रोल्पा, सल्यान, प्युठान, रुकुम, दाङलगायत वरपरका जिल्लाबाट किनमेल गर्ने बजार थियो– कोइलाबास । मोटरबाटोको त्यति सुविधा थिएन, त्यो समय । हिँडेरै पुग्थे– कोइलाबास । नुनतेल, लत्ताकपडा, मरमसला, सुनका गरगहना किनमेल गर्थे– उपभोक्ता । दाङ जिल्लाको पहाडी क्षेत्र कोइलाबास नेपाल–भारतको महत्वपूर्ण नाकासमेत थियो । यतिबेला भने सुनसान, उजाड र खण्डहर बनेको छ– कोइलाबास । यसो भन्दैमा स्थानीय कहाँ चुप लागेका छन् र ? कोइलाबासको त्यो चहलपहल, लय र बैँस फर्काउन प्रयत्नरत छन्– स्थानीय । कोइलाबाससम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । बजार पनि विस्तार गरिने क्रममै छ । गढवा गाउँपालिका–८ का अध्यक्ष अब्दुल खलिक सिद्दिकी भन्नुहुन्छ, “कोइलाबाससँग जोडिएको राप्ती उपत्यकालाई लुम्बिनी प्रदेश राजधानी घोषणा गरिएपछि कोइलाबासको चर्चा पुनः सुरु भएको छ । पहिलाभन्दा अहिले कोइलाबासमा चहलपहल बढेको छ ।”
लुम्बिनी प्रदेशको राजधानी भालुवाङ (राप्ती उपत्यका) बाट करिब ४८ किलोमिटर टाढा छ– कोइलाबास । भारत आउजाउका लागि समेत राप्ती अञ्चलका मानिस यही नाका प्रयोग गर्थे । भारतका लखनउ, दिल्ली, मुम्बई, अमृतसर आउजाउ गर्नेका लागि सजिलो नाका यही थियो ।
कोइलाबास नाकालाई पुनः सञ्चालनमा ल्याउनुपर्ने माग स्थानीयको छ । वडाध्यक्ष सिद्दिकी भन्नुहुन्छ, “कोइलाबास नाका खुलेमा समग्र लुम्बिनी प्रदेशको आयस्रोत बढ्छ । कोइलाबासको पुरानो वैभव र समृद्धि फर्किन्छ । यसले प्रदेशलाई आर्थिक रूपमा समृद्ध र बलियो बनाउन सहयोग पुग्छ । त्यसैले यो नाकालाई सरकारले पूर्ण रूपमा खोल्नु पर्छ ।” उहाँ थप्नुहुन्छ, “त्यसबेला बलेको कोइलाबास अहिले निभेको जस्तै छ । अब निभेको कोइलालाई बलेको कोइला जस्तै हराभरा बनाउन यहाँको नाका अनिवार्य खोल्नु पर्छ ।”
कोइलाबासबाट भारतको बलाम्पुर बजार १५ किलोमिटर मात्रै टाढा छ । अहिले पनि कोइलाबासका बासिन्दा भारतको बलाम्पुर र तुलसीपुरमा किनमेल गर्न आउजाउ गर्छन् । कोइलाबासदेखि लमही बजार ३३ किलोमिटर छ । त्यही भएर लमहीका स्थानीय अझै पनि भारतको बलाम्पुर, तुलसीपुर बजारमा नजिक मानेर दाल, चामल, चिनीलगायत दैनिक उपभोग्य वस्तु किनमेल गर्न उतै जान्छन् । स्थानीय पतिराम यादवका अनुसार लमही बजारबाट कोइलाबास जान ३३ किलोमिटर पर्छ । त्यही भएर घोराही बजारभन्दा कोइलाबास नजिक हुने भएकाले आफूहरू किनमेलका लागि कोइलाबास जाने गरेको पतिराम बताउनुहुन्छ ।
कोइलाबासमा बसोबास
