• ७ भदौ २०८२, शनिबार

अस्टिम्की कला र काव्य सङ्गम

blog

मटावाँको घरमा अस्टिम्कीमा अस्टिम्की टिक्दै घोराही–१७, गुलरियाका थारू महिला ।

थारू समुदायले अस्टिम्कीमा विविध चित्र बनाउने गर्दछन् । हरेक थारू गाउँमा मटावाँको घरको बह्री कोन्टी (बैठक) कोठाको उत्तरतर्फ भागको भित्ता अर्थात् माटोले बनाएको डेह्रीमा अस्टिम्की बनाइन्छ ।

सिरिजि ट गैल जल ठल ढरटि ।

सिरिजि ट गैल ढरटि मडागिन

सिरिजि ट गैल ढरटि मडागिन ।

थारू बस्तीमा यिनै गीति भाका गुञ्जन थालेपछि अस्टिम्कीको लहरले छपक्कै छोपिसकेको हुन्छ । खेतबारीको हरियाली, गाउँको शान्त वातावरण र परम्परागत वेशभूषामा सजिएका थारू महिला (बठिन्या) हरू बेलुकीपख सालको टपरीमा राखिएको थोरै चामल, रङ्गीचङ्गी घुनेस्रा फूल (अस्टिम्की फुला) र ज्यामिरेसँगै टपरीको बिच भागमा बलिरहेको दियो राखेर घर घरबाट लाइनबद्ध निस्किएपछि अस्टिम्की को माहोल सुरु हुन्छ । 

सेतो गुन्यु, रातो–कालो–निलो ब्लाउज, रङ्गीचङ्गी लहङ्गा, हातमा लखौटीका चुरा र घाँटीमा थरी थरीका गरगहनाले सजिएर थारू महिला मटावाँको घरमा अस्टिम्की टिक्न निस्किन्छन् ।

भाद्र कृष्ण अष्टमीका दिन मनाइने अस्टिम्की थारू समुदायका महिलाका लागि विशेष महìवको मानिन्छ । यस दिन उनीहरूले आफ्नो मौलिक वेशभूषा मात्र होइन, मटावाँको घरको बैठक कोठाको उत्तर भित्तामा कोरिएका रङ्गीचङ्गी लोकचित्र बनाएका हुन्छन् । श्रीकृष्णको चित्रसँगै थारू समुदायको पहिचान झल्किने विभिन्न लोकचित्र बनाई पूजा गर्ने गर्छन् । पूजापाठसँगै अस्टिम्कीको रौनक अझ बढ्छ । सोही रात गाउँभर थारू लोकभागवतका मिठा शब्द गुञ्जिन्छन् । जसले अस्टिम्की थारूहरूको सबैभन्दा रमाइलो र महìवपूर्ण मानिने गरेको थारू अगुवा बताउँछन् । थारूको लोकचित्रकलाको एउटै उदाहरण अस्टिम्कीमा प्रकृति, इतिहास, पुराण, दर्शन जस्ता विषयवस्तु समेटिएको उनीहरू बताउँछन् । 

अस्टिम्की चित्रकलाले जीवनको विकासलाई चित्रण गर्ने गरेको थारू संस्कृति अनुसन्धानकर्ता शेखर दहित बताउनुहुन्छ । थारूहरू गुर्बाबालाई पृथ्वीको सृष्टिकर्ता मान्दछन् । जीवन र जगत्को विकासक्रमलाई चित्रण गर्ने उत्कृष्ट लोककला अस्टिम्की भएको दहित बताउनुहुन्छ । थारू लोकमहाकाव्य ‘गुर्बाबाक जन्मौटी’ का अनुसार गुर्बाबाले ‘दुढही गँगटो र फेटुली गँड्यौला’ को सहयोगमा अमरमाटी (माटो) ल्याई यो संसारको सृष्टि गरेको ठम्याइ उहाँको छ ।

अस्टिम्की एउटा पर्व मात्र नभई थारू समुदायको आत्मा, विश्वास र सांस्कृतिक सौन्दर्यको सङ्गम भएको धारणा घोराही थारू महिला अगुवा इन्दिरा चौधरीको भनाइ छ । उहाँका अनुसार वर्षमा एक पटक  मनाइने (भाद्र कृष्ण अष्टमी) लाई थारू समुदायले अस्टिम्की भन्ने गर्दछ । यो दिन विशेष गरी महिलाले यस पर्वलाई अतुलनीय श्रद्धा र रमाइलोसाथ मनाउँछन् । ‘अस्टिम्की केवल पूजाआजा गर्ने पर्व मात्र होइन, यसमा चित्रकला, भित्तेचित्र, गीतसङ्गीत र लोककाव्य इतिहास जोडिएको भनाइ चौधरीको छ ।

कृष्णा अष्टमीलाई थारू भाषामा ‘अस्टिम्की’ भनिन्छ । अस्टिम्की शब्दको उत्पत्ति ‘अष्टमी+टीका लगाउने’ बाट सुरु भएको थारू संस्कृतिविद् अशोक थारू बताउनुहुन्छ । उहाँका अनुसार अस्टिम्की’ को अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकोले उनलाई टीका लगाउने हो । ‘कान्हा’ को जन्मदिनलाई थारू महिलाले ‘अस्टिम्की’ का रूपमा व्रत उपवाससाथ कृष्णको जीवनी चित्रनम् भित्तेचित्र बनाई टीका, फलफूल अर्पण तथा दीप प्रज्वलन गरेर मनाउने गरिन्छ ।

