• १६ कात्तिक २०८२, आइतबार

निजी स्वास्थ्य संस्थाका नर्सले सरकारी सरह तलब पाउने सम्झौता

blog

काठमाडौँ, कात्तिक १६ गते । निजी अस्पतालमा कार्यरत नर्सले अब सरकारी सरह तलब पाउने भएका छन् । शनिबार बेलुकी भएको वार्तामा आन्दोलनरत नर्ससँग २३ बुँदे सम्झौता भएको छ । सम्झौतामा नेपाल नर्सिङ सङ्घ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, निजी मेडिकल कलेज सञ्चालकका प्रतिनिधि, निजी अस्पतालका प्रतिनिधिलगायत १४ जनाले हस्ताक्षर गर्नुभएको छ । वार्ता सफल भएसँगै महिना दिनदेखि आन्दोलनरत नर्सको आन्दोलन पनि स्थगित हुने भएको छ । आन्दोलन फिर्ताबारे विस्तृत जानकारी नेपाल नर्सिङ सङ्घले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने भएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नर्सको मागका विषयमा शनिबार बिहानदेखि रातिसम्म चलेको वार्ता सफल भएको जानकारी दिनुभयो । उहाँले निजी मेडिकल कलेज तथा ठुला अस्पतालले कात्तिक महिनादेखि नर्सलाई सरकारी सरह तलब दिने छन् । यसै गरी अन्य निजी अस्पतालका हकमा एक महिनाभित्र नर्सिङका समस्या समाधान गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएपछि सरकारी सरहको तलब कायम हुने छ । प्रवक्ता डा. बुढाथोकीले दिनुभएको जानकारी अनुसार हाललाई अन्य अस्पतालले सरकारी तलबको ८० प्रतिशत तलब दिने सहमति भएको छ । उहाँले नर्सका समस्या समाधान गर्न बनेको कार्यदलको समय एक महिना थप भएको जानकारी दिनुभयो । निजी अस्पतालमा कार्यरत नर्सले एक महिनाअघिदेखि सरकारी सरह तलब भत्ता पाउनुपर्ने, श्रम शोषणको अन्त्य हुनुपर्ने, रात्रिकालीन भत्ता उपलब्ध गराउनुपर्ने, रोजगारीका लागि ओर्जिनल प्रमाणपत्र राख्न नपाइने, नर्सलाई काम गरेको अवधिको अनुभवपत्र दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका थिए ।

नेपाल नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले नर्सले देशव्यापी रूपमा गरेको आन्दोलन फिर्ता लिएको जानकारी दिनुभयो । उहाँले सरकारी अस्पतालमा कार्यरत नर्सका माग पूरा गराउने सहमति भएको जानकारी दिँदै त्यसका लागि कार्यदलको प्रतिवेदनमा उल्लेख गरेर अघि बढ्ने बताउनुभयो । सरकारी अस्पतालमा कार्यरत करार नर्सलाई स्थायी गर्नुपर्ने, बढुवा हुनका लागि दुर्गम जानैपर्ने व्यवस्था हटाउनुपर्नेलगायतका माग सरकारी अस्पतालका नर्सले अघि सारेका थिए ।

“शनिबार सााँझ भएको वार्तामा कार्यदलका सम्पूर्ण सदस्यले हस्ताक्षर गर्नुभएको छ,” मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भन्नुभयो, “केही दिनदेखिको परिणाम सफल भएको छ ।”

निजी मेडिकल कलेजको सञ्चालकको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले सरकार, नर्सिङ सङ्घ र निजी स्वास्थ्य संस्थाका प्रतिनिधिबिच भएको वार्ता सफल भएको जानकारी गराउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सम्पन्न वार्तामा स्वास्थ्यमन्त्री सुधा शर्मा, सचिव डा. विकास देवकोटा, सरकारद्वारा गठित समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्मा, महासचिव डा. देवका आचार्य, निजी मेडिकल कलेजका अध्यक्ष ज्ञानेन्द्रमानसिंह कार्कीलगायतको सहभागिता थियो ।

 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।