रमेश विश्वकर्मा
गुल्मी, चैत १ गते। गुल्मीमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। 'अर्थतन्त्र मापनका लागि आर्थिक गणना' भन्ने मुल नारासहित राष्ट्रिय आर्थिक गणना २०८२ का लागि जिल्ला हुलाक कार्यालयको भवनमा सो कार्यालय आईतबार स्थापना गरिएको हो।
गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख महेन्द्रप्रसाद भण्डारी र जिल्ला हुलाक कार्यालय प्रमुख खेतबहादुर खत्री लगायतको उपस्थितिमा जिल्ला आर्थिक गणना कार्यालयको स्थापना गरिएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो पटक आर्थिक गणना गर्न लागेको बताइएको छ। पहिलो गणना २०७५ मा आर्थिक गणना गरेको थियो।
चैत १ गते आजदेखि असार मसान्तसम्म कार्यालय स्थापना गरेर जिल्ला आर्थिक गणना अधिकारीको नेतृत्वमा स्थलगत तथ्याङ्क सङ्कलनसहित आर्थिक गणना गर्न लागिएको छ। तथ्याङ्क सङ्कलनका लागि ३२ जना गणक, पाँच जना सुपरिवेक्षक खटिने जिल्ला आर्थिक गणना अधिकारी गीता भण्डारीले जानकारी दिनुभयो।
वैशाख २ गतेदेखि असार ७ गतेसम्म कर्मचारीले तथ्याङ्क लिनेछन्। सम्पूर्ण उद्योग र व्यवसायको विवरण प्राप्त गर्न आधुनिक प्रयोग स्वरुप आर्थिक तथ्याङ्क लिनका लागि राष्ट्रिय आर्थिक गणना २०८२ गर्न लागिएको हो। आगामी चार महिना कार्यालयले कर्मचारी खटाएर तथ्याङ्क सङ्कलन उहाँले बताउनुभयो।