विजयकुमार साह
ढल्केबर, चैत १ गते । धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारास्थित बर्दिवास–सिन्धुली सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार ढल्केबरबाट सिन्धुलीतर्फ गइरहेको मधेश प्रदेश–२–०२–००८ प ८५८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश–२–०२–००३ प ४४७१ नम्बरको मोटरसाइकलले ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
दुर्घटनामा मधेश प्रदेश–२–०२–००८ प ८५८३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका–६, ढल्केबर निवासी इन्द्रदेव महतो गम्भीर घाइते हुनुभएको थियो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले दुर्घटनामा सख्त घाइते भएका महतोलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो ।
दुर्घटनामा अर्का मोटरसाइकल चालक सिन्धुलीको कमलामाई नगरपालिका–४, निवासी ४० वर्षीय सन्तोष कार्की घाइते भएका छन् । उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।