काठमाडौँ, मङ्सिर २ गते । आदिबासी जनजातिका अगुवाले जेनजीसँग साझा मुद्दामा सहकार्यका लागि ऐक्यबद्धता व्यक्त गरेका छन् । आदिवासी जनजाति आयोगले मङ्गलबार ललितपुरमा आयोजना गरेको ‘जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकारबारे जेनजी र आदिबासी जनजाति प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रम’ मा सरोकारवालाले सो ऐक्यबद्धता जनाएका हुन् ।
आयोगका अध्यक्ष रामबहादुर थापा मगरले जेनजी आन्दोलनले आदिबासी जनजातिका सरोकारका मुद्दाहरु अझै व्यवस्थित र परिमार्जित गर्न सक्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष थापाले भन्नुभयो, “आदिबासी जनजातिको अन्य सरोकारका मुद्दाहरु सांस्कृतिक तथा भाषिक समानता, देशमा स्थायी सरकारको आवश्यकता, समुदायको सक्षम र सार्थक प्रतिनिधित्व, सुशासन र पारदर्शिता, भ्रष्टाचारको निर्मुलता लगायतका छन् । मूलतः यी विषयमा जेनजी पुस्ताको परिवर्तनकारी आन्दोलनले अझै व्यवस्थित र परिमार्जित गरोस् भन्ने अनुरोध गर्दछु ।”
उहाँले प्राचिन कालमा आदिबासी जनजाति समुदायको आ–आफ्नै स्वतन्त्र गणराज्य भएको तथा आधुनिक राज्यसँगै ती राज्यहरु नामेट पारिएको भए पनि प्रथाजनित कानुनलाई आधुनिक राज्यसँग जोडेर जीवित राख्ने चाहना आदिबासी समुदायको रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “आदिबासी जनजातिको यो चाहना गणतन्त्रात्मक राज्य व्यवस्थामा मात्रै सम्भव छ । आफ्नो गणराज्य नामेट पार्ने राजतन्त्रात्मक वा एकल धर्म र संस्कृतिमा आधारित एकात्मक राज्यव्यवस्थाको विरुद्धमा आदिबासी जनजाति समुदाय भएकोले गणतन्त्रलाई आदिबासी जनजाति समुदायले उपलब्धिको रुपमा मानेको छ ।”
उहाँले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानसभाद्वारा निर्मित नेपालको संविधान २०७२ मा केही महत्वपूर्ण हक अधिकारको व्यवस्था गरिएको र यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
आदिवासी विज्ञ परशुराम तामाङले आन्दोलन पश्चात् प्राप्त आदिबासीको हक, अधिकार कार्यान्वयनका लागि जेनजीसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
इन्डिजिनीयस् जेनजी कलेक्टीभका सदस्य साङ्केन याम्फु राईले आदिबासी जनेजीबारे कार्यपत्र प्रस्तुत गर्नुहुँदै जेनजी आन्दोलनपछि पनि आदिबासी जेनजीलाई पहिचानमा विभेद भएको गुनासो गर्नुभयो । राईले भन्नुभयो, “भदौ २३, २४ गतेपछिका दिनहरुमा आदिबासी जेनजी युवाहरुले पटक–पटक आफूलाई नेपाली भएको, यही देशको नागरिक भएको र यस आन्दोलनमा हाम्रो पनि योगदान छ है भन्नलाई थप आन्दोलन गर्नुपरेको छ ।”
आदिबासी जेनजी प्रतिनिधि टासी ल्हान्जोमले आदिबासी अधिकारको मुद्दालाई जातको कुरा गर्ने भनेर आरोप लाग्ने गरेको गुनासो गर्नुभयो । जेनजी प्रतिनिधि प्रभात लाभले आफू तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने र अधिकारका सन्दर्भमा सधैँ विभेद हुने गरेको बताउनुभयो ।
यसैगरी, अभियन्ता टासी लामाले आदिबासी जनजातिको अधिकारको सन्दर्भमा जल, जमिन र जङ्गलमाथिको स्वामित्वमा संयुक्त राष्ट्र सङ्घले सारेको मुद्दा कार्यान्वयनमा सरोकारवालाको समेत चासो नदेखिएको बताउनुभयो ।