• १३ मंसिर २०८२, शनिबार

वास्तुकलाको अपूर्व सङ्गम

blog

मिथिलाकी छोरी सीता । राजर्षि जनककी राजकुमारी भएर जनकपुरधामको दरबारमा हुर्केकी सीता वास्तवमा समग्र मिथिलाकै छोरी हुन् । उनी पृथ्वी स्वरूपा हुन् । राजा स्वयम् किसान भएर हलो जोत्ने क्रियाको प्रसङ्गले सीताको जन्मको महात्म्यलाई झनै महान् बनायो । माता जानकीको प्रादूर्भाव हुनु, बालक्रीडा गर्नु, भगवान् रामले शिव धनुष भङ्ग गर्नु जस्ता ऐतिहासिक प्रसङ्गले वैदिककालदेखि नै मिथिलालाई दर्शनीय स्थल बनाएको जानकी मन्दिरलाई आरम्भदेखि नै आस्था र विश्वासका रूपमा दर्शन–पुजन गरिन्छ । 

जानकी मन्दिरलाई नौलाखा, सीता प्यालेस र सिसमहलको नामले पनि चिनिन्छ । भनिन्छ, भारत, मध्यप्रदेशका टिकमगढस्थित ओरक्षा नरेश महाराजा प्रताप सिंह यहाँको ख्याति सुनेर आफ्नी रानी वृषभानु कुँवरीका साथ एक दिन यहाँ आएका थिए । उनी निःसन्तान थिए । रानीले पुत्र प्राप्त गरेमा नौ लाख रुपियाँ लगाई एक भव्य मन्दिर बनाउने भाकल गरिन् । कालान्तरमा रानीलाई पुत्र प्राप्ति भयो र उनले नौ लाख रुपियाँ लगाएर यो मन्दिर निर्माण गराएकाले यो मन्दिर नौलाखा मन्दिरका नामले पनि प्रख्यात छ । 

साहित्यकार श्याम सुन्दर शशि लिखित जनकपुरधामको इतिहास नामक पुस्तकका अनुसार सन् १८९६ (विसं १९५२ माघ २८ गते) जानकी मन्दिरको सिलान्यास गरिएको थियो । इतिहासकार शिवेन्द्रलाल कर्णका अनुसार जानकी मन्दिरका १२ औँ महन्थ रामकृष्ण दासका कार्यकाल ११ फेब्रुअरी १९११ (विसं १९६७ माघ २८ गते जानकी मन्दिरको उद्घाटन गरिएको बताइन्छ । यसरी जानकी मन्दिरको शिलान्यास र उद्घाटनको तिथिमितिमा एक मतैक्यता नभए पनि जानकी मन्दिरको शतवार्षिकी समारोह २०५१ वैशाख १ गते तद्अनुसार सन् १९९४ अप्रिल १४ तारेखका दिन भएको साहित्यकार शशिले स्पष्ट पारेका छन् । उनका अनुसार जानकी मन्दिरका वर्तमान महन्थ रामतपेश्वर दास वैष्णवले शतवार्षिकी समारोह शिलान्यास भएको मिति तिथि अनुसार नै मनाइएको दाबी गर्छन् । यसरी मन्दिरको सिलान्यास कहिले भयो भने स्पष्ट आधार पाउन गाह्रो नै छ । 

यसरी इतिहासकारका अनुसार मन्दिरको निर्माण टिकमगढका राजा प्रतापनारायण सिंह र उनकी पत्नी वृषभानु कुँवरीले गराएका थिए । मन्दिर निर्माण कार्य पूरा हुन १२ वर्ष समय लागेको बताइन्छ । इतिहासकारका अनुसार मन्दिरको शिलान्यास विसं १९५२ माघ २८ गते र मूर्तिको प्राण–प्रतिष्ठा विसं १९६७ माघ २८ गते भएको हो । यस अवसरमा महारानी वृषभानुको मृत्यु भइसकेकाले दोस्रो महारानी गणेश कुँवरीको सहभागिता रहेको उनीहरू उल्लेख गर्छन् । उनीहरूका अनुसार यस मन्दिरको निर्माण त्यस बेलाका बेलायती महारानीका चाँदीका सिक्का तीन चार लाख रुपियाँ खर्च भएको थियो । अन्वेषक मदन रिमालले यो मन्दिर बनाउन नौ लाख रुपियाँ सङ्कल्प गरिए पनि करिब १५ लाख रुपियाँ खर्च भएको बताउँछन् । 

