• २३ फागुन २०८२, शनिबार

बारा–३ बाट रास्वपाका अरविन्द साह निर्वाचित

blog

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित अरविन्द साह। तस्बिर : शिवशंकर मिश्रा

शिवशंकर मिश्रा 
बारा, फागुन २३ गते ।
बारा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह निर्वाचित हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले शनिबार सार्वजनिक गरेको आधिकारिक परिणाम अनुसार साहले सबैभन्दा बढी ४० हजार ६९७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गर्नुभएको छ। त्यस्तै जनता समाजवादी पार्टी, नेपालका रामबाबु कुमार यादवले ६ हजार ८८४ मत प्राप्त गर्नुभएको छ।

निर्वाचन आयोगका अनुसार मतदान कार्य शनिबार बिहान सम्पन्न भई मतगणना सकिएपछि आधिकारिक परिणाम सार्वजनिक गरिएको हो। सोही आधारमा साहलाई निर्वाचित घोषणा गरिएको छ।

यस उपनिर्वाचनको परिणामसँगै बारा–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा नयाँ प्रतिनिधित्व प्राप्त गरेको छ। निर्वाचन क्षेत्रका मतदाताले परिवर्तनको अपेक्षासहित साहलाई ठुलो मतान्तरले विजयी बनाएको स्थानीय विश्लेषकहरूले बताएका छन्।

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा भएको निर्वाचनमा कुल ६७ दशमलव ६ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस क्षेत्रमा महिलाको सहभागिता पुरुषको तुलनामा बढी देखिएको छ।