उहाँका अनुसार अस्टिम्कीमा सबैभन्दा पहिला मटिन्याले (मटावाँकी श्रीमती) अस्टिम्की टिक्ने र त्यसपश्चात् अन्यले टिक्ने परम्परा रहँदै आएको छ । ‘अस्टिम्की  काव्य लोकभागवत पुराण हो । अष्टमी तिथिमा कान्हालाई टीका लगाएर पूजा गर्दै काव्य सामूहिक रूपमा महिलाद्वारा अहोरात्र गाइने भएकाले यस काव्यलाई अस्टिम्की गीत भनिएको हो । ‘अस्टिम्की र सख्या काव्यको कथानकतामा निकै समनता भए पनि गायनको रागमा भिन्नता भएको संस्कृतिविद् थारूको धारणा छ । अस्टिम्की गीत अस्टिम्की टिक्ने रात मात्रै गाइने भएकाले पूर्णपाठ गायन गरिँदैन ।

सिरिजि ट गैल कुसकहि डाब

भाँचि ट डारल जैसी डसु पोठि भाँच ।।

परि ट गैल रि कह्नैयाँ बिर नाउँ । 

माथिको यो गीत अस्टिम्की गीतका केही हरफ हुन् । यो गीत अस्टिम्कीको दिन प्रायः सबै थारू बस्तीमा गाइने गरिन्छ । यस गीतमा जल र जमिनसँगै अन्न, जीवको वर्णन गरिएको छ । यसै गीतको माध्यमबाट यसको वर्णन भए पनि थारू समुदायमा यसलाई कलात्मक चित्रमार्फत उतारिन्छ । अस्टिम्की चित्रको माध्यमले धर्तीको उत्पत्तिसँगै जलचर, थलचर, सरीसृप, बोटबिरुवालाई विम्बात्मक थारू लोकचित्रले व्याख्या गरिन्छ ।

थारू संस्कृतिका ज्ञाता अशोक थारूका अनुसार ‘अस्टिम्की चित्र थारू लोककाव्य, गुर्बाब क जन्र्मौटी, थारू लाकरामायण, रामविग्रहा, थारू भागवत पुराण सख्या, बर्कीमारको समष्टीगत रूप हो । पुराण वा इतिहासका आधारमा निर्मित कालको आदर्श नै थारू लोककलाको आत्मा अर्थात् थारू लोकको इतिहास हो । 


अस्टिम्कीका लोकचित्रकला ।

थारू समुदायले अस्टिम्कीमा विविध चित्र बनाउने गर्दछन् । हरेक थारू गाउँमा मटावाँको घरको बह्री कोन्टी (बैठक) कोठाको उत्तरतर्फ भागको भित्ता अर्थात् माटोले बनाएको डेह्रीमा अस्टिम्की बनाइन्छ । बह्री या डेह्रीमा ज्यामितीय स्वरूपमा गोबर माटोले लिपपोत गरेर सुकेपछि सेतो चुनले रङ्ग्याएर चित्र बनाउने गरिन्छ । 

सबैभन्दा माथि दायाँतर्फ सुरुजभरार (सूर्य) र बायाँतर्फ जोह्न्या (चन्द्रमा) बनाइन्छ । त्यसको  मध्यभागमा बाँसुकी नाग चित्रण गरिन्छ । त्यसैमाथि कान्हाको प्रिय वृक्ष कदम्ब चित्रण गरिन्छ । यसमाथि आसिन कान्हा (कृष्ण) बाँसुरी बजाइरहेका हुन्छन् । बाँसुकी नागको दायाँबायाँ जलमण्डल चित्रण गरिन्छ । यसमा गँगटा, गँड्यौला, कछुवा, माछा आदि चित्रण गरिन्छ । त्यस्तै हात्ती, घोडा, उँट, गोरु, मयूर बिच्छी बनाइन्छ । 

दुलही अन्माउँदा दुलही लैजाने डोली, ड्वालाको चित्र बनाउने गरिन्छ । सबैभन्दा माथि दायाँ कुनामा सूर्य र माथिल्लो बायाँ कुनामा चन्द्रमाको चित्र अङ्कित गरिएको हुन्छ । यस चित्रले पनि यस ब्रह्माण्डमा अनेकौँ ग्रह, उपग्रह भए जस्तै पृथ्वी सूर्यको उपग्रह रहेको व्याख्या गर्दछ । यसरी बनाइने अस्टिम्कीको चित्रमा महाभारत ग्रन्थका पात्रलाई पनि उतारिन्छ । जसमा पाँच भाइ पाण्डवका चित्र लस्करै राखिन्छ । त्यसको तलतिर एक जना वधुलाई डोलीमा अन्माइरहेको बनाइन्छ, त्यो द्रौपदीलाई देखाउन खोजिएको हो । त्यसका छेउछाउमा जङ्गली जीवजनावर हात्ती, घोडा, मयूर, हलो जोतिरहेको मानिसको चित्र हुन्छ । यसले पृथ्वीको विकासक्रमसँगै अस्टिम्कीको गीतमा भने जस्तै अन्न, बाली फलाउने, मानव र जीवजनावरको सहअस्तित्वलाई बुझाउने गरेको पाइन्छ । अस्टिम्कीले यसरी थारू समुदायको सांस्कृतिक, धार्मिक र कलात्मक धरोहरलाई जीवित राख्दै गाउँ समाजमा सौन्दर्य, एकता र श्रद्धा प्रवाह गराएको पाइन्छ । 

Author
सन्तोष दहित

उहाँ गोरखापत्र दैनिकको दाङ जिल्लाका लागि दाङ समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ । 

लेखक बाट थप