भनिरहनु पर्दैन, मन्दिर स्थापित गर्ने श्रेय १७ औँ शताब्दीका सन्त सुरकिशोर दासलाई दिइने गरिन्छ, त्यसमा टिकमगढकी महारानी वृषभानु कुँवरीले सन् १९११ तिर नौ लाख रुपियाँ लगानी गरेकी हुन् । गढकी महारानी भए पनि वृषभानुले पुरलाई सुहाउने गरी महल शैलीमा मन्दिर निर्माण गराएकी थिइन् । जानकी मन्दिरको गर्भगृह देवालय जस्तो छ भने बाहिरी संरचना दरबार आकार–प्रकारको । उपयोग र संरचनाबिचको द्वन्द्वबाट मन्दिर परिसर मुक्त छैन ।

मुगल वास्तुशैली र हिन्दु वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको यो मन्दिर हेर्दा वास्तु कलाकारिताको विलक्षण स्वरूप देखिन्छ । मुगल र राजपुताना शैलीमा निर्मित यस मन्दिरमा मिथिलाको वास्तुकलाको प्रयोगसमेत भएको पाइन्छ । मन्दिरको मुख्य प्रवेशद्वार उपर गणेश र माछाको तस्बिरले यस कुराको पुष्टि गर्छ । सीताको सम्झनामा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा निर्माण गरिएको यस मन्दिरको सुन्दरता र भव्यता आफैँमा विशिष्ट छ । उनान्पचास हजार ५५५ वर्ग फिटमा फैलिएको मन्दिर करिब ५० फिट अग्लो छ । पूर्वतर्फ फर्किएको मन्दिरको शोभा चारैतिरका ठुला र साना गुम्बजहरूले सजाइएको छ भने चारैतिर विभिन्न रङका रङ्गीचङ्गी फूलबुट्टाले सिँगारिएका छन् । 

मन्दिरमा ६० वटा कोठा रहेका छन् । यीमध्ये शिश गर्भगृह विशेष महत्वपूर्ण छन् भने मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक छ । चारै कुनामा तीन तीन वटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाका साथै अन्य साना ठुला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गँजुर, फराकिलो परिसर, अर्धवृत्त आकारको प्रवेशद्वार र प्रवेशद्वारको दुवैतिर र माथि एक जोडी सिंहको बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको देखिन्छ । यसबिच २०७२ वैशाख १२ गतेका दिन नेपालमा आएको विनाशकारी भूकम्पले गर्दा केही बुर्जा, गुम्बज क्षतिग्रस्त भए । व्यवस्थापकीय कमजोरी, सरसफाइ हुन नसकेका कारण मन्दिरको अवस्था दिनप्रतिदिन जीर्ण हुँदै गएको छ । 

यसरी जनकपुरधामको ऐतिहासिकता खोतल्दै जाँदा त्रिपिटक एवं उपनिषद्सम्बद्ध मिथकसम्म पुग्न सकिन्छ । विदेह गणराज्यको राजधानी मिथिला एवं त्यहाँका ‘जनक’ भनिने प्रजापालकका गाथा किंवदन्तीमा समेत भेट्टाइन्छ तर मिथिलाको राजधानी कुनै सैनिक ‘गढ’ नभएर सौन्दर्यको ‘पुर’ थियो भन्ने विवरण–चित्रण लोकप्रिय बनाउने श्रेय आमभाषामा काव्य रचना गर्ने विलक्षण कवि गोस्वामी तुलसीदासलाई दिइनु पर्छ । सीता के रामसँग अवध गइन्, जनकपुरधामको श्री पनि उनीसँगै समयमा समाधिस्थ भयो ।

