माघीका बेला साथीसँग गाउँमा मघौटा नाचिरहेकी थिइन्– रुन्ची चौधरी । त्यतिबेलासम्म रुन्चीलाई थाहै थिएन घरका मान्छेले खुसीरामको हातमा आफूलाई सुम्पिसकेको । १९ वर्षकी लक्का जवान रुन्ची र खुसीरामको परिवार बसेर ‘ठकौनी’ खाइसकेका थिए । ठकौनी खाएपछि विवाहको पक्कापक्की भयो । फागुन महिनामा रुन्चीको विवाह पनि भयो । त्यसबेला थारू समुदायको विवाहको लगन फागुन महिनाभरि मानिन्थ्यो ।
त्यसबेला थारू समुदायको प्रचलन अनुसार बिहेको भोलिपल्टै पठलरीसँगै (बेहुलीलाई पठाउन आएका) माइती फर्काइन्थ्यो । बेहुली माइतीघर फर्केपछि कम्तीमा एक महिना बस्थे । दुलहाको घर फर्किनुअघि दुलहीका हातखुट्टामा अनिवार्य रूपमा गोदना बनाउने गरिन्थ्यो । थारू हस्तकला बेर्रा, भौका, भौकी, ढक्या, पैनसटोपी आदि बनाउने चलन थियो । एक महिना माइती बसेर दुलहाको घर जाँदा तिनै हस्तकलाका सामग्री साथमा लैजाने परम्परा थियो ।
घोराही उपमहानरपालिका–१७, गुलरियाकी ७२ वर्षीय रुन्ची विवाहका ती दिन सम्झनुहुन्छ, “म पनि पठलरीसँगै माइती फर्किएकी थिएँ अनि हातगोडामा गोदना खोपाएकी थिएँ ।”
रुन्चीले बिर्सनुभएको छैन हातखुट्टामा गोदना बनाउँदाको पीडा तर “कस्तो गोदना बनायौ रुन्ची ?” भनेर खुसीरामले पिँडुलामा हेर्दाका ती दिन सम्झिँदा रुन्ची अहिले पनि रोमाञ्चित बन्नुहुन्छ । एक महिना माइती बसेर घर फर्केपछि “कस्तो गोदना खोपायौ” भनेर छरछिमेकी र गाउँलेसमेत हेर्न आउने अनि उनीहरूले जिस्क्याउँदै दिने रमाइला प्रतिक्रियाले बेहुलीका मनमा कुतकुती लगाउँथ्यो । ती दिन सम्झेर रुन्ची अहिले पनि मुस्कुराउनुहुन्छ ।
त्यस समय रुन्चीले मयूर जोडी, बेलना, चाल्नी चुल्हा बनाउनुभएको थियो । पछि श्रीमान् खुसीरामसँग अनुमति लिएर थप गोदना बनाउनुभयो । रुन्ची भन्नुहुन्छ, “चैत वैशाखमा फुर्सदको समय हुन्थ्यो, ग्वाला जान्थ्यौँ, उतै ग्वाला गएको समयमा एउटा दुइटा चित्र बनाएर गोदना बनाउँथे ।”
घोराही उपमहानगरपालिका–१७, गैरागाउँकी ७० वर्षीय चमेली चौधरीको पनि हातखुट्टाभरि गोदना खोपिएको छ । चमेलीकै आमा लवाङी स्वयम् गोदना कलाकार हुनुहुन्थ्यो । विवाहपछि पहिलो पटक माइत आउँदा आमा लवाङीबाटै चमेलीले गोदना खोपाउनुभएको थियो । चमेलीका अनुसार आमा लवाङीसँग गोदना बनाउने १६ वटा सुइयो थियो । गोदना बनाउने महिलाको घरमा लाइन हुन्थ्यो । घोराही आसपास धेरै थारू महिलाको गोदना त लवाङीले नै बनाउनुभएको थियो । विवाहित महिला रासनपानी लिएर बासै बस्ने गरी गोदना बनाउन आउँथे । चेमली भन्नुहुन्छ, “त्यहीबेला आमाले मलाई पनि गोदना खोप्न सिकाउनुभयो । गोदना बनाइदिएपछि खुसीले कसैले १०/१५ रुपियाँ पैसा दिन्थे, कसैले चामल, कुखुराको भाले र एक बोत्तल रक्सी दिन्थे ।”
स्थानीय ७३ वर्षीय छलाखी चौधरीले पनि विवाहपछि लवाङ थारूसँग गोदना बनाएको बताउनुहुन्छ । आमाले गोदना नबनाई पठलरी नपठाउने भनेपछि गोदना बनाउन गएको संस्मरण गर्दै छलाखी भन्नुहुन्छ, “१० रुपियाँ ज्याला दिएर दिनभरि लगाएर दुवै खुट्टा र हातमा गोदना बनाएको थिएँ । गोदना बनाएको सन्चो भएपछि श्रीमान्को घर गएँ ।”
गोदना कलाकार चेमली भन्नुहुन्छ, “आमा बितेपछि मैले पनि केही महिलाको गोदना बनाएँ । अहिले त गोदना बनाउने चलन पनि हराउँदै गयो ।”
त्यस समय थारू समाजमा विवाहित महिलाले अनिवार्य रूपमा गोदना बनाउने चलन थियो । सायद विवाहित महिलाको पहिचान पनि हुन सक्छ । किनकि त्यस समय थारू महिलाले विवाहमा सिउँदोमा सिन्दूर लगाउने चलन थिएन । घोराही उपमहानगरपालिका–७ का अगुवा बेझलाल चौधरीका अनुसार थारू महिलाको सिउँदोमा सिन्दूर हाल्ने चलन त्यस समय थिएन । यसैको सट्टामा थारू समुदायका विवाहित महिलाले ‘टीका छेड्ना’ गरेका हुन् ।
