• १४ पुस २०८२, सोमबार

आर्थिक सदाचारले देखायो प्रशासन सुधारको बाटो

blog

काठमाडौँ, पुस १३ गते । आर्थिक सदाचारलाई केन्द्रमा राखेर गरिएको विद्यावारिधि (पीएचडी) अनुसन्धानले नेपालको सार्वजनिक प्रशासन सुधारका लागि नयाँ बाटो देखाएको छ । नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रअन्तर्गत व्यवस्थापन सङ्कायबाट डा. त्रिलोचन पौडेलले ‘आर्थिक सदाचारको पौरस्त्य मान्यताका आधारमा नेपालको सार्वजनिक प्रशासन’ विषयमा पीएचडी अनुसन्धान सम्पन्न गर्नुभएको हो ।

शोधले पौरस्त्य दर्शन र आधुनिक सार्वजनिक प्रशासनिक सिद्धान्तको संयोजनमार्फत नेपालमा भ्रष्टाचारमुक्त, पारदर्शी, जवाफदेही र दक्ष प्रशासन निर्माण गर्न सकिने निष्कर्ष निकालेको छ । पौराणिक ग्रन्थमा निहित नैतिक शिक्षा, सदाचार र सत्यनिष्ठालाई नीतिगत तथा व्यवहारिक रूपमा लागू गर्न सके सुशासन सुदृढ हुने अध्ययनले देखाएको छ ।

डा. पौडेलका अनुसार वेद, उपनिषद्, रामायण, महाभारत, श्रीमद्भगवद्गीता, पुराण तथा कौटिल्यको अर्थशास्त्रमा आधारित आर्थिक सदाचारलाई आधुनिक प्रशासनिक व्यवस्थासँग जोडेर व्यावहारिक नीतिगत मार्गदर्शन प्रस्तुत गरिएको छ । पौरस्त्य दर्शनले धन आर्जनलाई सधैँ धर्मको अधीनमा राख्नुपर्ने र सार्वजनिक स्रोतको उपयोग न्यायोचित, पारदर्शी र जवाफदेही हुनुपर्ने मान्यता अघि सारेको छ ।

शोधमा गुणात्मक र परिमाणात्मक विधि संयोजन गरी मिश्रित अनुसन्धान पद्धति अपनाइएको छ । सार्वजनिक प्रशासन क्षेत्रका अनुभव प्राप्त २२ जना विज्ञसँग गहिरो अन्तर्वार्ता लिइएको थियो । अन्तर्वार्तामा सहभागी ६० प्रतिशत विज्ञले पौरस्त्य दर्शन, नैतिक शिक्षा र संस्कारलाई प्रशासन सुधारको आधार बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । बाँकी ४० प्रतिशतले आधुनिक सार्वजनिक प्रशासनिक प्रणालीसँग आर्थिक सदाचारलाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । दुवै समूहले नीति निर्माण र कार्यान्वयनमा पौरस्त्य दर्शनको इमान्दार प्रयोग भए आधुनिक प्रशासन अझ प्रभावकारी हुने साझा निष्कर्ष निकालेका छन् ।

शोधले सार्वजनिक प्रशासन अध्ययनमा देखिएको महत्त्वपूर्ण अन्तराललाई पनि उजागर गरेको छ । विगतका अधिकांश अध्ययनहरू भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता र अन्तर्राष्ट्रिय अभ्यासमा केन्द्रित रहे पनि पौरस्त्य दर्शनका नैतिक पक्षलाई पर्याप्त समेट्न नसकेको निष्कर्ष शोधमा उल्लेख छ । धर्म, नीति, सदाचार, सत्यनिष्ठा र मानवीय मूल्यजस्ता विषयलाई प्रशासनसँग जोडेर अध्ययन नगरेसम्म दीर्घकालीन सुधार सम्भव नहुने दाबी गरिएको छ ।

डा. पौडेलले पौरस्त्य पुरुषार्थ सिद्धान्त (धर्म, अर्थ, काम र मोक्ष), म्याक्स वेबरको तर्कसंगत प्रशासनिक संरचना र क्रिस्टोफर हूडको नयाँ सार्वजनिक व्यवस्थापन अवधारणालाई समन्वय गर्दै नेपाली प्रशासनको सबल र दुर्बल पक्षको विश्लेषण गर्नुभएको छ । यस आधारमा प्रभावकारी प्रशासनिक संरचना, सबल संस्थागत व्यवस्था, नैतिक शिक्षाको व्यवहारिक उपयोग र खर्चमा मितव्ययीपनलाई प्रमुख सिफारिसका रूपमा अघि सारिएको छ ।

शोधमा उल्लेख भएअनुसार श्रीमद्भागवतको श्लोकले आवश्यकताभन्दा बढी धन सङ्कलन गर्नु भ्रष्टाचारसरह हुने सन्देश दिन्छ । यही दर्शनलाई सार्वजनिक प्रशासनमा आत्मसात् गर्न सके स्रोतको दुरुपयोग रोक्न, सार्वजनिक विश्वास बढाउन र सुशासन कायम गर्न सहयोग पुग्ने अध्ययनको ठहर छ ।

डा. पौडेलले ३६ वर्षभन्दा बढी सार्वजनिक प्रशासन क्षेत्रमा कार्यअनुभव हासिल गर्नुभएको छ । हाल उहाँ नेपाल नागरिक उड्डयन प्राधिकरणमा ११ औँ तहको निर्देशक पदमा कार्यरत हुनुहुन्छ । लामो प्रशासनिक अनुभवका आधारमा गरिएको यो अनुसन्धानलाई नीतिनिर्माता, प्रशासक, शैक्षिक संस्था र प्रशिक्षण केन्द्रका लागि उपयोगी मार्गदर्शनका रूपमा लिइएको छ ।

विश्वविद्यालयका अनुसन्धान निर्देशकले यस शोधलाई सार्वजनिक प्रशासन क्षेत्रमा क्रान्तिकारी योगदानको रूपमा मूल्याङ्कन गर्नुभएको छ । एक वरिष्ठ प्रशासकले पौरस्त्य दर्शनको वैज्ञानिक अध्ययनले नेपाली प्रशासनलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

यो अनुसन्धानले पौराणिक ज्ञान र आधुनिक व्यवस्थापनबिच सेतु निर्माण गर्दै नेपाली सार्वजनिक प्रशासनमा नैतिक पुनरुत्थानको सन्देश दिएको छ । व्यवस्थापन सङ्कायबाट सम्पन्न यो विद्यावारिधि शोधले देशव्यापी रूपमा सकारात्मक चर्चा पाएको छ । आर्थिक सदाचारलाई व्यवहारमा उतार्न सके नेपालको सार्वजनिक प्रशासन अझ विश्वसनीय, सक्षम र जनउत्तरदायी बन्ने अपेक्षा गरिएको छ ।