सिम्रौनगढका कर्नाट (सन् १०९७–१३२४) शासकको पालामा स्वामी रामानुज प्रर्वदधित वैष्णव परम्पराले मिथिला क्षेत्रमा व्यापकता पाएको हुनु पर्छ । कर्नाट राज्य पतन भएपछि पनि देवस्थान–महन्थ प्रचलनले गर्दा धर्मस्थलको प्रभाव घट्न पाएन । कालान्तरमा मकवानपुरका सेन राजाहरूले समेत वैष्णव संस्कृतिलाई संरक्षण दिए । गोर्खालीहरूको वर्चस्व स्थापित भएपछि नाथ सम्प्रदायका योगीको प्रभाव विस्तार त भयो तर स्वामी रामानन्दबाट नयाँ ऊर्जा पाएको वैष्णव पथ कमजोर हुन पाएन । देवशमशेरलाई धपाएर श्री ३ को श्रीपेच हत्याएका चन्द्रशमशेरको पालासम्म जनकपुरधामका सन्त निकै प्रभावशाली भइसकेका थिए । प्रत्तापशमशेर एवं रामशमशेरसँगै राजा मानबहादुर सिंह तथा राजा तारकबहादुर शाह जाडो याममा मिथिला झर्ने गर्दथे । 

जनकपुरधामको परिचय दिने श्रेय राममन्दिरका आदि महन्त सन्न्यासी चर्तुभूज गिरी र जानकी मन्दिरका पहिलो महन्त सुरकिशोर दासलाई दिइन्छ । प्राचीन विदेह वा मिथिलाको राजधानी जनकपुरधाम अहिलेको जनकपुरधाम रहेको स्थल नै हो भनी पहिचान गराउने श्रेय पनि उनै महन्तलाई दिइन्छ । मन्दिर रहेको स्थानमा पहिले एउटा नीमको रुख थियो । १७ औँ शताब्दीको अन्त्यतिर सोही स्थानमा ती महन्त विश्राम गर्न सुतेका थिए । उनलाई त्यसै बखत सपनामा देवी सीताले यसै स्थानमा आफ्नो पिताको दरबार रहेको बताएको लोक कथन पाइन्छ । त्यसपछि महन्तले त्यस स्थानमा एक झुपडी बनाई पूजाआजा गर्न थाले । यिनकै समयदेखि यसको ख्याति बढ्न थाल्यो र मानिसहरू घनाजङ्गलभित्र रहेको स्थानमा पूर्णिमा तथा पवित्र पर्वहरूको अवसरमा यहाँ आई स्नान र पूजाआजा गरी फर्कन्थे ।

यस ठाउँको ख्याति सुनेर मकवानपुरका राजा इन्दुविधाता सेनले सन् १७०७ मा एक हजार ४०० बिघा सीतारामको भोगरागका लागि कुश बिर्ता दान गरेका थिए । यस्तै विसं १७९० फागुन ७ गतेका दिन हेमकर्ण सेनले जग्गाको सिमाना गुठी थामिदिएको र नेपालको एकीकरणपछि पृथ्वीनारायण शाहले सो जग्गा कुश बिर्ताकै रूपमा उपलब्ध गराएको विसं १८६७ को गीर्वाणयुद्ध वीरविक्रम शाहको लालमोहरमा उल्लेख छ । यसै लालमोहरबाट गीर्वाणयुद्ध विक्रम शाहले बिर्ता पक्का ठहराइ चार किल्लाको सिमाना तोकी लालमोहर ताम्रपत्र गरी जानकीको नित्य पूजा गरी सदाव्रत चलाई शिष्य परम्परा अनुसार भोग गर्ने आदेश दिएको बताइन्छ । मन्दिरमा प्रत्येक धार्मिक पर्वहरू विशेष गरेर विवाहपञ्चमी, रामनवमी, झुलन पर्व, जानकी नवमी, कोजाग्रत पूर्णिमा र अन्नकुट धुमधामका साथ मनाइन्छ । यी पर्वमा देशविदेशका असङ्ख्य श्रद्धालुहरूको सहभागिता हुने गरेको छ ।

