• ७ जेठ २०८१, सोमबार

कोठाभित्रै छिर्छ भल

blog

लहान समाचारदाता

लहान, असार १९ गते  ।  लहान नगरपालिका–१, मटिअर्वामा वर्षाको पानी सुत्ने कोठामा पसेपछि बिरामी ७० वर्षीया एकल दलित महिला सावित्रीदेवी दास समस्यामा पर्नुभएको शुक्रबार राति आँगनमा जम्मा भएको पानी सुत्ने कोठामा पसेपछि बिरामी परेकी सावित्रीदेवी कोठाबाट निस्कन पाउनुभएको छैन । घरआँगनमा दुई फिटभन्दा बढी पानी जम्मा भएर जलमग्न भएको छ । 

“फुसको घर रहेको सुत्ने कोेठामा खाटमुनि पानी जमेको छ । दिसा–पिसाब गर्न शौचालयसम्म आउजाउ समस्यासँगै माटोको टायलले छाएको फुसको घर कति बेला खस्छ भन्ने डर छ,” उहाँले सुनाउनुभयो, “पति छैनन्, छोरा छैनन् । छोरीले सकेसम्म स्याहार गरिरहेकी छिन् । माथि हेर्दा घर खस्ने डर, तल हेर्दा पानी जमेको छ । के गर्ने कसलाई भन्ने सुनिदिने कोही छैन ।”

नाला निकास नहुँदा र वरिपरि माटोको अग्ला–अग्ला घर निर्माण हुँदा चारैतिरको पानी सावित्रीदेवीको घरमा पसेको स्थानीयवासी बताउँछन् । राष्ट्रिय राजमार्ग र लहानको मुख्य चोकमा रहेको दलित तत्मा (दास) बस्तीमा यस्तो समस्या रहँदै आएको स्थानीय कमल गुप्ताले बताउनुभयो । 

यस्तै नहरको पानी निकास नहुँदा लहान–१, नयाँ बस्तीमा नहरको फोहोर पानी जताततै पसेर दुर्गन्धित बनाउनुका साथै दिलीपसिंह दुनुवारको घरको चारैतिर तीन फिटभन्दा बढी पानी जमेकोले घरबाट बाहिर निस्कन र बालबालिकालाई विद्यालय पठाउन समस्या भएको नयाँ बस्तीका स्थानीयवासीले बताएका छन् । 

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बिहानैदेखि वर्षाको पानीले पु¥याएको क्षति र उत्पन्न समस्या समाधानको लागि सम्बन्धित वडाध्यक्षलाई सक्रिय गराउनुका साथै कतिपय ठाउँमा आफैँ पुगेर समस्या समाधानतिर लागेको बताउनुभयो ।