पूर्वपश्चिम राजमार्गमा पर्छ– लमही बजार । लमहीबाट ३३ किलोमिटर दक्षिणमा रहेको कोइलाबास कुनैबेला घना जङ्गल थियो । महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक सुदीप गौतमका अनुसार घना जङ्गलमा स्थानीयहरू बनकस काट्न र हलो जुवा बनाउन जान्थे । त्यहीबेला जङ्गलमा दाउरा जलाएर कोइला (ग्वाल) बनाइन्थ्यो । त्यही कोइला हँसिया, कोदालीलगायत हातहतियार, भाँडाकुँडा र औजार बनाउन प्रयोग हुन्थ्यो । यसै कारण यस स्थानको नाम कोइलाबास हुन गएको धेरैको भनाइ छ ।
इतिहासकार केबी मसालका अनुसार कोइलाबास कुनै बेला घना जङ्गल थियो । त्यहाँका स्थानीय थारूलगायत जङ्गलमा ग्वाला जान्थे, आफूहरूलाई बस्न ससाना गोठ बनाउँथे । त्यही गोठमा बसेर उनीहरू दाउरा, मुढा जलाएर कोइला (गोल) बनाउँथे ।
कोइला पाइने ठाउँ भएको र सोही ठाउँमा बसोबास थलिएकाले उक्त ठाउँको नाम कोइलाबास हुन गएको मानिन्छ । केबी मसालका अनुसार अङ्ग्रेजका फौजले अहिलेको कोइलाबासभन्दा माथि डाँडासम्म हाम्रो पर्छ भनी झन्डा गाड्न थालेका थिए । त्यही समयमा गाईभैँसीको गोठ चुरेका डाँडामा राख्दै गाईवस्तु चराउने देउखुरीका थारूसँग अङ्ग्रेज फौजको विवाद भयो । अङ्ग्रेज फौजहरूसँग विवाद बढ्दै गएपछि अङ्ग्रेज फौजले प्रमाण माग्न थाले । त्यही क्रममा थारूहरूले आफ्नो गोठभित्रको जमिन खनेर कोइला देखाएपछि अङ्ग्रेज फौज फर्किएको थियो । त्यसपछि उक्त ठाउँको नाम कोइलाबास रहन गएको लोककथन पाइन्छ ।

इतिहासकार सुदीप गौतमका अनुसार पछि बिस्तारै बस्ती बस्दै गयो । बस्ती बढेपछि १९५० सालमा प्रभु बानियाँले कोइलाबासमा बजार बसाएका थिए । त्यसपछि कोइलाबासमा जिल्ला विद्युत्, हुलाक, भन्सारलगायत सरकारी कार्यालय स्थापना गरिएको थियो । कोइलाबासमा २००७ सालअगाडि नै छन्दबहादुर शाहले नगर पञ्चायत गठन गरेकोसमेत बताइन्छ । त्यसपछि बिस्तारै कोइलाबास दाङ जिल्लाको प्रमुख नाकाका रूपमा स्थापित हुन पुग्यो । लेखक केबी मसालका अनुसार कुनै बेला कोइलाबास मुलुककै ठुलो नाकाका रूपमा परिचित थियो । २०४१ सालमा निर्मित राप्तीद्वारले पनि कोइलाबासको ऐतिहासिक तथ्यलाई उजागर गर्छ । कोइलाबासभन्दा पहिला राणाकालमा राजपुरको खाग्रा र भौवा नाका चलनचल्तीमा थियो । पछि सबैको सहजको हिसाबले कोइलाबास नाकालाई प्रमुख नाका बनाइएको थियो ।
मुक्ति सेनाको कब्जा
विसं २००७ तिर कोइलाबासमा प्रहरी चौकी र बजार अड्डा थियो । नेपाली कांग्रेसले राणाविरुद्ध सुरु गरेको सशस्त्र सङ्घर्षका क्रममा कोइलाबास प्रहरी चौकीमा समेत आक्रमण गरिएको थियो । लेखक मसालका अनुसार गोवरडिहाका भक्तनारायण चौधरी नेतृत्वको कांग्रेसको मुक्ति सेनाले कोइलाबास आक्रमण गरी बजार नियन्त्रणमा लिएको थियो । त्यसपछि नेपाली कांग्रेसले चारतारे झन्डासहित विजय जुलुस निकालेको थियो । २०१० सालमा बिपी कोइरालाले भारतीय भूमिबाट कोइलाबास हुँदै गोबरडिहा आएर राजनीतिक गतिविधि सञ्चालन गरेका थिए । उहाँका अनुसार २००७ सालको क्रान्तिमा देउखुरीको प्रशासनिक केन्द्र घोराही चौकी पनि आक्रमणमा परेको थियो । दाङ–देउखुरीमा नयाँ गोश्वारा स्थापना भई अनिरुद्रप्रसाद सिंह पहिलो बडाहाकिम बनेका थिए ।