शासकलाई माटोसँग जोड्ने यो कथामा अन्तरनिहित अर्थराजनीतिको सन्देश बिर्सने बिस्तारै इतिहासका पानामा बिलाउँदै जान्छन् तर जनजीवनसँग जोडिएका पात्र हजारौँ वर्षसम्म पनि जनजिब्रोमा झुन्डी नै राख्छन् । समयको क्रूरताबाट संस्कृति पनि अछुतो रहन सक्दो रहेन छ । मिथिलाको महत्ता स्थापित हुन नसकेको अर्को प्रमुख कारण यस क्षेत्रको अर्थराजनीतिको विसङ्गति पनि हो । इतिहासको एउटा कालखण्डमा मिथिलाकी छोरी नेपाल अधिराज्यकी महारानीसमेत भइन् तर काठमाडौँमा राणाहरूको उदय भएदेखि नै जनकपुरधाम क्षेत्रले शाह, राणा शासकको कोप नै बेहोर्नु प¥यो धेरै जसो । मुलुकको अन्य ठाउँमा गरिएको सार्वजनिक लगानीको दशांश पनि जनकपुरधामले पाउन सकेको छैन । जानकी अयोध्या गएदेखि उनको माइतीको श्री नै हरायो । भनिन्छ, संस्कृति जतिसुकै जीवन्त भए पनि त्यसको प्रभुता कायम राख्नलाई कुनै न कुनै दरबारसम्म पहुँच हुनै पर्छ तर यसलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन सक्ने नेतृत्व जनकपुरधामले अझै पाउन सकेको छैन । यद्यपि भक्तको मनोकामना पूरा हुने व्यापक जनविश्वासले अझै पनि लाखौँ श्रद्धालुलाई जनकपुरधामले आकर्षित गर्छ । 

आजको दिनमा जनकपुर सहर गन्तव्यविहीन भए जस्तो प्रतीत हुन्छ । यसले आफ्नो विशिष्ट मौलिक चरित्र गुमाएको जस्तो अनुभव हुन्छ । जनकपुरधाममा धमाधम घर थपिँदै गए पनि यो उराठलाग्दो सहरको रूपमा आफूलाई विकसित गरिरहेको भान भइरहेको छ । यसको धार्मिक–सांस्कृतिक आधार कता हो, कता हराइरहेको जस्तो लाग्छ । यस सहरको वर्तमान निराशाजनक देखिन्छ र उन्नत भविष्यको स्पष्ट आधार भेटाउन गाह्रो छ । यसको कारण के हो भने जनकपुर सहर आफ्नै चारित्रिक द्वन्द्वमा फसेको छ । 

यस सहरको उक्त चारित्रिक द्वन्द्वको प्रकृति र प्रवृत्ति बुझ्न यसको ऐतिहासिक पृष्ठभूमिलाई खोतल्न नितान्त आवश्यक देखिन्छ । वर्तमान जनकपुरधाम सहरको निर्माणमा वैष्णव सम्प्रदायका सन्तको महत्वपूर्ण भूमिका रहेको छ । जनकपुरधाम सहर भने वैष्णव सम्प्रदायका निम्ति आकर्षणको केन्द्र बन्यो । पोखरीको घाटमा कूटी बनाई अनवरत सीतारामको जप गर्ने सन्तहरूले नै आधुनिक जनकपुरधाम सहरको जग हालेको पाइन्छ । बिस्तारै जनकपुरधाम सहर र छेउछाउको गाउँमा अन्य ठुलठुला मठ र मन्दिरको निर्माण भएको हुनु पर्छ । मन्दिर बन्ने क्रम जनकपुरधाम सहर र छेउछाउको गाउँहरूमा अहिलेसम्म रोकिएका छैनन् ।