गोदनालाई टीका छेड्ना पनि भनिन्छ । थारू समुदायको परम्परागत कला हो, गोदना । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत जिल्लामा गोदनालाई टीका छेड्ना भन्ने गरिन्छ । पूर्वतिर गोदना भनिन्छ । विवाहित महिलाले दुवै खुट्टाको पैतालादेखि घुँडासम्मको भागमा गोदना बनाउने गर्छन् । फलामको सियोले हात र खुट्टामा खोपेर मयूर, मयूरका जोडी, घोडा, बेलना, चाल्नी, चुल्हा, हँसिया, काङ्गिया आदिको चित्र बनाउने चलन हुन्थ्यो ।
बेझलाल चौधरीका अनुसार विवाहित महिलाले एक साताभित्र आफ्नो हात र खुट्टामा टीका छेड्नुपर्ने परम्परा नै थियो । टीका छेड्नु भनेको विवाहित महिलाको पहिचान खुलाउने हो । विवाह संस्कारसँग जोडिएकाले विवाह भएको एक सातामा माइत फर्केपछि थारू महिलाले आफ्नो खुट्टा र हातमा गोदना बनाउनु पथ्र्यो । उहाँ थारू सभ्यता र थारू जातिको पहिचानसँग टीका छेड्ना जोडिएको बताउनुहुन्छ तर अहिले टीका छेड्ना थारू समुदायमा लगभग अन्त्य भएको अवस्था छ । यद्यपि टाटुका रूपमा थारू युवाले शरीरका विभिन्न भागमा खोपाउने गरेको पाइन्छ । पहिला जस्तो थारू समुदायमा यो संस्कृति मौलिक परम्पराका रूपमा अहिले चाहिँ छैन । उहाँ भन्नुहुन्छ, “टीका छेड्ना चलनले थारू महिलालाई कष्ट त दिएको थियो; यसले प्रेम, समर्पण, सौन्दर्यको भाव पनि दर्साउने गरेको थियो ।”
टीका छेडेपछि मरेपछि पनि स्वर्गमा बास पाइन्छ भन्ने विश्वास थारू समाजमा रहेको थियो । मरेर जाँदा निर्वस्त्र जानुपर्ने र एक्लै जानुपर्ने भएकाले शरीरमा कुँदिएको विभिन्न लौकिक तथा अलौकिक आकृतिसँगसँगै जान पाइने विश्वास थारू समुदायमा रहेको छ । रुन्चीको नन्दनी नाता पर्ने ३० वर्षीय सुशीला चौधरीले पनि १० वर्षअघि साथीको लहै लहैमा टाट बनाउनुभएको छ तर रुन्चीको जस्तो गोदना होइन । सुशीला भन्नुहुन्छ, “हाम्रा बोइको खुट्टा, हातमा बनाएको गोदना देखेको छु तर बोइले बनाउने गोदना, बनाउने ठाउँ र हामीले बनाएको टाटु, चित्र र ठाउँ फरक छ ।”
कहाँ खोप्ने के खोप्ने
विशेष गरी हात र खुट्टामा बनाइन्छ गोदना । नाडी, हात र घुँडाभन्दा मुनिका भागमा खोपाइने गोदनामा धेरै जसो मयूर जोडी बनाइन्छ । त्यसपछि बेलना, चुलो, काइँया, चाल्नी, ह्याङ्गा, हँसिया, ठक्रा (कपाल झार्ने ब्रस) आदिको चित्र बनाइन्छ । यस्तै पाखुरामा चराको आकृति, आफ्नो वा पतिको नाम, फूल, घोडा आदिको आकृति बनाइन्छ ।् गोडाको अघिल्लो भागमा सबैभन्दा तल चुलो, त्यसपछि क्रमशः भातको सिट्ठा, कायौँ (काँगियो), ह्याङ्गा, हँसिया, घोडाको जोडी, मयूर र चराका खुट्टा बनाइन्छ । त्यस्तै गोडाको पछाडिको भाग (पिँडौला) मा सबैभन्दा तल (कुर्कुच्चामाथि) घोडा, त्यसपछि भातको सिट्ठा, कायौँ, फूलका बुट्टा र त्यसमाथि मयूरको जोडी चित्र बनाइन्छ ।
त्यस्तै पाखुरामा मयूरको जोडी, बेलना, चाल्नीको चित्र बनाइन्छ । कतिपयले आफ्नो नाम र पतिको नाम जोडेर पनि लेख्ने गर्छन् । कतिपयले पतिको नाम या आफ्नो नाम मात्र पनि खोपाउने गर्छन् ।
कसरी बनाइन्छ ?
गोदना कुन्दन दुई/तीन दिनसम्म लाग्ने गर्छ । गोदना कुँद्नुअघि जहाँ गोदना बनाउने हो, त्यस ठाउँमा लेप लगाइन्छ । लेप बनाउन बत्ती या हाँडीको कालो धुवाँ निकालिन्छ । त्यसमा हुक्का चिलिमको पानी मिसाएर फिटिन्छ । त्यसलाई बाक्लो लेप बनाइन्छ । त्यसपश्चात् चार/पाँच वटा सियोले जुन जुन चित्र कुँद्नुपर्ने हो, कँुदिन्छ । त्यस्तो बेला कँुदिएको ठाउँबाट रगत निस्कन्छ । रगत सुकेपछि गाईको गोबरले सफा गरिन्छ । गोदनालाई निलो रङ दिनुप¥यो भने कडु तेल लगाइरहनु पर्छ । गोदना अधिकांश कालो रङको हुने गर्छ ।