कोइलाबास नाकामा माओवादीले पनि आक्रमण गरेका थिए । २०५९ पुस ३ मा माओवादी आक्रमणपछि कोइलाबासका सबै सरकारी कार्यालय विस्थापित भएका थिए । त्यसपछि कोइलाबास सुनसान मात्रै होइन, खण्डहर हुन पुगेको मसाल बताउनुहुन्छ ।
उहाँका अनुसार कोइलाबासमा पहिला भन्सार, विद्युत् इलाका हुलाक, स्वास्थ्य चौकी, सीमा प्रहरी चौकी, राष्ट्र बैङ्कको सटही काउन्टर, नेपाल बैङ्क लिमिटेडको शाखा, वन विभाग, क्वारेन्टिन चेकपोस्ट, जडीबुटी निकासी, जनकपुर चुरोट कारखाना र साल्ट ट्रेडिङको कार्यालयसमेत रहेको थियो ।
जङ्गबहादुरले जोगाए
कोइलाबासलाई जोगाउन श्री ३ प्रधानमन्त्री जङ्गबहादुर राणाको महत्वपूर्ण भूमिका रहेको इतिहास पाइन्छ । लेखक केबी मसालका अनुसार जङ्गबहादुरको अडान नभएको भए कोइलाबासको भूमि भारतको हुने अवस्था थियो ।
उहाँका अनुसार सन् १८६९ मा नेपाल र ब्रिटिस इन्डियाबिचको सीमा सर्भेको समयदेखि नै दाङ देउखुरीको दक्षिणी सीमावर्ती चुरे र डुडुवा सीमारेखा कहाँ मान्ने भन्नेबारेमा विवाद थियो । नेपालले सन् १८७४ मा आफूले भोगचलन गरिरहेको सम्पूर्ण भूभागमाथि आफ्नो दाबा प्रस्तुत ग¥यो । विवाद बढ्दै गएपछि ब्रिटिस भारतका भाइसराय गभर्नरबाट डुडुवा चुरेको पानीढलो विवादबारे छिनोफानो गर्न संयुक्त आयोग गठन भएको थियो । सुगौली सन्धिपछि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर इस्ट इन्डिया कम्पनीले फिर्ता गरे पनि कोइलाबास भारतकै सीमाभित्र प¥यो । त्यसको १४ वर्षपछि सन् १८७४ मा श्री ३ जङ्गबहादुरले कलकत्ताको गभर्नर जनरल परिषद्मा कोइलाबासको कुरा उठाए । त्यसपछि मात्र कोइलाबास नेपालको भएको इतिहासकार मसाल बताउनुहुन्छ ।
विस्थापनको कथा
पूर्वपश्चिम महेन्द्र राजमार्ग बनेपछि र नेपालगन्जको जमुनाह नाका प्रयोगमा आएपछि कोइलाबास नाका बिस्तारै सुनसान हुँदै गएको थियो । राजमार्ग निर्माणपछि सडकवरपर कैयौँ नयाँ नयाँ सहर विकास भए, जसले गर्दा कोइलाबास बजार थलिँदै गयो । कोइलाबासका व्यापारी नयाँ बजारतिर विस्तार हुँदै गए । अन्ततः कोइलाबास बजार सुक्यो, बस्ती मात्र रह्यो । बहुदलीय व्यवस्थापछि राजनीतिक खिचातानीकै कारण पनि कोइलाबास नाका ओझेलमा परेको इतिहासकार मसाल बताउनुहुन्छ ।
उहाँका अनुसार पूर्वपश्चिम राजमार्ग खुलेपछि कोइलाबासमा भएका कार्यालय राजमार्गनजिकको घोराही सारिए । त्यसपछि बिस्तारै कोइलाबास विस्थापित हुँदै गयो । मुख्य मुख्य कार्यालय घोराही सारिए पनि त्यहाँ गाविस कार्यालय, भन्सार कार्यालय, प्रहरी प्रशासन थियो । २०५९ पुस ३ गते माओवादीले आक्रमण गरेपछि भने कोइलाबास पूर्णतः विस्थापित हुन पुग्यो ।

