच तथा सचेतनामुलक स्टीकर टाँस्ने अभियान थालिएको कुँवरको भनाइ छ । स्वास्थ्य परीक्षणलाई अभियानको रूपमा सञ्चालन गरेसँगै नियमित स्वास्थ्य चेकजाँचमा चासो नदिने सवारी चालक र सह–चालक लाभान्वित भएको कुँवरले बताउनुभयो ।

‘‘हाम्रो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरेका छौं’’ एकीकृत सेवा कार्यालय बागलुङका प्रमुख शिवप्रसाद शर्माले भन्नुभयो, ‘‘ट्राफिक प्रहरीसँग सहकार्य गरेर लागुऔषध नियन्त्रण गर्न संभव पनि छ ।’’ अभियानलाई निरन्तरता दिन एकीकृत सेवा कार्यालयले आवश्यक बजेटको व्यवस्थापन गर्दै जाने शर्माको भनाई थियो ।

ट्राफिकले सवारी दुर्घटना न्युनिकरण गर्न ग्रामीण सडकमा चल्ने सवारी, चालक र यात्रुलाई सचेतना अभियान सञ्चालन गरेको छ । राजमार्गमा नियमित अनुगमन गरिरहने ट्राफिकले सहायक मार्गमा सवारी चलाउने चालक, यात्री र अन्य सरोकारवालालाई सवारी दुर्घटनाबारे सचेतना अभियान चलाएको हो । ट्राफिकले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोरसँग जोडिएका ग्रामीण भेगमा चल्ने सवारी लक्षित सचेतना अभियान चलाएको हो ।