• १ चैत २०८२, आइतबार

हत्यारालाई कारबाहीको माग गर्दै विरोध र्‍याली

blog

डोटी जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरिएको विरोध र्‍यालीमा सहभागी विद्यार्थीहरु । तस्बिर : डिलबहादुर सिंह

डिलबहादुर सिंह

सिलगढी (डोटी) चैत १ गते । बलत्कारपछि हत्या गरिएकी भनिएकी सुर्खेतकी इनिशा वि.क.का दोषीलाई कडा कारबाहीको माग गर्दै डोटीमा विरोध र्‍यालीको आयोजना गरिएको छ । डोटी बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा डोटी जिल्ला सदरमुकाम सिलगढीमा विरोध र्‍यालीको आयोजना गरिएको हो । 

सिलगढीस्थित शैलेश्वरी प्रवेशद्वारबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसँगैको बजार पुगी पुनः फिर्ता भई जिल्ला प्रशासन कार्यालय बाहिर कोण सभामा परिणत भएको थियो । 

र्‍यालीमा सहभागी विद्यार्थीहरूले ‘हत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, छोरीको सुरक्षा गर, न्याय किन्न पाइँदैन जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। विरोध र्यालीमा सिलगढीस्थित डोटी बहुमुखी क्याम्पस र पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए । 

यहि फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगरस्थित सहीद पार्क नजिकैको सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको थियो । सो घटना पश्चात सुर्खेतसहित देशभरकबाट बिरोध भइरहेको छ ।