धर्म यहाँको सामाजिक चेतनाको प्राण हो । भव्य जानकी मन्दिरको निर्माणले जनकपुरधामलाई नेपाल, भारत र विश्वका अन्य मुलुकका हिन्दुका लागि धार्मिक केन्द्रकै रूपमा विकसित एवं स्थापित छ । जनकपुरधाममा आयोजना हुने धार्मिक गतिविधिले यस क्षेत्रको मानिसको जीवनलाई सांस्कृतिक आधार प्रदान गरे । त्यति मात्र नभई विश्वकै हिन्दुहरूको आस्थाका केन्द्रमध्ये एक महत्वपूर्ण केन्द्रका रूपमा आफूलाई परिचित गराए । यसरी जनकपुरधामले आफ्नो धार्मिक सांस्कृतिक चरित्र निर्माण गरेको पाइन्छ, जसले यस क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनलाई भने निकै प्रभावित गरेको पाइन्छ । 

जनकपुरको विगतजत्तिकै समृद्ध भनिए पनि वर्तमान त्यत्तिकै नाजुक छ । अनधिकृत आयातनिर्यात, छरपस्ट जङ्गल कटानी एवं विभिन्न अनियमितताले गर्दा सहरले धान्न सक्नेभन्दा बढी लगानी भित्रिन थाल्यो । जग्गाको मूल्य अकासियो । फलतः सार्वजनिक जग्गा अतिक्रमित हुन थाल्यो । मठ, मन्दिर एवं गुठीका जग्गामा पञ्च–कर्मचारी–अपराधी गठजोडको कुदृष्टि प¥यो । सहर उठ्न नसक्ने गरी थला प¥यो । स्थानीय स्रोतसाधनको खुला लुट झन् बढ्दै गयो । आर्थिक एवं राजनीतिक सुस्तताको असरबाट सामाजिक जीवन अछुतो रहन सकेन । जनकपुरधामको विरासत हेरौँ त । धर्म, सभ्यता, संस्कृति, राजनीति र प्रशासनिक केन्द्रको सङ्गमस्थल हो, जनकपुरधाम । जनकपुरधामले ५२ कुट्टी (मन्दिर) र ७२ कुण्ड (तलाउ) को सहरको रूपमा ख्याति कमाएको छ । धार्मिक परम्परा, धरोहर, मिथिला संस्कृति, अनुपम निधि, सम्पदा, मठमन्दिर, साधु सन्तको सहरको रूपमा पनि चिनिन्छ । 

सभ्यता आधारित मिथिला होस् वा अस्मिता अभिप्रेरित मधेश, प्रादेशिक राजधानीका रूपमा जनकपुरधामलाई कायम गरिएपछि सहरका बासिन्दामा उत्साह, ऊर्जा पलाएको छ । यसरी राजर्षिजनक शिरध्वजका सुन्दर, शान्त तथा स्निग्ध राजधानी, मिथिला सभ्यता–संस्कृतिका केन्द्र, पृथ्वी स्वरूपा जानकीका प्रकाट्यस्थली, याज्ञवल्क्य, अष्टावक्र, गार्गी, मैत्रेयी जस्ता मनिषी एवं विदुषीहरूका ज्ञानले दिप्त भूमि मिथिलाका हृदय जनकपुरधाम अझै हिन्दु आस्थाको केन्द्र हो । जानकी मन्दिरमा हुने सांस्कृतिक पर्व, उत्सव, चाडबाडका बेला लोकलहरीले जनकपुरधाम अनुगुञ्जित हुने गर्छ । विवाह, स्वागत र मङ्गल गानले माहोल मनोरम हुन्छ । यी अवसरमा जानकी मन्दिरलाई नवबेहुली झैँ सजिसजाउ गरिन्छ । आधुनिक बिजुली बत्तीले धपक्कै बलेको हुन्छ मन्दिर, रङ्गीबिरङ्गी पण्डाल, टेन्टले झकीझकाउ हुन्छ, जनकपुर । यसरी नै यी उत्वसहरूमा रौनक बढ्दो हुन्छ । झिलीमिली जनकपुरधाममा आकर्षक पहिरनमा सजिएका नारीहरू साक्षात् शक्ति स्वरूपा रूपमा देखा पर्छन् । लजालु नयनहरू कसैको आउने व्यग्रतामा डुबेको हुन्छ । सहनाइको सुमधुर धुनले उल्लास हुन्छ, उत्साहले छोपेको हुन्छ, जनकपुर धामलाई ।