• २९ कात्तिक २०८२, शनिबार

सन्दर्भ : विश्व मधुमेह दिवस

जीवनशैली बदले मधुमेह नियन्त्रण

blog

  • वैदेशिक रोजगारीमा गएका युवामा मधुमेह देखिनुमा जीवनशैली, पारिवारिक बिछोड, तनाब र खानपान मुख्य कारण हुन् ।
  • कम्तीमा दैनिक एक घण्टा हिँडडुल गर्ने, केही शारीरिक कसरत र योग अभ्यास गरेमा मधुमेहबाट बच्न सकिने ।
  • रेडबुल, कोक, फेन्टा, पेप्सी जस्ता कृत्रिम पेयपदार्थ सबै उमेर समूहका लागि विष हो ।

काठमाडौँ, कात्तिक २८ गते । केही वर्ष पहिलेसम्म वीर अस्पतालको डायबिटिज एन्ड एन्डोक्राइन विभागमा ५० देखि ७० वर्षसम्मका बिरामी मात्र आउने गर्दथे तर अहिले वीरमा ३० देखि ३५ वर्षभित्रका २० प्रतिशत बिरामी आउने गर्छन् । नेपालमा युवा अवस्थामै मधुमेहका बिरामी बढिरहेको यही तथ्याङ्कले देखाउँछ । वीरमा मात्र होइन, अन्य अस्पतालमा समेत अवस्था यस्तै छ ।

वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाहले वीर अस्पतालको डायबिटिज एन्ड एन्डोक्राइन विभागमा दैनिक ४० जना बिरामीलाई हेर्नुहुन्छ । तीमध्ये ३५ देखि ७० वर्ष उमेर समूहका सबैभन्दा धेरै छन् । उहाँका अनुसार ३० वर्षदेखि नै मधुमेहका बिरामी आउँछन् । सबैभन्दा धेरै बिरामी ४५ वर्षमाथिका छन् । डा. शाहले भन्नुभयो, “५० प्रतिशत बिरामीलाई कुनै लक्षण देखा पर्दैन । रोग जटिल अवस्थामा पुगिसकेपछि मात्र अस्पताल आउने गर्नुहुन्छ ।”

वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लका अनुसार पहिले वृद्ध र सहरका मानिसलाई हुने मधुमेह अहिले गाउँ र कम उमेरका मानिसमा समेत देखा परिरहेको छ । उहाँले मधुमेह बढ्नुको मुख्य कारण जीवनशैली र खानपान भएको बताउनुभयो । “अहिले बच्चाहरू गृहकार्य गर्नदेखि खेल्नसम्म मोबाइल, कम्प्युटरको प्रयोग गर्ने गर्छन् । उनीहरू बिहानदेखि बेलुकीसम्म डिजिटल संसारमा रमाउने भएकाले मोटोपन बढ्दै जाने र सानै उमेरमा उनीहरूमा मधुमेह देखिने जोखिम बढिरहेको छ,” उहाँले भन्नुभयो ।  

डा. मल्लका अनुसार वीर अस्पतालमा आउने अधिकांश बिरामी वैदेशिक रोजगारबाट फर्केका छन् । वैदेशिक रोजगारीमा गएका युवामा मधुमेह देखिनुमा जीवनशैली, पारिवारिक बिछोड, तनाब र खानपान मुख्य कारण हुन् । कम्तीमा दैनिक एक घण्टा हिँडडुल गर्ने, केही शारीरिक कसरत र योग अभ्यास गरेमा मधुमेहबाट बच्न सकिने उहाँको भनाइ छ । “रेडबुल, कोक, फेन्टा, पेप्सी जस्ता कृत्रिम पेयपदार्थ सबै उमेर समूहका लागि विष हो । यस्ता विषको सेवन निरन्तर गर्ने व्यक्तिमा मधुमेह देखिन्छ,” उहाँले भन्नुभयो । डा. मल्लले ७० वर्षको बिरामीलाई समेत मधुमेहको औषधी छुटाएको जानकारी दिनुभयो । “त्यसका लागि बिरामीको आहार र जीवनशैली बदल्नु पर्छ । मधुमेह रोगको नियन्त्रण र व्यवस्थापन आफैँबाट गर्नुपर्ने भन्दै उहाँले रोकथामका लागि सबैलाई अग्रसर नहन आग्रह गर्नुभयो । वीर अस्पतालमा आउने १० मध्ये छ जनामा मधुमेह देखिने गरेको भन्दै उहाँले जटिल अवस्थामा मात्रै बिरामी अस्पतालमा आउने गरेको बताउनुभयो 

मधुमेहले आँखाको रेटिनामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिने भएकोले आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको लक्षण थाहा हुने डा. मल्लले जानकारी दिनुभयो । मधुमेह भएको थाहा पाउँदा विकसित मुलुकमा पाँच प्रतिशतको आँखामा असर भएको पाइए पनि विकासोन्मुख देशमा यो सङ्ख्या दोब्बर रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले वीर अस्पतालमा मधुमेह देखिएका बालबालिका पनि रहेको जानकारी गराउनुभयो । उहाँले टाइप १ र टाइप २ गरी मधुमेह दुई प्रकारका हुने जानकारी दिँदै  टाइप १ कम उमेरमा देखिने बताउनुभयो । टाइप २ मधुमेह विशेष गरी ४० वर्षमाथि उमेर समूहलाई हुने भन्दै टाइप २ मधुमेह जटिल हुँदै जाँदा इन्सुलिन लगाउनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । यसैबिच शुक्रबार विश्व मधुमेह दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व मधुमेह दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘आफ्नो कार्यक्षत्रलाई स्वस्थ र मधुमेहमैत्री बनाऔँ’ भन्ने रहेको छ ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।