लयमा फर्काइने
गढवा गाउँपालिका–८ मा पर्ने कोइलाबासमा अहिले १८४ परिवारको बसोबास छ । मुस्लिम समुदायको बाहुल्य रहेको कोइलाबास पहिलाभन्दा अहिले बिस्तारै लयमा फर्किंदै गरेको वडाध्यक्ष सिद्दिकीको भनाइ छ । उहाँका अनुसार कोइलाबासमा वडा नम्बर ८ को कार्यालय, प्रसिद्ध रामजानकी मन्दिर, भन्सार कार्यालय, हुलाक, विद्युत् कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय छन् । खण्डहर बनेका भवन मर्मतसम्भार गर्ने र पुनः नयाँ संरचना बन्ने क्रममा छन् । कोइलाबासको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा पूर्वाधार विकासको कामले गति लिएको अध्यक्ष सिद्दिकीको भनाइ छ । कुनै बेला ठप्प रहेको कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन सुरु भएको छ । कोइलाबास भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार चौमासिक रिपोर्टका आधारमा लक्ष्यभन्दा १८ लाख रुपियाँ कम राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयले पहिलो चौमासिक अर्थात् कात्तिकसम्म ५७ लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३९ लाख ५८ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गर्न सकेको छ । कुनैबेला वीरगन्जपछि धेरै कारोबार र राजस्व सङ्कलन हुने नाकाका रूपमा कोइलाबास रहेको थियो ।
पर्यटक ल्याउने प्रयास
कोइलाबासमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गएको छ । वडाध्यक्ष सिद्दिकीका अनुसार त्यसबेलाको कोइलाबासको इतिहास बुझ्न, त्यो समयको वैभव हेर्नसमेत पर्यटक आउने गरेका छन् । रामजानकी मन्दिरमा दर्शन गर्न पनि भक्तजन आउने गरेका छन् । कोइलाबास हुँदै पदमार्ग, साइक्लिङ मार्गको विकास गर्न सकिने सम्भावना पनि उत्तिकै रहेको वडाध्यक्ष सिद्दिकीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “भारतीय पर्यटकलाई कोइलाबास हुँदै नेपाल भित्र्याउन सक्ने हो भने पनि यो बजारको मुहार फेरिने छ ।”
भारतमा बिदा हुँदा कोइलाबासमा भिड लाग्छ । कोइलाबास क्षेत्र जङ्गल र उँचो पहाडमा भएकाले भारतीय पर्यटक यहाँ आएर रमाउन चाहन्छन् । स्वर्गद्वारीलगायत दाङका धार्मिक तथा पर्यटकीय स्थलमा आउन चाहने भारतीय पर्यटकलाई यही बाटो हुँदै ल्याउन सकिने वडाध्यक्ष सिद्दिकी बताउनुहुन्छ ।
कोइलाबासमा १४० वर्षअगाडि स्थापना गरिएको रामजानकी मन्दिर पनि रहेको छ । अहिले कोइलाबासको मुख्य आकर्षण नै यही मन्दिर बन्ने गरेको छ । कोइलाबास अवलोकन गर्न पुग्ने जोसुकै पर्यटक रामजानकी मन्दिर दर्शन गर्न पुगेकै हुन्छन् । कोइलाबासनिवासी असर्फी गुप्ताकी पत्नी धन्नादेवी गुप्ताले सन् १८८५ अर्थात् १९४२ सालमा रामजानकी मन्दिर निर्माण गरेको इतिहासकार मसाल बताउनुहुन्छ ।